उद्योगमा कार्यरत कर्मचारीलाई कोभिडविरुद्धको खोपमा प्राथमिकता दिन माग,’६.५% हासिल हुन्छ’

बिजमाण्डू
२०७८ असार ४ गते ०८:४६ | Jun 18, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल उद्योग परिसंघले कोभिड-१९ को भ्याक्सिन निजी क्षेत्रका उद्योगहरुमा कार्यरत मजदुर तथा कर्मचारीलाई प्राथमिकताका साथ उपलब्ध गराउन आग्रह गरेको छ।

परिसंघको टोलीले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा मापदण्ड बनाएर निजी क्षेत्रलाई भ्याक्सिन आयातको अनुमति दिँदा थप सहज हुने र चाँडै नै लक्षित वर्गले खोप पाउने भन्दै ध्यानाकर्षण गराएको छ।

आगामी आर्थिक वर्षमा लक्ष्य अनुसारको आर्थिक वृद्धिदर हासिल गर्ने गरी आर्थिक क्रियाकलाप चलायमान बनाउन पनि आग्रह गरेको छ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले बजेटमा लक्षित ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने भन्दै त्यसका लागि आर्थिक गतिविधि विस्तार गर्नुपर्ने बताए। उनले बजेटमा उल्लेखित धेरै विषय तत्काल कार्यान्वयनका लागि मौद्रिक नीतिमार्फत व्यवस्था गर्नुपर्नेमा जोड दिए। 

परिसंघले नेपाल धितोपत्र बोर्डले लगानीका लागि जोखिमयुक्त भन्दै कम्पनीको सूची सार्वजनिक गर्दा लगानीकर्ताको मनोबल घट्न गइ समग्र पुँजी बजारमा नकारात्मक सन्देश गएको भन्दै संवेदनशील विषयमा नियमनकारी निकायले परिपक्व भूमिका खेल्नुपर्नेमा जोड जोड दिएको छ।

भेटमा अर्थमन्त्री पौडेलले सरकारले बजेट कार्यान्वयनलाई आफ्नो परीक्षाको रूपमा लिएको बताए। उनले असार भर तयारीका काम सक्ने र साउन १ गतेबाट बजेट कार्यान्वयनमा लैजाने गरी काम गरिरहेको बताए। 

अमेरिका, चीन, भारत लगायतका देशबाट भ्याक्सिन खरिद गरी सबै नागरिकलाई उपलब्ध गराउन सरकार लागि परेको पनि उल्लेख गरे।