सेयर बजार २७ अंकले बढ्यो, सबै उपसमूहमा हरियाली छाएपनि कारोबार रकम भने दुई साता यताकै कम

बिजमाण्डू
२०७८ बैशाख २७ गते १५:१५ | May 10, 2021


काठमाडौं। सोमबार सेयर बजार सूचक नेप्सेमा २७ अंकको बढे पनि कारोबार रकम भने सवा ४ अर्ब रुपैयाँमा सीमित भएको छ। 

Tata
GBIME
Nepal Life

यो कारोबार रकम पछिल्लो आधा महिनाको अवधिमा सबैभन्दा न्यून हो। यस अघि वैशाख १५ गते तीन अर्ब ९५ करोड रुपैयाँको सेयर किनबेच भएको थियो। त्यसपछि ५ देखि ७ अर्ब रुपैयाँको बीचमा कारोबार भइरहेको थियो। आइतबारसमेत सवा ६ अर्ब रुपैयाँको कारोबार भएको थियो।

पछिल्लो समय देखिएको राजनीतिक अन्योल भएका कारण बजारमा पर्ख र हेरको अवस्थामा रहेकाले कारोबार रकम कम भएको विश्लेषकहरुको भनाइ छ।

सोमबार राष्ट्रिय बीमा कम्पनी, समता घरेलु लघुवित्त र रुरु जलविद्युत कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। त्यस्तै विशाल बजार कम्पनीको सेयर मूल्य लगातार तेस्रो दिन १० प्रतिशतले घटेको छ।

नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २७ करोड रुपैयाँको सेयर किनबेच हुँदा माथिल्लो तामाकोशीको करिब २० करोड, एचआइडीसीएलको १८ करोड, हिमालयन डिष्टिलरीको १४ करोड र महिला लघुवित्तको साढे १२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

सबै उपसमूहमा हरियाली छाउँदा सबैभन्दा धेरै निर्जीवन बीमा समूह ३४६ अंक, जीवन बीमा समूह १३७ अंक र उत्पादन समूह १३३ अंकले बढेको छ।

२१८ कम्पनीको ७६ लाख कित्ता सेयर चार अर्ब २० करोड रुपैयाँमा किनबेच भएका छन्। २२ कम्पनीको मूल्य स्थिर रहँदा २६ कम्पनीको मूल्य घटेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ।