माइक्रोसफ्टको विन्डोज ११ भयो लिक, पुराना अपरेटिङ सिस्टमलाई नि:शुल्क अपग्रेड दिनसक्ने!

बिजमाण्डू
२०७८ असार ३ गते १२:४० | Jun 17, 2021
माइक्रोसफ्टको विन्डोज ११ भयो लिक, पुराना अपरेटिङ सिस्टमलाई नि:शुल्क अपग्रेड दिनसक्ने!

Tata
GBIME
Nepal Life

काठमाडौं। माइक्रोसफ्टले विन्डोज ११ ‍औपचारिक रुपमा सार्वजनिक गर्नुअघि नै लिक भएको छ। जुन २४ मा विन्डोज ११ सार्वजनिक गर्ने माइक्रोसफ्टको योजना छ।

लिक भएको विन्डोज ११ बिल्ट मै विन्डोज सेभेन र ८.१ को टाइटल समेत राखिएको बताइएको छ। माइक्रोसफ्टले पुराना अपरेटिङ सिस्टमलाई विस्थापित गर्दै विन्डोज ११ प्रयोग बढाउने उद्देश्यले विन्डोज सेभेन र ८.१ प्रयोगकर्ताहरुलाई पनि नि:शुल्क विन्डोज ११ को अपग्रेड सुविधा दिनसक्ने बताइएको छ।

विन्डोज ८ का प्रयोगकर्ताहरुलाई भने सिधै विन्डोज ११ को नि:शुल्क अपग्रेड नदिइने बताइएको छ। त्यसका लागि विन्डोज ८ का प्रयोगकर्ताहरुले ८.१ अपरेटिङ सिस्टममा अपग्रेड गर्नुपर्ने बताइएको छ। त्यसपछी मात्रै विडोज ११ अपग्रेड गर्न मिल्नेछ।  

डेटा एनालिटिक्स कम्पनी स्टार काउन्टरका अनुसार विन्डोज सेभेन विश्वको दोस्रो धेरै प्रयोग भइरहेको अपरेटिङ सिस्टम हो। पहिलो र्‍याङ्किङमा भने विन्डोज १० नै भएको बताइएको छ।

मे महिनाको तथ्यांक अनुसार १५.५२ प्रतिशत मार्केट सेयर विन्डोज सेभेनको छ। विन्डोज ८.१ को ३.४४ प्रतिशत र विन्डोज ८ को १.२७ प्रतिशत मार्केट सेयर रहेको बताइएको छ।