एफएनसीसीआईले कमलपाेखरीमा बनायो आइसोलेसन सेन्टर, २६ बेडको आइसोलेसन गरीब लक्षित

बिजमाण्डू
२०७८ बैशाख २९ गते २१:३४ | May 12, 2021
एफएनसीसीआईले कमलपाेखरीमा बनायो आइसोलेसन सेन्टर, २६ बेडको आइसोलेसन गरीब लक्षित


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले बिहीबारबाट आइसोलेसन सेन्टर संचालनमा ल्याउने भएको छ।

भगवान महावीर जैन–निकेतन ज्ञानेश्वर र आरम्भ फाउण्डेशनको सहकार्यमा महासंघले कोभिड संक्रमितहरूका लागि कमलपाेखरीस्थित जैन ज्ञान निकेतनमा सेन्टर संचालनमा ल्याउन लागेको हो। निम्न वर्गलाई लक्षित आइसोलेसन अक्सिजन र आपतकालीन उपचार बिनाको हुनेछ।आइसोलेसन सेन्टरमा सुरुमा जम्मा २६ बेड रहने र आवश्यकताका आधारमा थप बेडहरूको व्यवस्थापन गर्ने महासंघले जनाएको छ।

निम्न आय भएका, कुनै लक्षण नदेखिएका संक्रमितहरू कामका लागि बाहिर जाने र त्यसबाट संक्रमण नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्य राखेर यो आइसोलेसन संचालनमा ल्याउन लागिएको हो। महासंघका अनुसार आइसोलेसन लागि स्थान महावीर जैन–निकेतनले उपलब्ध गराएको र आरम्भले आइसोलेसन दैनिक व्यवस्थापन र संचालन गर्ने जिम्मेवारी लिनेछ।

आइसोलेसनमा दुई जना स्वास्थ्यकर्मी र एक जना चिकित्सकको व्यवस्था गरिएको  महासंघले जनाएको छ। संक्रमितहरूका लागि २४ सै घण्टा स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्शसहित औषधि उपचारको प्रबन्ध रहनेछ। स्थानीय तहमा संक्रमितहरूसँग समन्वय गर्ने कार्यमा काठमाडौं महानगरपालिका वडा नम्बर २९ ले सहयोग गर्ने महासंघले जनाएको छ।

संक्रमितहरूका लागि बिहान बेलुकाको खाना र दिउँसोको खाजाको प्रबन्ध गरिने महासंघले जनाएको छ। केन्द्रमा अक्सिजन बाहेक कोरोना संक्रमितहरूका लागि दिइने खाने औषधिहरु उपलब्ध हुनेछ। आइसोलेसनमा रहँदा कुनै संक्रमितहरूमा स्वास्थ्य जटिलता आई अस्पताल जानुपर्ने अवस्था आइपरेमा बिरामीलाई अस्पतालसम्म जाने कार्यको समन्वय महासंघले गर्ने र त्यसपछि सम्पूर्ण व्यवस्थापन बिरामी आफैंले गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।

केही व्यवहारिक र सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै प्रारम्भमा कोभिड संक्रमित एकल महिलाहरूलाई सेन्टरमा सेवा दिन नसकिने महासंघले जनाएको छ। महासंघ अध्यक्ष शेखर गोल्छाले निम्न आय वर्गलाई लक्षित गरेर आइसोलेसन संचालनमा ल्याउन लागिएको बताए। आइसोलेसन स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका कार्यकारिणी समितिका सदस्य रंजितराज आचार्यले विभिन्न संघ-संस्थाहरूको सहयोग र समन्वयमा यस्ता सेन्टरहरू अन्य ठाउँमा पनि विस्तार गर्दै जाने बताए।

सामूहिक आइसोलेसन भएकाले जेष्ठ नागरिक, दीर्घ रोगीहरू लगायत १५ वर्षमुनिका बालबालिकालाई सेवा दिन नसकिने उनले बताए।