टाटा मोटर्सको एसयुभी सेग्मेन्टमा नेक्सन पुग्यो दुई लाख थान, पछिल्लो ६ महिनामै ५० हजार उत्पादन

बिजमाण्डू
२०७८ जेठ २८ गते ११:१४ | Jun 11, 2021
टाटा मोटर्सको एसयुभी सेग्मेन्टमा नेक्सन पुग्यो दुई लाख थान, पछिल्लो ६ महिनामै ५० हजार उत्पादन

Tata
GBIME
Nepal Life

भारतीय गाडी उत्पादक कम्पनी टाटा मोटर्सले सार्वजनिक गरेयता एसयुभीका मोडलमध्ये टाटा नेक्सनको संख्या दुई लाख पुगेको छ।

बजारको मागअनुसार उत्पादन बढाइएको कम्पनीले जनाएको छ। टाटाका सवारी उत्पादन प्लान्टमध्ये महाराष्ट्रको रञ्जनगाउँस्थित प्लान्टले नेक्सन हालसम्म दुई लाख पुगेको जनाएको हो। सवारी सुरक्षा जाँच गर्ने एजेन्सी ग्लोबल एनक्यापले गत वर्ष एसयुभीमध्ये टाटाको नेक्सनलाई 'सुरक्षित कार' को प्रमाणपत्र दिएको थियो। 

कोभिड-१९ को महामारीको अवस्थामा पनि स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै कम्पनीले सवारी कारखाना सञ्चालन गरिरहेको थियो। एसयुभीमा प्रयोगकर्ताले खोज्ने फीचरहरु थप्ने प्रयोगसँगै उत्पादनमा निरन्तरता दिइएसँगै नेक्सन धेरै बिक्री हुने सफल मोडलमा परेको कम्पनीले जनाएको छ। सन् २०२० सम्म कम्पनीले नेक्सन उत्पादन संख्या एक लाख ५० हजार थान पुर्‍याएको थियो। सन् २०२१ को करिब ६ महिना अवधिमै कम्पनीले थप ५० हजार थान उत्पादन गरेको छ। 

भारतमै पहिलो पटक फाइभ स्टार सेफ्टी रेटिङ पाएको नेक्सनको बिक्री प्रत्येक महिना सात हजार थान हुँदै आएको कम्पनीले जनाएको छ। गत मार्चमा भने यो गाडीको बिक्री संख्या साढे आठ हजार थान पुगेको थियो। नेक्सन सार्वजनिक गरिएको वर्ष सन् २०१७ मा भारतमा मात्रै १४ हजार ६२ वटा बिक्री भएको थियो। गत वर्ष कोरोना संक्रमणका कारण बजार प्रभावित भए पनि भारतमा बिक्री ४९ हजार ३ सय १२ वटा भएको कम्पनीले जनाएको छ।

सब-कम्प्याक्ट क्रसओभर एसयुभी भनिएको नेक्सनलाई टाटाले सन् २०१७ देखि बजारमा ल्याएको हो। यो गाडीको २० वटा भेरियन्ट छन्। जस अन्तर्गत १२ वटा पेट्रोल र आठ वटा भेरियन्ट डिजल इन्जिनका रहेका छन्। कम्पनीले यो मोडललाई इलेक्ट्रिक भर्सनमा पनि गत वर्ष बजारमा ल्याइसकेको छ।