अन्तत: टुङ्गो लाग्यो हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जर: बिहीबार अलफ्ट होटलमा औपचारिक सम्झौता

बिजमाण्डू
२०७८ बैशाख २९ गते १८:४८ | May 12, 2021

Tata
GBIME
Nepal Life

 

काठमाडौं। हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरका लागि बिहीबार दिउँसो औपचारिक सम्झौता हुने भएको छ। 

भोलि एलफ्ट होटलमा मर्जर सहमति हुने भएको छ। सम्झौता कार्यक्रममा दुबै बैंकका अध्यक्ष हुने छन्। बाँकी पदाधिकारीहरु अनलाइनबाट सहभागी हुने छन्।

मर्जरका लागि सहमति गर्नु अगाडि गरिएको सम्पूर्ण सम्पति तथा दायित्वको प्रारम्भिक मूल्यांकन (डीडीए) मा हिमालयनको प्रति सेयर मूल्य १०२ रुपैयाँ ५० पैसा हुँदा इन्भेष्टमेन्टको १०० रुपैयाँ आएको छ। 

'यसैलाई आधार मानेर एक बराबर एकको अनुपातमा मर्जरमा जाने भन्ने प्रारम्भिक सहमति हो,' एक सञ्चालकले भने, 'अब बिस्तृत डीडीए हुन्छ। त्यसका आधारमा पछि सेयर आदानप्रदान अनुपात निर्धारण हुन्छ।' 

उनका अनुसार, अहिलेसम्म भने १० प्रतिशत तल-माथि हुँदा पनि एक बराबर एकको अनुपातमा मर्जरमा जाने भन्ने नै छ। यसअघि टीआर उपाध्यायको सीए फर्मले डीडीए गरेको थियो।

दुवै बैंकबीच अहिलेसम्म भएको सहमति अनुसार, मर्जर पूर्व लाग्ने सम्पूर्ण खर्च आधा आधा ब्यहोर गरिने छ। हिमालयन बैंकको कर्मचारी नियमावलीलाई नै अवलम्बन गरिने छ। यसो हुँदा इन्भेष्टमेन्ट बैंकका कर्मचारीको आधारभूत तलब बढ्ने छ।

'आवश्यकता अनुसार मर्जरअघि नै दुवै बैंकले कर्मचारी कटौतीका लागि स्वेच्छिक अवकाश योजना ल्याउने सहमति भएको छ,' अर्का एक सञ्चालकले भने, 'नाम र उच्च व्यवस्थापन पनि टुंगो लागेको छ।'

अहिले हिमालयनमा हजार जना जति कर्मचारी छन् भने इन्भेष्टमेन्टमा १५ सय जना हाराहारी कर्मचारी छन्। इन्भेष्टमेन्टले करारमा पनि कर्मचारी राखेको छ। उनीहरुका बारेमा इन्भेष्टमेन्टले निर्णय गर्नुपर्ने हुन्छ।

मर्जरपछि प्रमुख कार्यकारी हिमालयनका अशोक राणा हुने छन् भने डेपुटी प्रमुख कार्यकारी इन्भेष्टमेन्टबाट ज्योति पाण्डे हुने छन्। ज्योति पाण्डेलाई केही स्पष्ट अधिकारसहित डेपुटी प्रमुख कार्यकारी बनाइने छ।

अध्यक्ष इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाँडे हुने छन्। त्यसपछि सेयर संरचनाका हिसाबले बाँकी सञ्चालक छानिने छन्। यसमा आधा हिमालयन र आधा इन्भेष्टमेन्टबाट ल्याउने प्रयास हुने छ। मर्जरपछि नाम 'हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक' हुने छ।