हवाई यात्रुले हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने, फोन गरेपछि यात्रु लिन पुग्ने

बिजमाण्डू
२०७८ बैशाख १६ गते १७:३८ | Apr 29, 2021
हवाई यात्रुले हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने, फोन गरेपछि यात्रु लिन पुग्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। निषेधाज्ञा अवधिमा त्रिभुवन विमानस्थल भएर हवाई यात्रा गर्ने यात्रुले हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने भएका छन्।

विमानस्थल कार्यालयले आज सूचना जारी गर्दै आन्तरिक तथा अन्तरराष्ट्रिय उडानका यात्रुले विमानस्थलसम्म आवतजावत गर्न हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने जनाएको हो। यस्तो सुविधा विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर प्लेटका एयरर्पोट प्रिपेड ट्याक्सीको हकमा मात्र लागू हुने जनाइएको छ।

हवाई यात्रुले वैधानिक हवाई टिकट/पासपोर्ट/भिसा देखाएका आधारमा विमानस्थलमा आवतजावत गर्न सक्नेछन्। यसका लागि सवारी साधनको सुविधा आवश्यक भएमा प्रिपेड ट्याक्सी बोलाउन सकिने छ। विमानस्थल कार्यालयका अनुसार प्रिपेड ट्याक्सीलाई फोन गरेपछि सम्बन्धित स्थानमा पुग्ने छन्।

उक्त प्रयोजनका निम्ति सम्बन्धित ट्याक्सीको फोन नम्बरसमेत विमानस्थल कार्यालयले सार्वजनिक गरेको छ। यो सुविधा दुवैतर्फका यात्रुले पाउने छन्। कोभिड १९ महामारी नियन्त्रणका लागि सरकारले आजदेखि राजधानी काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू गरेको छ। यसक्रममा मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान भने नियमित सञ्चालन गर्ने निर्णय गरिएको छ।

विमानस्थलको निर्णयबाट यात्रु तथा एयरलाइन्सलाई निकै राहत भएको एयरलाइन्सले जनाएका छन्। बुद्ध एयर र यती एयरका अधिकारीले निषेधाज्ञाको पहिलो दिन यात्रु विमानस्थलसम्म लैजान सहजीकरण भएको बताए। यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला र बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले विमानस्थलसम्म यात्रु आवतजावत गर्न पहिलो दिन खासै समस्या नभएको जानकारी दिए।  रासस