विज्ञापनलाई एकद्वार गरे आन्दोलन गर्ने, आनले भन्यो- विज्ञापन सञ्चार माध्यमको प्रभावका आधारमा

बिजमाण्डू
२०७८ जेठ ३० गते १४:१७ | Jun 13, 2021
विज्ञापनलाई एकद्वार गरे आन्दोलन गर्ने, आनले भन्यो- विज्ञापन सञ्चार माध्यमको प्रभावका आधारमा

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल विज्ञापन संघ (आन) ले विज्ञापनको क्षेत्रमा विज्ञापन व्यवसायीलाई उपेक्षा गरी एक एकद्वार नीति ल्याउन लागिएको भन्दै त्यसको विरोध गरेको छ। 

आइतबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाल विज्ञापन संघका अध्यक्ष सोम धितालले विज्ञापन बोर्डले ऐन, कानुन तथा निर्देशिका बनाउँदा विज्ञापन एजेन्सीको भुमिकालाई खुम्च्याउने गरी बनाउँदै गरेको भन्दै ऐन, कानुनलाई विज्ञापन व्यवसायीमैत्री बनाउनुपर्ने बताए। 

बोर्डले सरकारी विज्ञापन दामासाही तरिकाले बाड्नुपर्ने धारणा राखेकाले सञ्चारमाध्यमको प्रभाव, पहुँचका आधारमा दिनुपर्ने उनले बताए। 

विज्ञापनमा एकद्वार नीति सञ्चार माध्यम, विज्ञापन व्यवसायी र सरकार सबैको लागि प्रत्युत्पादक रहेको उनले बताए। उनले भने ‘एकद्वार नीति एकदमै प्रत्युत्पादक छ। सञ्चारमाध्यमलाई पनि र सरकारलाई पनि प्रत्युत्पादक छ। त्यसैले यो व्यवस्था अनुसार हुनुहुँदैन भन्ने हाम्रो माग हो। त्यसैले एकद्वार प्रणाली खारेज गर्नुपर्छ।' 

संघका पूर्व अध्यक्ष रवीन्द्र रिजालले सरकार अथवान निजी क्षत्रले गर्ने विज्ञापन सम्बन्धी काम विज्ञापन व्यवसायीमार्फत जाँदा नै मिडिया हाउसलाई सहज हुने बताए। 

विज्ञापनसँग सम्बन्धित नीति, नियम बनाउँदा यससम्बन्धी विज्ञहरुसँग छलफल परामर्श नगरिएको भन्दै उनले आगामी दिनमा सम्बन्धित विषय विज्ञको सुझाव लिइनुपर्ने बताए। 

‘सरकारले गर्ने होस् अथवा निजी क्षेत्रले गर्ने विज्ञापन विज्ञापन व्यवसायीबाटै जाँदाखेरी मिडियालाई पनि सहज हुने र विज्ञापन व्यवसायीले पनि आफ्नो काम गर्न पाउनेछन्। ऐन नियम बनाउँदा सम्बन्धित विज्ञसँग सुझाव लिनुपर्छ,’ उनले भने।

आगामी दिनमा विज्ञापन व्यवसायलाई अप्ठ्यारो पार्ने काम गरिए कानुनी बाटो समात्ने पनि आनले जनाएको छ। साथै संघर्षको कार्यक्रम गर्ने चेतावनी पनि दिएको छ। 

आनले आफ्नो स्थापना दिवसको अवसर पारेर आइतबारदेखि असार ७ गतेसम्म विज्ञापन सप्ताह मनाउँदै छ। एक साता विभिन्न कार्यक्रम गरिने भएको छ।