बजेट सिलिङप्रति सचिव नै असन्तुष्ट, ‘कृषिलाई उपेक्षा गरियो, राज्यको प्राथमिकतामा परेन’

बिजमाण्डू
२०७८ बैशाख ७ गते १८:०५ | Apr 20, 2021
बजेट सिलिङप्रति सचिव नै असन्तुष्ट, ‘कृषिलाई उपेक्षा गरियो, राज्यको प्राथमिकतामा परेन’

Tata
GBIME
Nepal Life

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको लागि तोकेको बजेट सिलिङप्रति असन्तुष्टि जनाएको छ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा मन्त्रालयका सचिवद्वय डा. योगेन्द्रकुमार कार्की र डा. पेम नारायण कँडेलले आगामी आर्थिक वर्षको बजेट लागि कृषि क्षेत्रलाई छुट्याइएको रकम सन्तोषजनक नरहेको बताएका हुन्। सचिव कार्कीले अर्थमन्त्रालयले जम्मा ३२ अर्ब रुपैयाँ मात्रै छुट्याएको बताउँदै यो चालु आर्थिक वर्षभन्दा १५ प्रतिशतले कम रहेको जानकारी दिए।

सरकारले कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा कुल ३४ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। बजेटको सिलिङ कम भएर आउँदा कार्यक्रम निर्माण गर्न कठिन भएको उनले बताए। अहिले नेपालमा ७ अर्बको स्याउ, ३ अर्बको आलु, ४ अर्बको कागती, ५ अर्बको प्याज आयात भइरहेको बताउँदै कार्कीले आगामी बजेटमा तिनै क्षेत्रमा केन्द्रीत भएका कार्यक्रमहरु ल्याउन लागेको बताए।

यस्तै निर्यात हुँदै आएका वस्तुहरु चिया, कफी, अलैची, बेसार, अदुवालाई थप प्रवर्द्धन गर्ने कार्यक्रम ल्याउन लागेको उनले जानकारी दिए। पशुपन्छी विकास सचिव डा. कँडेलले सम्भावनाका साथै रोजगारी समेत उल्लेख्य भएको कृषि क्षेत्रमा राज्यको प्राथमिकता बताए। उनले कृषि क्षेत्रमा राज्यको प्राथमिकता नदेखिएको भन्ने कुरालाई बजेटको आकारले नै पुष्टि गरेको बताए।