सेयर बजारमा अर्को रेकर्ड, साढे १९ अर्बको कारोबार, झन्डै ४० कम्पनीको मूल्यमा सर्किट लाग्यो

बिजमाण्डू
२०७८ जेठ ३० गते १५:४१ | Jun 13, 2021
सेयर बजारमा अर्को रेकर्ड, साढे १९ अर्बको कारोबार, झन्डै ४० कम्पनीको मूल्यमा सर्किट लाग्यो

Tata
GBIME
Nepal Life

काठमाडौं । राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट सेयर बजारलाई कस्ने अनुमानका बाबजुद सेयर बजारले भने लय छोड्ने संकेत देखिएको छैन।

त्यसैलाई पछ्याउँदै आइतबार १९ अर्ब ५५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यो कारोबार रकम अहिलेसम्मकै अत्यधिक हो। यसअघि जेठ २३ मा १७ अर्ब २७ करोडको नयाँ कारोबार रेकर्ड बनेको थियो।

जेठ महिनामै १५ अर्बमाथिको कारोबार रेकर्ड बनेयता यही महिना बजेटको भोलिपल्ट (जेठ १६ मा) त्यो तोडिँदै १७ अर्ब तीन करोड रुपैयाँको अर्को नयाँ रेकर्ड बनेको थियो।

बजार सूचक नेप्से पनि ३००० विन्दुउन्मुख हुँदै ३८.३२ अंकले बढ्दा २९८३.११ मा पुगेर थामिएको छ । केही दिनअघि मात्र नेप्सेले तीन हजार अंकको विन्दु पार गर्दै ३००६ हाराहारी पुगेर पुनः फर्किएको थियो। यद्यपि कारोबार बन्द हुँदाको अवस्था भने सो विन्दुमा बजार टिक्न सकेको थिएन ।

ऐतिहासिक रकमको सेयर किनबेच हुँदा आज झन्डै ४० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ। सर्किट लाग्ने धेरैजसो कम्पनी फाइनान्स, विकास बैंक र जलविद्युत कम्पनीहरु छन्।

कुल २२० कम्पनीको धितोपत्रको कारोबार भएकोमा ऋणपत्र र म्युचुअल फन्ड एकाइबाहेक सेयर कारोबार मात्र भएका कम्पनी १८२ वटा छन् । जसमध्ये १०४ वटा कम्पनीका लगानीकर्ताहरुले आज कमाए भने चारवटाको कम्पनीको सेयर मूल्य स्थिर रह्यो। 

अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक रकम (७२ करोड ३० लाख रुपैयाँ) को सेयर कारोबार भएको छ । सोपछि धेरै रकमको कारोबार हुनेमा  लुम्बिनी विकास बैंक, नेशनल हाइड्रोपावर, एनआरआईसी, ज्योति विकास बैंंक लगायत अगाडि छन् ।

प्रतिकित्ता ३०९ रुपैयाँ पुगेको नेशनल हाइड्रोपावरको सेयर सबैभन्दा धेरै कित्ता (१८ लाख ६ हजार) कारोबार भएको छ। कारोबार संख्या पनि नेशनल हाइड्रोपावरकै धेरै (५००८ पटक) रह्यो ।

समग्रमा २२० कम्पनीको एक लाख ८२ हजार ४३० पटकको कारोबारमा करिब तीन करोड ७१ लाख कित्ता सेयर किनबेच भए।