राजनीतिक अन्योलको असर सेयर बजारमा, सबै उपसमूह राताम्मे, सवा ६ अर्ब रुपैयाँको किनबेच

बिजमाण्डू
२०७८ बैशाख २६ गते १५:११ | May 9, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। आइतबारको सेयर कारोबारमा राजनीतिक अन्योलको असर देखिएको छ। नेप्से सूचक १८ अंकले घटेर २६१८ बिन्दुमा आइपुगेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा विश्वासको मत लिदै छन्। सत्तारुढ दल एमालेका माधव नेपाल पक्षका सांसदहरुले राजीनामा दिने र जनता समाजवादीका सांसद तटस्थ बस्ने निर्णय गरेपछि ओलीले विश्वासको मत नपाउने करिब पक्का भएको छ। तर वैकल्पिक सरकार पनि बन्ने सम्भावना अहिले सम्म नदेखिएकाले अन्योल बढेको छ। यसको असर बजारमा पनि परेको देखिएको हो।

समता घरेलु लघुवित्त र रुरु जलविद्युत परियोजनाको सेयर मूल्य करिब १०/१० प्रतिशतले बढेको छ।
महिला लघुवित्त, बिशाल बजार कम्पनी, सिंगटी हाइड्रोपावर र युनियन हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब १०/१० प्रतिशतले नै घटेको छ।

सबै उपमसूह रातो भएको बजारमा सबैभन्दा धेरै जीवन बीमा समूह १४८ अंक घटेको छ। लघुवित्त समूह ९८ अंक घटेको छ।

एनसिसि बैंकको सर्वाधिक २९ करोड रुपैयाँको सेयर किनबेच हुँदा कुमारी बैंकको २८ करोड, महिला लघुवित्तको २३ करोड, हिमालयन डिष्टिलरी र एचआइडिसिएलको समान २३/२३ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

२१९ कम्पनीको एक करोड २७ लाख कित्ता सेयर ७५ हजार पटक किनबेच भएका छन्। ६ कम्पनीको मूल्य स्थिर रहेको बजारमा ३२ कम्पनीको मात्रै मूल्य बढेको छ। बाँकी सबै कम्पनीको सेयर मू्ल्य घटेर कारोबार भएको छ। दिनभरीमा सवा ६ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ।