सरकारले रोजगारी घोषणा गरेको भन्दै इन्टरनेटमा ‘फिसिङ’को दाउ, प्रम ओलीको फोटो दुरुपयोग

बिजमाण्डू
२०७८ जेठ ३१ गते १२:३९ | Jun 14, 2021
सरकारले रोजगारी घोषणा गरेको भन्दै इन्टरनेटमा ‘फिसिङ’को दाउ, प्रम ओलीको फोटो दुरुपयोग

Tata
GBIME
Nepal Life

काठमाडौं। दूरसञ्चार नियामक, सेवा प्रदायकसँगै अन्य जिम्मेवार संस्थाहरुको नक्कली खाता (फेक अकाउन्ट) बनाएर फिसिङ गर्दै आएका फिसरहरुले नयाँ फण्डा प्रयोग थालेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर प्रयोग गर्दै फिसरहरुले सरकारले ११ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको भन्दै दर्ता गर्न आह्वान गरेका छन्। इच्छुक प्रयोगकर्ताहरुलाई लिंकमा गएर नामसहितका विवरण दर्ता गर्न अनुरोध सहितको उक्त झुटो जानकारीसहितको पोष्ट फेसबुकमा भेटिन्छ। 

'हाइ' नामक फेसबुक पेजबाट प्रयोगकर्ताहरुको सामाजिक सञ्जाल हत्याउनेसम्मको कार्य गर्न फिसरहरुले जाल थापेका छन्। 

इन्टरनेटका साइटहरू मुख्य गरी सामाजिक सञ्जालमा कुनै लोभ्याउने पोष्टलाई स्पोन्सर्ड गर्दै प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण हत्याउने गिरोह लामो समयदेखि सक्रिय छ। 

यसअघि दूरसञ्चार सेवा प्रदायक एनसेल र नेपाल टेलिकमको नाममा पनि नक्कली फेसबुक पेज बनाइ यस्तै हर्कत भएको थियो। नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यस विषयमा विज्ञप्ति निकाल्दै सामाजिक सञ्जाल फेसबुक पेजमार्फत् भ्रामक जानकारी प्रकाशित भइरहेको भन्दै अनधिकृत पेज तथा सो पेजमा रहेका लिंकहरुलाई क्लिक नगर्न तथा आफ्नो कुनै पनि विवरण उपलब्ध नगराउन सचेत गराउँदै आएको छ| 

फिसिङ स्क्याम वा फिसिङ हमलाबाट कसरी बच्ने? 
प्राधिकरणले अपरिचित व्यक्ति वा ठेगानाबाट आएको शंकास्पद इमेललाई नखोल्न अनुरोध गरेको छ। शंकास्पद इमेलको एट्याचमेन्ट र अपरिचित व्यक्ति वा संस्थाबाट आएको इमेलमा रहेको लिंकहरुमा क्लिक नगर्न र नखोल्न प्रयोगकर्ताहरुलाई आग्रह गरेको छ।

अपरिचित व्यक्ति वा ठेगानाबाट आएको इमेल वा शंकास्पद इमेललाई तत्काल डिलिट वा ब्लक गर्न भनेको छ। इमेल रिप्लाइ वा रेस्पोन्स गर्नुपर्ने अवस्था आए ब्राउजरमा वेबसाइटको नाम टाइप गरेर सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ। 

त्यसैगरी, पुरस्कार, उपहार, चिट्ठालगायत विभिन्न प्रलोभन देखाएर पठाइएको वा डर धम्की दिएर पठाइएको इमेल, सन्देश, फोनकल लगायतलाई रिप्लाइ नगर्न पनि प्राधिकरणले सचेत गराएको छ। चिनेको व्यक्ति, संस्था वा नचिनेको व्यक्ति, संस्थाबाट आएको इमेलमा पीडीएफ, टेक्स्ट, सीएसभी जस्ता स्ट्यान्डर्ड फर्म्याटबाहेकका इएक्सइ, भीबीएसलगायत एक्स्टेन्सनका फाइलहरु नखोल्न आग्रह गरेको छ। 

प्राधिकरणले आफूसँग सम्बन्धित नभएका कन्ट्री डोमेन/सब-डोमेनबाट आएका इमेलहरुलाई नखोली डिलिट गर्न भनेको छ। अनावश्यक मेलिङ लिस्टमा सब्स्क्राइब नगर्ने र यदि गरेको भए अनसब्स्क्राइब गर्न आग्रह गरेको छ। 

यस्तै, प्राधिकरणले इमेलबाट आफ्नो पासवर्ड, ओटीपी, बैंक खाता नम्बर, पिन कोडलगायतका विवरण नपठाउन अनुरोध गरेको छ। कुनै पनि वेबसाइटको पहिचान नगरी युजरनेम र पासवर्ड, बैंकको क्रेडिट कार्ड नम्बर, नागरिकता नम्बरलगायतका व्यक्तिगत पहिचानयुक्त सूचना सेयर नगर्न आग्रह गरेको छ। 

आफ्नो कम्प्युटर, ल्यापटप, मोबाइल डिभाइसमा एन्टीभाइरस सफ्टवेयर प्रयोग गर्न पनि प्राधिकरणले प्रयोगकर्ताहरुसँग अपिल गरेको छ।