दुविधालाई चिर्दै दक्षिण कोरिया आर्थिक सुधारको बाटोमा, अर्थतन्त्र पुरानै लयमा फर्किदै

बिजमाण्डू
२०७८ बैशाख २८ गते ०९:१३ | May 11, 2021
दुविधालाई चिर्दै दक्षिण कोरिया आर्थिक सुधारको बाटोमा, अर्थतन्त्र पुरानै लयमा फर्किदै


Tata
GBIME
Nepal Life

सन् १९९८ मा एशियाको चौथो ठूलो अर्थतन्त्रका रूपमा रहेको दक्षिण कोरिया सबैलाई आश्चर्यमा पार्दै तत्कालीन वित्तीय संकटबाट बाहिर निस्कने एशियाली क्षेत्रकै पहिलो देश बन्यो। 

सन् २००० र सन् २००८ को दुवै मन्दीलाई यसले क्रमश: टार्न सफल भयो। त्यसबेला डटकम र लेहमेन ब्रदर्सको पतनसँगै विश्वभर सुरु भएको आर्थिक संकटले दक्षिण कोरियालाई छुन पनि सकेन। त्यस्तै सन् २०१३ मा विश्वका उदाउँदा बजारहरुमा देखिएको व्यापार संकटलाई पनि दक्षिण कोरियाले पार लगायो। 

अहिलेको अवस्थामा पनि कोरियाले 'प्रि-कोभिड ग्रोथ लेभल'लाई छुनका लागि पुरानै अवस्थामा फर्किँदै  विश्व बजारमा आफ्नो छविलाई नयाँ उचाइमा पुर्‍याएको छ। 

दक्षिण कोरियाको अर्थतन्त्रले सन् २०२१ को पहिलो तीन महिनामै १.६ प्रतिशतको वृद्धि हासिल गरेको छ। यसअघि देशको आर्थिक वृद्धिदर १.२ प्रतिशतमा रहने अनुमानलाई गलत साबित गर्दै दक्षिण कोरियाले १.६ प्रतिशतको वृद्धि हासिल गरी कोरोना महामारी पूर्वको अवस्थामा पुगेको हो। 

बैंक अफ कोरियाका अनुसार अनुमान गरेभन्दा तीव्र आर्थिक वृद्धि हासिल हुनुमा कर्पोरेट लगानीको सुविधा, निजी उपभोग तथा सरकारी खर्चमा भएको वृद्धि नै प्रमुख कारक रहन पुग्यो। 

दक्षिण कोरियाको केन्द्रीय बैंकका निर्देशक पार्क याङ सु भन्छन्- ‘देशको निर्यात सन् २०१९ को चौथो त्रैमासको भन्दा माथि छ तर निजी उपभोग भने त्यस समयको तुलनामा ५ प्रतिशतले घटेको देखिन्छ।’

सबैभन्दा प्रमुख व्यापार साझेदार चीनको आर्थिक सुधारका साथै अमेरिका र बेलायतजस्ता देशहरुमा निर्यात बढ्नुले दक्षिण कोरियालाई लाभ मिलेको उनले बताए।  

अर्थविद्हरुले सन् २०२१ को दोस्रो त्रैमासमा दक्षिण कोरियाको निर्यात व्यापार अझ बढ्ने अनुमान गरेका छन्। 

अर्थविद् पार्क जियोङ उका अनुसार अप्रिलमा बलियो देखिएको निर्यात अबका दिनहरुमा थप १९ प्रतिशतले बढ्नेछ। 

गत वर्ष दक्षिण कोरियाको अर्थतन्त्र सन् १९९७/९८ को एशियाली वित्तीय संकटको समययता पहिलोपटक खुम्चिएको थियो। कोरोना भाइरसको महामारीले खुम्चिएको अर्थतन्त्रलाई दक्षिण कोरियाले बलियो निर्यातका कारण सहजतापूर्वक सम्हाल्न सफल भयो। निर्यातमा देखिएको सफलताका कारण उसले आर्थिक संकुचनलाई १ प्रतिशतमा सीमित राख्न सकेको विश्लेषकको भनाइ छ। 

सन् २०२० मा पनि दक्षिण कोरियाले अमेरिका, जापान र बेलायतको तुलनामा आफ्नो अर्थतन्त्रलाई तुलनात्मक रूपमा धरासायी हुनबाट जोगाएको हो। दक्षिण कोरिया अन्य पूर्वी एशियाली राष्ट्रहरुभन्दा कोभिड-१९ को महामारीबाट पनि कम प्रभावित छ। 

दक्षिण कोरियाको 'टप ट्रेड पार्टनर' मानिएको चीनले पनि सन् २०२० मा आफ्नो अर्थतन्त्रलाई २.३ प्रतिशतमा विस्तार गर्‍यो भने सन् २०२१ को पहिलो त्रैमासमा चीनको कुल गार्हस्थ उत्पादन जीडीपीले रेकर्डस्तर १८.३ प्रतिशत हासिल गरेको तथ्यांक सार्वजनिक गरिसकेको छ।

अर्थविद्हरुले आगामी दिनमा दक्षिण कोरियाको आर्थिक वृद्धि अझ बलियो बन्दै जाने बताएका छन्। दक्षिण कोरियाको कोरिया इन्टरनेशनल ट्रेड एसोसिएसनले सन् २०२१ मा देशको निर्यातमा ६ प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरेको छ। 

कोरियाले निर्यातमा सेमिकन्डक्टर, अटोमोबाइल तथा पेट्रोकेमिकलको क्षेत्रमा आफूलाई अब्बल साबित गरिसकेको छ र यिनै उत्पादनहरुको निर्यात आगामी दिनमा थप बलियो  बन्ने एसोसिएसनको अनुमान छ। 

