इजरायलबाट हिँडेको प्रिन्टिङ प्रेस कोलकाता आइपुग्यो, कोरोनाका कारण महिना दिनै सकिनेमा आशंका

बिजमाण्डू
२०७८ जेठ २९ गते १२:५५ | Jun 12, 2021
इजरायलबाट हिँडेको प्रिन्टिङ प्रेस कोलकाता आइपुग्यो, कोरोनाका कारण महिना दिनै सकिनेमा आशंका

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालका लागि गत महिना इजरायलबाट हिँडेको प्रिन्टिङ प्रेससहितका उपकरण कोलकाता आइपुगेको छ। ठेकेदार कम्पनीले अघिल्लो हप्ता नै सामानहरु कोलकाता ल्याइ पुर्‍याएको सुरक्षण मुद्रण केन्द्रले जनाएको छ।  

असार मसान्त भित्रमा सेक्युरिटी प्रेस जडानसहित सञ्चालन गर्ने गरी केन्द्रले विवादित कम्पनी म्याक्स इन्टरनेसनलाई दिएको थियो। 

तर, कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले चार्टर तथा उद्धारसँगै केही गन्तव्यमाबाहेक अन्य देशहरुका उडानमा रोक लगाएको छ। भारतसँगको सीमा नाका पनि बन्द रहेकाले स्थलमार्गबाट मेसिन आपूर्तिमा सरकारी सहजीकरण आवश्यक पर्ने देखिन्छ। 

विभिन्न जिल्लाहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी नै रहेकाले कोलकाताबाट सामान सजिलै कसरी नेपाल भित्रिन्छ भन्नेमा आशंका उब्जिएको छ। साथै, अबको महिनादिन भित्रमा प्रिन्टिङ प्रेस जडान गरेर सञ्चालन गर्ने सरकारी तयारी भए पनि कोरोना महामारीका कारण समयमै काम सकिने अवस्था देखिँदैन।

अहिलेसम्म ठेकेदार कम्पनीले केन्द्रलाई सामान आपूर्तिमा समस्या परेको बारे कुनै जानकारी नगराएको केन्द्रका शाखा अधिकृत मनिकमान महर्जनले जानकारी दिए।

'ठेकेदार कम्पनीले सामाग्रीहरु ल्याउँदै होला। कोलकाता आइपुग्यो भन्ने जानकारी पाएका छौं। शुक्रबारसम्मको अवस्थामा ठेकेदार कम्पनीले कुनै जानकारी भने गराएको छैन,' महर्जनले भने। 

नेपाल ल्याउन भने सरकारले सहजीकरण गर्नुपर्ने आवश्यकता रहने केन्द्रको बुझाइ छ। यदि समयमै सामान आए पनि जडानका साथै क्यालिबरेसन गर्न मेसिन बिक्रेता कम्पनीका इन्जिनियर आवश्यक पर्छ। तर अन्तर्राष्ट्रिय उडान सहज नभइसकेकाले इन्जिनियर तथा प्राविधिकहरु नेपाल आउन कठिन हुने भएकाले जडान र कमिसनिङको काम प्रभावित हुन सक्ने आकलन केन्द्रको छ।

सुरक्षण मुद्रण केन्द्रले झण्डै ७४ करोड रुपैयाँमा उच्च सुरक्षायुक्त डिजिटल प्रिन्ट उत्पादन प्रणालीको आपूर्ति, डेलिभरी, जडान र कमिसनिङको ठेक्का गत चैतमै म्याक्सलाई दिएको थियो। 

विदेशी प्रतिस्पर्धालाई बन्द गर्दै सरकारले गत फागुन २ गते स्वदेशी कम्पनीमार्फत् सेक्युरिटी प्रिन्टिङ प्रेस सेटअपको काम अघि बढाएको थियो।

सरकार ठूलो सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना गर्न अनिच्छुक देखिएपछि सानै स्तरको प्रेस स्थापना गर्न केन्द्रले खरिद प्रक्रिया अघि बढाएको थियो। अब स्थापना हुने प्रेसले हुलाक टिकट, शैक्षिक प्रमाणपत्र, अन्तःशुल्कका केही स्टीकरहरु मात्रै छपाइ गर्न सक्ने छ।

नोट र राहदानीसहितका संवेदनशील सामाग्री छपाइ स्वदेशभित्रै गर्ने योजनाबाट सरकार ब्याक भएपछि केन्द्रले कम क्षमताको प्रिन्टिङ प्रेस सञ्चालन गर्ने गरी खरिद प्रक्रिया अघि बढाएको थियो। अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्का अस्वीकृत गरेपछि सानै प्रकृतिको प्रिन्टिङ प्रेस खरिद प्रक्रिया जारी छ।

सरकारले सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाका लागि जग्गा, भवनसहितका भौतिक संरचना आइटी पार्क बनेपामा व्यवस्था गरिसकेको छ। केन्द्रले आगामी आवबाट आवश्यक पर्ने कर्मचारीलाई तालिम दिएर सेवा सुरु गर्ने योजना बनाएको छ।