साढे १९ अर्बको कारोबारमा सात करोड रुपैयाँ पुँजीगत लाभकर, टप टेनमा कुन कुन ब्रोकर?

बिजमाण्डू
२०७८ जेठ ३० गते १९:३१ | Jun 13, 2021
साढे १९ अर्बको कारोबारमा सात करोड रुपैयाँ पुँजीगत लाभकर, टप टेनमा कुन कुन ब्रोकर?

Tata
GBIME
Nepal Life

काठमाडौं। सेयर बजारमा आइतबार हालसम्मकै उच्च कारोबार भयो। दिनभरीमा २२० कम्पनीको १९ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको हो।

यो एकल कारोबार हो। सेयर ब्रोकरमार्फत हुने खरिद र बिक्री दुवै कारोबार हेर्दा यो ३९ अर्ब रुपैयाँभन्दा बढीको किनबेच हो। यो किनबेचमा १० बटा ब्रोकरहरुले एक अर्बभन्दा बढीको किनबेच गरेका छन्।

त्यसमध्ये ५८ नम्बर ब्रोकर नासा सेक्युरिटिजले सर्वाधिक रकमको सेयर किनबेच गराएको छ। नासाले २ अर्ब ५६ करोड रुपैयाँको कारोबार गराएको हो।

यसपछि अनलाइन सेक्युरिटिजले एक अर्ब ७३ करोड रुपैयाँको कारोबार गरेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार, सबैभन्दा कम कारोबार गर्ने ब्रोकरले पनि ८ करोड ८१ लाख रुपैयाँको कारोबार गरेको छ।

कुल कारोबारबाट ब्रोकरहरुले एकै दिन ६ करोड ८९ लाख रुपैयाँ कमिसन उठाएका छन्। यो कमिसन १८ पैसाका दरले हिसाब गरिएको हो।

इम्पेरियल सेक्युरिटिजले एक अर्ब ६१ करोडको कारोबार गरेको छ भने शनि सेक्युरिटिजले एक अर्ब ५५ करोडको कारोबार गरेको छ। यसपछि भिजन सेक्युरिटिजले एक अर्ब ४० करोडको कारोबार गरेको छ भने दीपशिखाले एक अर्ब ३५ करोडको कारोबार गरेको छ।

आर्यतारा इन्भेष्टमेन्टले एक अर्ब २६ करोडको कारोबार गरेको छ भने डाइनामिक मनीले एक अर्ब १८ करोडको कारोबार गरेको छ। यसैगरी सुमेरु सेक्युरिटिजले एक अर्ब चार करोड र नेपाल स्टक हाउसले एक अर्ब एक करोड रुपैयाँको कारोबार गरेको छ।

यी १० कम्पनीले मात्र ब्रोकर कमिसनबाट २ करोड ६५ लाख रुपैयाँ उठाएका छन्। 

सर्वाधिक सेयर कारोबार गरेको नासाले सबैभन्दा बढी नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको सेयर बेचेको छ भने रसुवागढी हाइड्रोपावर किनेको छ। एनसीसी धेरै बेच्नेमा ५६ नम्बर ब्रोकर श्रीहरि सेक्युरिटिज पनि छ। 

दोस्रो ठूलो कारोबार गर्ने अनलाइन सेक्युरिटिजले लुम्बिनी विकास बैंकको धेरै बेचेको छ। बजारमा भने सर्वाधिक कारोबार भने अरुण भ्यालीको भएको छ। यसको  ६६ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यसपछि लुम्बिनी विकास बैंकको ५८ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ। नेशनल हाइड्रो तेस्रो नम्बरमा छ। कम्पनीको ५३ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ।