पठाओले अर्डर गरेको केही समयमै सामान डेलिभरी गर्ने सेवा थाल्यो, रियल टाइम डेलिभरीको परीक्षण

बिजमाण्डू
२०७८ जेठ ३० गते ११:४० | Jun 13, 2021
पठाओले अर्डर गरेको केही समयमै सामान डेलिभरी गर्ने सेवा थाल्यो, रियल टाइम डेलिभरीको परीक्षण

Tata
GBIME
Nepal Life

काठमाडौं। राइड सेयरिङ एप पठाओले ग्रोसरी डेलिभरी सेवाको प्रारम्भिक परीक्षण सुरु गरेको छ। पठाओले आइतबारबाट आफ्नो कार्यालय बानेश्वर क्षेत्र वरपर मात्रै ग्रोसरी आइटम डेलिभरी सेवा दिने छ।

पठाओको ग्रोसरी सेवा अन्य इ-कमर्स जस्तो नभएको दाबी कम्पनीको छ। घरमा लामो समय स्टक राख्न नसकिने सामाग्रीहरु तर हरेक दिन नभइ नहुने र छिटोभन्दा छिटो चाहिने ग्रोसरीका सामान मात्रै डेलिभरी गर्ने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए।

अहिले अन्य इ-कमर्स कम्पनीहरुबाट सामान अर्डर गर्दा न्यूनतम २-४ दिनमा मात्रै डेलिभरी हुन्छ। पठाओको ग्रोसरी सेवा भने अर्डर गरिने लोकेसन नजिकै रहने स्टोरबाटै केही समय भित्रै डेलिभरी गर्ने भएकाले छिटो पुग्ने गरी तयारी गरिएको उनले बताए।

पठाओका अनुसार आइतबार भने शान्तिनगरमा रहेको इन्फि स्मार्ट स्टोरबाट पठाओको मोबाइल एप प्रयोग गरी प्रयोगकर्ताहरुले १५ किसिमका मेन्युबाट सामान अर्डर गर्न सक्ने जनाएको छ। 

भोलि सोमबारबाट भने काठमाडौं उपत्यकामा विभिन्न क्षेत्रमा रहेका १५/१६ वटा ग्रोसरी स्टोर थप्ने तयारी पठाओको छ। बिक्री गर्ने स्टोरकै बिल उपभोक्ताले पाउने छन् भने डेलिभरी चार्ज मात्रै पठाओले पाउने जिकिर कम्पनीको छ।

पठाओले अहिलेको अवस्थामा हरेक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म पठाओ एप प्रयोगकर्ताहरुले अर्डर प्लेस गर्न सक्ने जनाएको छ। पठाओले डेलिभरी चार्ज भने १५० रुपैयाँ तोकेको छ। 

प्रयोगकर्ताहरुले बच्चाहरुलाई आवश्यक पर्ने बेबी आइटम्स्, बेभरेज गुड्स/जुस, बिस्कुट वेफर कुकिज, कर्नफ्लेक्स ओट्स, दैनिक खाद्यान्न, ड्राइ जंक फुड, चाउचाउ/पास्तालगायतका सामाग्री डेलिभरी गर्ने पठाओले जनाएको छ।   

यसपटकको निषेधाज्ञाका क्रममा कोरोना संक्रमणले पूरै परिवार नै गाँजेको देखेपछि ग्रोसरी सुरु गर्ने योजना बनेको बस्न्यातले बताए।

'म र मेरो परिवार यही निषेधाज्ञाका क्रममा कोभिड-१९ बाट थलियौं। मेरो बुवाले परीक्षण नगरी आवश्यक सामाग्री हाम्रा लागि हरेक दिन किन्ने गर्नु भएको थियो। आफूलाई पनि पोजेटिभ आयो भने कसले सामान ल्याइदिन्छ भन्ने चिन्ताले परीक्षण गराउनु भएन। पछि बुवालाई पनि स्वास्थ्यमा केही समस्या आएपछि परीक्षण गराउँदा पोजेटिभ आयो। यही कुराले मलाई ग्रोसरीमा हात हाल्न प्रेरणा दिएको हो,' बस्न्यातले भने।

पठाओले आफ्नो फुड डेलिभरी गर्ने राइडरहरुलाई नै ग्रोसरी ढुवानीमा प्रयोग गर्नेछ। 

सर्वोच्च अदालतले जेठ २४ गते फुड डेलिभरी तथा केही इ-कमर्स कम्पनीहरुले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गरेको थियो। इ-कमर्स सेवा नरोक्न र सञ्चालन गर्न सर्वोच्चले आदेश दिएपछि फाट्टफुट्ट रुपमा अत्यावश्यक सामानको ढुवानी हुन थालेको छ।