खाली सिलिण्डर फिर्ता नहुँदा अक्सिजन उद्योगहरु बन्द हुने अवस्थामा, पुनर्भरणलाई छैन भाँडा

सरला सुवेदी/बिजमाण्डू
२०७८ जेठ २८ गते १४:२८ | Jun 11, 2021
खाली सिलिण्डर फिर्ता नहुँदा अक्सिजन उद्योगहरु बन्द हुने अवस्थामा, पुनर्भरणलाई छैन भाँडा


Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिड संक्रमितका लागि अक्सिजनको माग बढ्दा हौसिएका अक्सिजन उद्योगहरु फेरि संकटमा परेका छन्। भरेर पठाएका लगिएका सिलिण्डरहरु खालि भएर फिर्ता नआउँदा संकट बढेको हो। 

अस्पतालमा र उपभोक्ताले घर लगेका सिलिण्डर फिर्ता नहुँदा पुनर्भरण गरेर बजारमा अक्सिजन पठाउन पाएका छैनन्। उद्योगले उत्पादन मात्रै गरेर स्टक राख्न सक्ने अवस्था छैन। केही सातायता संक्रमितको संख्या घट्दै गएपछि अक्सिजनको माग नै घटेको छ। खाली सिलिण्डर फिर्ता नआउदा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको नेपाल अक्सिजन ग्यास उत्पादक संघका अध्यक्ष गौरव शारडाले बताएका छन्।

'खाली सिलिण्डर फिर्ता आए मात्रै आपूर्ति व्यवस्था सहज हुन्छ। सिलिण्डर फिर्ता नहुँदा काम गर्न धेरै गाह्रो भइरहेको छ,' उनले भने, 'हामीले पहिलेबाट पनि अक्सिजनको अभाव छैन, अभाव सिलिण्डरको छ भनेर जानकारी गराएका थियौं। घर तथा अस्पतालहरुमा सिलिण्डरहरु होल्ड नगर्नु, आवश्यक पर्दा उपलब्ध गराउने भनिएको थियो। होल्डिङका कारण प्लान्टमा भएको अक्सिजन स्टक बसिरहेको छ।'

ठूलो संख्यामा खाली सिलिण्डर होल्ड भएकाले कतैबाट माग आए अक्सिजन दिनै नसक्ने अवस्थामा उद्योगहरु भएको संघले जनाएको छ। कोरोनाका गम्भीर बिरामीको संख्या बढेका बेला सरकारले उद्योगहरुमा पनि अक्सिजन प्रयोग नगरी बिरामी र स्वास्थ्य संस्थालाई उपलब्ध गराउन आग्रह गरेको थियो। सेना, सशस्त्र र नेपाल प्रहरी पनि सिलिण्डर व्यवस्थापनमा खटिएका थिए। 

उद्योगहरुले पुनर्भरण गर्न सिलिण्डर पर्याप्त नभएको बताइरहँदा बिभिन्न मुलुकबाट खरिद र सहयोगमा पनि सिलिण्डर भित्रिएका थिए। ती खाली सिलिण्डर कहाँ कस्तो अवस्थामा छन् र त्यसलाई कसरी उद्योगसम्म पुर्‍याउन सकिन्छ भन्नेमा सरकारी संयन्त्रले नियमन नै गर्न नसक्दा अभाव देखिएको हो। नेपालमा अक्सिजन आपूर्ति सहज बनाउन सिलिण्डर अभाव हुन थालेपछि विदेशबाट धमाधम भित्र्याइएका थिए। ती सिलिण्डरहरु उद्योगमा पठाउने व्यवस्थामा स्वास्थ्य सेवा विभागको सक्रियता घट्दा पुनर्भरण गाह्रो भएको उद्योगहरुले जनाएका छन्।

हाल उपत्यकाका सरकारी र निजी क्षेत्रका ठूला अस्पतालमा कोरोना संक्रमित सामान्य बिरामीको चाप घटेको छ। आइसीयूमा भर्ना हुने बिरामी नघटे पनि अक्सिजन सपोर्टमा राख्नुपर्नेको संख्या घट्दा सिलिण्डर व्यवस्थापनबाट अस्पतालहरुको ध्यान कम भएको छ।

