पर्वतमा तयार भयो मुलुककै पहिलो ‘स्काइ चियर’, निषेधाज्ञा खुले लगत्तै सञ्चालनमा ल्याइने 

बिजमाण्डू
२०७८ बैशाख २७ गते १०:१९ | May 10, 2021
पर्वतमा तयार भयो मुलुककै पहिलो ‘स्काइ चियर’, निषेधाज्ञा खुले लगत्तै सञ्चालनमा ल्याइने 

Tata
GBIME
Nepal Life

काठमाडौं। साहसिक खेलमा लगानी बढ्न थालेको गण्डकीमा 'स्काइ चियर' थपिएको छ। पर्वतको द क्लिफ रिसोर्टले सञ्चालनमा ल्याउन लागेको ‘स्काइ चियर’ को निर्माण पूरा भएको हो।

निषेधाज्ञा हटेलगत्तै स्काइ चियर सञ्चालनमा ल्याउने योजना रहेको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए। हाल बन्जी र स्वीङ सञ्चालन गर्दै आएको कम्पनीले आफ्नै रिसोर्ट परिसर बागलुङको बलेवामा स्काइ चियर तयार पारेको हो । यो साहसिक खेल द क्लिफले पहिलोपटक नेपालमा ल्याएको दाबी गरेको छ।

स्काइ चियरमार्फत पर्यटकले कालीगण्डकी खोँच माथिबाट कुश्मा बजार, धौलागिरी हिमाल लगायतको दृश्य अवलोकन गर्न सक्नेछन्। कम्पनीका अनुसार पर्यटकले स्काइ चियरमा बसेर भिडियो कैद गराउनका साथै कफी पिउन र खाजा खान सक्नेछन्। एक पटकमा दुई जना बस्न मिल्ने स्काइ चियर नदीबाट २ सय ५० मिटर उचाइमा रहेको अध्यक्ष कार्कीले बताए।  

उनका अनुसार यतिखेर रिसोर्ट परिसरमै हाइ रोप स्टेसनको निर्माण धमाधम भइरहेको छ। ‘स्टिल केवल’को सहायतामा हार्नेस लगाएर भीरमा हनि हन्टिङ गर्ने शैलीमा  हाइ रोप स्टेसन चढिने कार्कीले जानकारी दिए। उनका अनुसार हाइ रोप स्टेसनको उचाइ भने नदीबाट २ सय ५० मिटर छ। 

स्टेसनसँगै रिसोर्टमा यतिखेर ‘भगवान पाइला’ निर्माणको काम पनि धमाधम भइरहेको उनले बताए। जमिनबाट ५ मिटर अग्लो पाइलामा गएर पर्यटकले आसपासका दृश्यावलोकन गर्न सक्ने छन्। नदीबाट २ सय ५० मिटरको उचाइमा रहने पाइलाको तल पट्टीको भागमा सेफ्टीनेट राखेर सुरक्षा सावधानी अपनाइने उनले जानकारी दिए।