यस कारणबाट पनि दक्षिण कोरियाली सरकारले सन् २०२१ को लागि देशको कुल गार्हस्थ उत्पादन जीडीपीमा ३.२ प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरेको छ। दक्षिण कोरियाको केन्द्रीय बैंक बैंक अफ कोरिया तथा देशका प्रमुख अर्थविद्हरुले पनि सरकारकै अनुमानको हाराहारीमा ३ प्रतिशतको वृद्धिदर अपेक्षा गरेका छन्। 

कोभिड-१९ महामारीको चौथो लहरले अमेरिका युरोप र जापानजस्ता देशहरुलाई आक्रान्त बनाइरहँदा यसले न्यूयोर्कदेखि मुम्बईसम्मका शेयर बजारहरुलाई समेत उच्च जोखिममा पारिदिएको छ। 

खासमा विश्वभर विद्युतीय चिपहरुको अभाव हुनु चीन र अमेरिका बीचको व्यापार युद्धकै उपज हो। निर्यातमुखी अर्थतन्त्र भएको दक्षिण कोरियाले यस्ता चिपहरु तथा अन्य सेमिकन्डक्टरहरुको उत्पादन तथा निर्यातबाट आफूलाई ठूला बजारहरुमा 'साइजेबल ट्रेडिङ पावर' का रूपमा आफूलाई स्थापित गर्दै लगिरहेको देखिन्छ। 

दक्षिण कोरियाको निर्यातमा सबैभन्दा महत्वपूर्ण मानिएको सामसङको प्रगति हाल विश्व बजारमा असाध्यै राम्रो देखिएको छ। यसको निर्यातबाट दक्षिण कोरियाले निकै आशा राख्न सक्छ। सन् २०२१ को पहिलो त्रैमासमा सामसङ इलेक्ट्रोनिक्स कम्पनीको खुद मुनाफा गत वर्षको सोही अवधिको तुलनामा ४६ प्रतिशतले उकालो लागेको छ। 

दक्षिण कोरियाको सबैभन्दा ठूलो स्मार्टफोन तथा मेमोरी चिप मेकर कम्पनी सामसङले यिनै उत्पादनहरुका साथै अन्य ग्याजेट तथा घरायसी उपकरणहरुको बढ्दो मागका कारण पनि विश्व बजारबाट लाभ उठाइरहेको छ। 

अझ खुशीको कुरा के भने कोरियाको अर्थतन्त्रलाई बलियो बनाउनमा त्यहाँका राष्ट्रपति मुन जेई इनको सरकारले चालेका कदमहरुले पनि थप बल पुर्‍याएको देखिन्छ। सन् २०१७ देखि राष्ट्रपति मुनले देशको आर्थिक वृद्धिका लागि अझ नवीनतम मोडलहरु अपनाउँदै अघि बढ्ने बताइरहेकाले पनि कोरियालीहरु थप आशावादी बन्ने अवस्था सिर्जना भएको हो। 

हालैका दशकमा कोरियाले आफूलाई विद्युतीय सामाग्री तथा उपकरण, डिजिटल डिभाइस, पेट्रोकेमिकल, सेमिकन्डक्टरका साथै अन्य साँस्कृतिक सामाग्रीहरुको निर्यातको नेतृत्वकर्ताका रूपमा आफूलाई उभ्याउन सफल भएको छ। 

यसबाट उसले आफूलाई 'मिडल इनकम ट्रयाप' को आशंकालाई गलत प्रमाणित गर्दै उच्च मूल्यका वस्तुहरुको उत्पादन गर्न नसक्ने अवस्थाबाट बाहिर निस्केर विश्वमाझ आफूलाई प्रमाणित गरिसकेको छ। 

सियोलले आफ्नो परम्परागत अर्थतन्त्रका रूपमा रहेको सवारी साधन तथा जहाजहरुको उत्पादन तथा व्यापारबाट अर्थतन्त्रलाई बृहद र विविध क्षेत्रमा फैलाइरहेको देखिन्छ। निर्यातका साथै नवीनतम आविष्कार तथा सेवा क्षेत्रलाई पनि उत्तिकै महत्व दिने गरी मुन सरकारले बनाएको वृद्धिको खाकाले पनि देशको अर्थतन्त्रलाई प्रगतिउन्मुख बनाएको हो। 

सरकारले अर्थतन्त्रलाई विविधिकरण गर्नका लागि ठूला व्यापारिक घरानाहरुदेखि साना स्टार्टअप व्यवसायहरुसम्म अवसर पुर्‍याउन लक्षित रहेको छ। स्थानीय व्यापार संस्कृतिदेखि टेक जायन्टहरुको विकास गरी नयाँ रोजगारी तथा सम्पत्तिको सिर्जना गर्नु दक्षिण कोरियाली सरकारको प्राथमिकता रहेको देखिएको छ। 

हालको अवस्थामा दक्षिण कोरियाले आफूलाई फेरि बलियो अर्थतन्त्र भएको देशको रूपमा उभ्याउन सफल भएको छ। अबका दिनमा राष्ट्रपति मुनले देशको लागि थप अवसरको ढोका खोल्ने गरी प्रस्तुत हुन सके दक्षिण कोरियाले निरन्तर रूपमा आर्थिक वृद्धिका खुड्किलाहरु तीव्र गतिमा चढ्दै निराशावादीहरुलाई गतिलो जवाफ दिन सक्ने देश बन्न सक्छ। (निक्केई एशियाबाट)