धेरै सिलिण्डर स्वास्थ्य संस्थामा 'होल्ड' भएका छन्। अक्सिजन दिनुपर्ने बिरामीको संख्या घट्दा अस्पतालहरुले पनि आफूकहाँ होल्ड भएका सिलिण्डर पुनर्भरणका लागि उद्योगमा पठाउन घटाएका छन्। आपूर्ति व्यवस्था सुदृढ पार्न सिलिण्डर नभएकै कारण उद्योगले उत्पादन नै कम गर्नुपर्ने अवस्था आएको छ। 

हाल उपत्यकामा भएका ९ वटा उद्योगहरुमा करिब ७६ हजार ९ सय १० वटा सिलिण्डर छ। उद्योगहरुको उत्पादन क्षमता दैनिक ८ हजार सिलिण्डर हो। यसमध्ये ५० प्रतिशतभन्दा बढी अस्पतालहरुमा प्रयोग हुने गरेको छ भने बाँकी औद्योगिक क्षेत्र र उपभोक्ताहरुले घरमा प्रयोग गर्छन्।

गत महिना अक्सिजनको माग अचाक्ली बढेको थियो। उद्योगहरु २४ घण्टा सञ्चालन भइरहे पनि माग धान्न सकेका थिएनन्। अक्सिजन लिन सर्वसाधारण नै सिलिण्डर लिएर उद्योगमा पुग्ने गरेका थिए। जसले गर्दा उद्योगमा भएको सिलिण्डरका साथै र औद्योगिक क्षेत्रलाइ दिइँदै आएको ३० प्रतिशत सिलिण्डर सबै अस्पतालहरुमा पठाइएको थियो।

'अहिले संक्रमित घट्दा पनि ती सिलिण्डरहरु फिर्ता भएको छैन। यति बेला सिलिण्डर नहुँदा औद्योगिक क्षेत्रको समेत बाधा परेको छ,' शारडाले भने, 'बिना सिलिण्डर उद्योग खोल्न सकिदैन।'  अक्सिजन भर्ने खाली सिलिण्डर नहुँदा वीरगंजको जय अम्बे अक्सिजन उद्योग बन्द भएको छ। उपत्यकाका केही उद्योगहरु पनि सिलिण्डर अभावकै कारण बन्द हुन लागेको उनले बताएका छन्।

गत महिना कोभिड संक्रमितको संख्या ९ हजारभन्दा बढी देखिएको थियो। अन्य समयमा आवश्यक नपर्ने अक्सिजन सिलिण्डर त्यतिबेला उद्योगमै खोसाखोस भएको थियो। यो अवस्थालाइ मध्यनजर गर्दै नयाँ अक्सिजन प्लान्टका खोल्नका लागि व्यवसायीहरु आउन थालेका  थिए।  

यो सातादेखि अक्सिजनको माग क्रमिक घटेको छ। क्षमता अनुसार अक्सिजन उत्पादन भए पनि दैनिक ३ देखि ४ हजार सिलिण्डर मात्र खपत भइरहेको छ। यो गत महिनाको मागभन्दा झन्डै आधा हो। अहिले सञ्चालनमा रहेका उद्योगहरु काोभिडको अवधिमा पनि पूर्ण क्षमतामा चल्न सकेका थिएनन्।

अक्सिजनको माग एकाएक उच्च हुँदा सरकारले नयाँ उद्योग खोल्न चाहने उद्योगीका लागि हतार हतार भन्सार महसुलहरुमा छुट सुविधा घोषणा गर्नुका साथै एक सय शय्या भएका अस्पताललाई पनि आफ्नै प्लान्ट राख्नुपर्ने नीति ल्याएको थियो। सरकारी छुट सुविधा उपयोग गर्न उद्योगीहरु नयाँ प्लान्ट खोल्न उत्साहित छन्। तर भएकै उद्योगलाई सिलिण्डर पुगेको छैन। अस्पतालहरुले पनि आआफ्नै प्लान्ट राख्दाको अवस्थामा उद्योगको उत्पादन खपत परिमाण घट्दै जाने निश्चित छ।