इयुको सहयोगमा तीन मुलुकबाट आइपुग्यो स्वास्थ्य सामाग्री, वितरणलाई ट्रयाकिङ सिस्टम

बिजमाण्डू
२०७८ जेठ ३० गते १३:२८ | Jun 13, 2021
इयुको सहयोगमा तीन मुलुकबाट आइपुग्यो स्वास्थ्य सामाग्री, वितरणलाई ट्रयाकिङ सिस्टम

Tata
GBIME
Nepal Life

काठमाडौं। युरोपियन युनियनको सहयोगमा तीनवटा मुलुकले नेपाललाई सहयोगमा पठाएका स्वास्थ्य सामाग्री आइतबार काठमाडौं आइपुगेको छ।

कोभिड-१९ रोकथामका लागि दिइएको स्वास्थ्य सामाग्री वितरण प्रभावकारी बनाउनका लागि इयुले ट्रयाकिङ प्रणाली लागू गर्दै आएको जनाएको छ। अष्ट्रिया, स्लोभानिया र माल्टाले नेपाललाई पठाएका स्वास्थ्य सामाग्री बोकेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको नेपालका लागि अष्ट्रियाका अवैतनिक राजदूत राजेशबाबु श्रेष्ठले बताए।

'अष्ट्रियन सरकारप्रति हामी आभारी छौं। तीन मुलुकले सहयोगमा दिएका स्वास्थ्य सामाग्री काठमाडौं आइपुगेर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण भएको छ,' उनले भने, 'हालको अवस्थामा काठमाडौं उपत्यका बाहिर विशेष गरी दुर्गम क्षेत्रमा यी स्वास्थ्य सामाग्री वितरण गर्न आवश्यक छ।'  

अष्ट्रियाको सहयोगमा ६ लाख थान नन स्टेरायल मेडिकल फेस मास्क, एक हजार थान पल्स  अक्सिमिटर, चार सय थान कोभिड एन्टिजेन टेस्ट, ५० हजार थान  भल्ब विनाको एफएफपीटु मास्क, एक सय ३० पिस नन  कन्ट्रयाक्ट इन्फ्रारेड थर्मोमिटर आइपुगेको उनले जानकारी दिए।
यसैगरी स्लोभानिया सरकारको सहयोगमा ३० हजार थान फेस मास्क, एक लाख थान नाइट्रेल ग्लोभ्स, एक लाख थान प्रोटेक्टिभ मास्क आइपुगेको छ। यही उडानमार्फत माल्टाले सहयोग बापत दिएको पाँच हजार थान फेस सिल्ड आइपुगेको जनाइएको छ।  

कार्गो उडान आइतबार बिहान ८:१७ बजे काठमाडौं अवतरण भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। कार्गो चार्टर उडानको खर्च सबै खर्च अष्ट्रिया सरकारले व्यवहोरेको जनाइएको छ।