बुधबार आन्तरिक हवाई उडान अहिलेसम्मकै धेरै, १५ हजार जनाले गरे उडान, ट्राफिक कन्जेसनले उडान ढिला

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७८ बैशाख १५ गते १९:०३ | Apr 28, 2021
बुधबार आन्तरिक हवाई उडान अहिलेसम्मकै धेरै, १५ हजार जनाले गरे उडान, ट्राफिक कन्जेसनले उडान ढिला

Tata
GBIME
Nepal Life

काठमाडौं। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा खुट्टा राख्ने ठाउँ थिएन। टर्मिनलभित्र जाने र वाहिरिनेको लर्को थियो।

हवाई कम्पनीलाई यात्रु व्यवस्थापन गर्न कठिन भएको थियो। भीडभाडका कारण सुरक्षाका मापदण्ड अपनाउन विमान कम्पनीका प्रतिनिधिले गरेका प्रयास असफल बनेका थिए। यात्रुको भीडकै कारण ट्राफिक कन्जेसनका कारण उडान समेत ढिला भएका थिए।

उडान ढिला भएपछि यात्रुहरु टर्मिनलभित्र भीड भएर कतिपय रुखको छायाँ पारेर सुतिरहेका थिए। बुधबार आन्तरिक टर्मिनल बसपार्कजस्तो देखिन्थ्यो। विहीबारदेखि निषेधाज्ञा भएका कारण उपत्यका छाड्ने र भित्रिनेको संख्या एकाएक बढेको थियो।

कति भयो उडान?

बुधबार त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलबाट अहिलेसम्मकै बढी यात्रुले उडान गरेका छन्। अहिलेसम्म दसैंका बेलामा सबैभन्दा बढी यात्रुले उडान गरेका थिए।

विमानस्थल कार्यालयका अनुसार १५ हजार यात्रुले बुधबार ओहोरदोहोर गरेका छन्। कार्यालयका अनुसार बुधबार २ सय ९४ वटा उडान भएको छ।निजी वायुसेवा कम्पनी बुद्ध एयरमार्फत आठ हजार दुई सय यात्रु उडेका छन्। कम्पनीका बजार निर्देशक रुपेश जोशीले वुद्धको रेकर्ड ब्रेक भएको बताउँदै भने-‘हामीले रेकर्ड ब्रेक गरेका छौं। ८ हजार यात्रु उडाउनु भनेको चानचुने विषय होइन।’

उनका अनुसार विहीबारका लागि भने यात्रु घटिसकेको छ। ‘अहिलेसम्म ३५ सय यात्रुले टिकट काटेका छन्। निषेधाज्ञा लागेसँगै यात्रुको संख्या क्रमश घट्ने हामीले देखेका छौं,’ जोशीले बिजमाण्डूसँग भने।

यतीले बुधबार ३८ उडान गरेको छ। कम्पनीका सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले आन्तरिक उडान गर्ने यात्रु अहिलेसम्मकै उच्च रहेको बताउँदै दसैं भन्दा पनि बढी भएको जानकारी दिए। ‘दसैंका बेलामा धेरै यात्रु हुने गरेका थिए। तर निषेधाज्ञा लगाएपछि पहिलो पटक यति धेरै यात्रु जहाजमार्फत ओहोरदोहोर गरे,’ उनले भने, ‘अझ सबैजसो कम्पनीका ठूला जहाज भएकाले धेरै यात्रु आउनेजाने भए।’

माग बढेपछि बुधबार श्री एयरलाइन्सले १९ वटा उडान गरेको छ। बुधबार यात्रुको चाप व्यापक भएपछि उडान थपेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले बताए। ' निषेधाज्ञाको त्राससँगै सर्वसाधरणले उपत्यका छोडेर जाने क्रम बढेको हो। जहाज मात्रै होइन सार्वजनिक यातायातमा पनि त्यस्तै छ।' प्रवक्ता मानन्धरले भने।

यसैगरी यात्रु मागलाई मध्यनजर गर्दै सौर्यले बुधबार पाँचवटा उडान गरेको छ। सौर्यले एउटा जहाजमार्फत उडान गरिरहेको छ। कम्पनीका बजार प्रमुख मुकेश खनालले निषेधाज्ञामा समेत जहाज संचालन हुने भएकाले यात्रुलाई लक्षित गरेर बस संचालन गर्नुपर्ने बताए।