पर्सामा खाद्यान्न उत्पादन गत वर्षभन्दा बढ्यो, अनुदानका कार्यक्रमलाई प्रदेशले दियो बजेट

बिजमाण्डू
२०७८ जेठ २९ गते ११:४८ | Jun 12, 2021
पर्सामा खाद्यान्न उत्पादन गत वर्षभन्दा बढ्यो, अनुदानका कार्यक्रमलाई प्रदेशले दियो बजेट

Tata
GBIME
Nepal Life

वीरगंज। पर्सा जिल्लामा गत वर्षको तुलनामा चालु वर्ष खाद्यान्न उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्र पर्साका प्रमुख बाली अधिकृत सुरेशप्रसाद चौरसियाका अनुसार खाद्यान्न उत्पादन गत वर्षको तुलनामा २ हजार ७ सय २० मेट्रिक टन बढी भएको छ।

चालु आर्थिक वर्ष ३ हजार ५ सय हेक्टरमा लगाइएको चैते धान १७ हजार ८ सय ५० मेट्रिक टन फलेको छ। ८ हजार ५ सय ५० हेक्टरमा लगाइएको भदैया धान ४४ हजार ७ सय मेट्रिक टन भएको छ भने ३५ हजार हेक्टरमा लगाइएको अगहनी धान १ लाख ६६ हजार २५० मेट्रिक टन उत्पादन भएको केन्द्रले जनाएको छ।

गत वर्ष चैते धान १७ हजार ५ सय ३५ मेट्रिक टन, भदैया ४२ हजार ७ सय ५० र अगहनी १ लाख ६५ हजार ५५० मेट्रिक टन उत्पादन भएको थियो। 

यसैगरी २६ हजार ५० हेक्टरमा लगाइएको गहुँ ८५ हजार ९६५ मेट्रिक टन उत्पादन भएको छ। गत वर्ष गहुँ ८० हजार ६ सय मेट्रिक टन भएको थियो। जिल्लामा ५ सय ६० हेक्टरमा हिउँदे मकै र ४ हजार ५० हेक्टरमा वर्षे मकै लगाइएको थियो। मकैको उत्पादन १४ हजार ५ सय ८० मेट्रिक टन भएको केन्द्रको तथ्यांकमा छ। दलहनमा मसुरो, खेसारी, मास, मुङ, राजमा, रहर, चना र तेलहनमा आलस, तोरी, सूर्यमुखी, सरस्युँ, बदामलगायत उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यस बाहेक उखु, आलु, सुर्ती खेती पनि पर्सा जिल्लामा छ। केन्द्रका निमित्त प्रमुख मुन्नीलाल प्रसादले प्रदेश सरकारबाट जैविक मलका लागि १५ लाख, स्यालो ट्युबवेलका लागि १ करोड १५ लाख, बजार सेडका लागि २५ लाख, कृषि यान्त्रिकरणका लागि ७५ लाख र बजारीकरणका लागि १५ लाख रुपैयाँ बजेट आएको थियो। प्रदेश सरकारको निर्देशन अनुसार किसानहरुका लागि तोकिएको अनुदान सहयोगमा कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।