वार्षिक ७० लाखसम्मको केरा बेच्छन् चितवनका शिवकान्त, निषेधाज्ञा र मल अभावले व्यापारमा असर

उन्नत सापकोटा/बिजमाण्डू
२०७८ बैशाख २६ गते १४:३७ | May 9, 2021
वार्षिक ७० लाखसम्मको केरा बेच्छन् चितवनका शिवकान्त, निषेधाज्ञा र मल अभावले व्यापारमा असर

Tata
GBIME
Nepal Life

काठमाडौं। चितवनको नौ बिघा जग्गामा प्रति बिघा १८ सय वटा केराका बोट लगाएका छन् एसके केरा तथा कृषि फर्मका अध्यक्ष शिवकान्त न्यौपानेले। उनले वार्षिक ६५ देखि ७० लाख रुपैयाँसम्मको केरा बिक्री गर्ने गरेका थिए।

कोरोना महामारी एवम् विभिन्न समयमा सरकारले लगाएको बन्दाबन्दीको अवस्थाले उनको व्यवसायमा असर पारेको छ। 

चितवनमा अहिले सात सय विघाभन्दा बढी जग्गामा केरा खेती भइरहेको छ। विगत तीन वर्षदेखि केरा खेती गर्दै आएका न्यौपाने आफ्नो सालाबाट प्रेरित भएर यो पेसामा लागेका हुन्। सालो विष्णुहरी पन्तले ४०-५० बिघामा केरा खेती गरिरहेको न्यौपानेले बताए।

वार्षिक एक कट्ठाको जग्गा भाडा चार हजार रुपैयाँ तिरिरहेका न्यौपानेले श्रम खर्चलाई १० देखि १५ लाख रुपैयाँ छुट्याउने गर्ने गरेका छन्। उनले नौ विघामा लगाएको केराबाट वार्षिक २५ देखि ३० लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन्।     

अवस्था प्रतिकूल भए पनि चितवनको केराको माग अत्यधिक हुने भएकाले सरकारले अहिले विभिन्न जिल्लामा लगाएको निषेधाज्ञामा थोरै सहजीकरण गरिदिए व्यापार अझै फस्टाउने न्यौपानेको भनाइ छ। 

ढुवानीमा धेरै समय लागे केरा बिग्रिने सम्भावना भएकाले सहज बनाउनु पर्ने किसानले माग गर्दै आएका छन्।  

'एउटा गाडीमा डेढदेखि तीन लाख रुपैयाँसम्मको केरा लोड हुन्छन्। खेतबाट केरा लोड गर्दा केही हरियो नै हुन्छ। समयमा बजार पुर्‍याएर झार्न नपाए गाडीमै केरा पाक्छ। माल्वा केरा भएकाले छिटै गल्दैन तर, झारेर बेचिहाल्नु पर्ने हुन्छ। यसमा सरकारले सहजीकरण गर्नुपर्छ,' न्यौपानेले भने।

राज्यले साना किसानहरुलाई मान्छेसरह व्यवहार गर्नुपर्ने भन्दै न्यौपानेले सरकारबाट थोरै हेरविचार भइदिए धेरै सहयोग पुग्ने बताउँछन्। ढुवानीमा प्रयोग हुने सवारी साधनलाई निषेधाज्ञाको समयमा प्रहरी प्रशासनले सहज नगरिदिएकाले ढुवानीकर्ताहरु हच्किने गरेको उनले बताए।

सामान्य अवस्थामा जसरी केराको ढुवानी र व्यापार हुने गरेको थियो अहिले हुन नसकेको न्यौपानेले बताए। चितवनमा उत्पादित केरा काठमाडौं उपत्यकासँगै दाङ, नेपालगञ्ज, पोखरासहित अन्य जिल्लाहरुमा ढुवानी हुने गरेको छ।

'हाम्रो मुख्य बजार काठमाडौं उपत्यका हो। त्यहाँ लकडाउन छ अब केरा कसले खाने? परिस्थितिका कारण केरा व्यापारमा असर परिरहेको छ,' न्यौपानेले भने। 

सरकारले गत वर्ष गरेको लकडाउन तथा निषेधाज्ञामा भने केरा व्यापार गर्न निकै सहज भए पनि अहिले त्यस्तो नभएको उनले बताए। केरा ढुवानी हुने विभिन्न जिल्लाका सरकारी मन्डी तथा बजारहरुमा समय तालिका अनुसार काम हुने गरेको न्यौपानेले सम्झिए। व्यापारीहरुले सोही तालिका अनुसार टिप सञ्चालन तथा ढुवानी गर्ने गरेकोमा अहिले ठिक विपरित काम भइरहेको उनले बताए। 

संक्रमण बढ्दै गएको र मृत्युदर ह्वात्तै बढेसँगै ढुवानी व्यवसायीहरु समेत डराएको देखिन्छ। जसका कारण ढुवानीमा समस्या परेको व्यापारीहरुको भनाइ छ। 

अहिलेको परिस्थितिबाहेक मौसमले साथ दियो भने व्यापार अझै बढ्ने व्यापारीहरुको भनाइ छ। हावाहुरी नआए, आवश्यक पानी परे र मल समयमै पाएको खण्डमा आम्दानी अझै बढ्ने उनले बताए। यो वर्ष पानी तथा हावाहुरीले केरामा क्षति पुर्‍याएकाले आम्दानी घट्ने चिन्ता किसानहरुलाई छ। 

सरकारले सहज ढंगले मल बिक्री नगरेको भन्दै न्यौपानेले साझाबाट ९०५ रुपैयाँमा युरिया मल पाइनेमा अभाव सिर्जना गरेर १४ सयदेखि १५ रुपैयाँमा कालोबजारीयाहरुले बेचिरहेको आरोप लगाए। 

'एउटा किसानलाई दुई बोरा मल दिन्छन्। साल्ट ट्रेडिङले पनि आफ्ना कर्मचारीहरुलाई कोरोना संक्रमण भएको भन्दै सहज रुपमा मल बिक्री गरेको छैन,' न्यौपानेले भने।

महिनामा करिब ४० जना हाराहारी स्थानीयहरुलाई न्यौपानेले आफ्नो केरा फार्ममा रोजगारी दिएका छन्। राज्यले दिनुपर्ने रोजगारी आफूहरुले दिइरहेको बताउँदै न्यौपानेले आफुहरुलाई आवश्यक पर्दा भने सहयोग तथा राहत नपाइने गुनासो गरे।

वैशाखदेखि साउनसम्म चितवनबाट धेरै मात्रामा केरा ढुवानी हुने गरेको छ। यो महिनामा न्यौपानेले ८० देखि ९० प्रतिशत केरा बजार पठाउने गरेका छन्। बाँकी महिनाहरुमा भने न्यौपानेले १० प्रतिशत केरा ढुवानी गर्ने गरेका छन्। यी महिनाहरुमा दैनिक एकदेखि दुई टिपसम्म केरा ढुवानी हुने गरेको उनले जानकारी दिए। 

ठूलो आइसर गाडीको एक टिपमा ३० देखि ४० हजार कोसा र टाटाको योद्दामा १७/१८ हजार कोसा अटाउने गरेको उनले बताए। उपभोक्ताहरुले किन्दा हरेक क्रेटमा ११५/१२० कोसा हुने गरेको बताइएको छ।