महामारीको दोस्रो लहरले पाँचतारे होटल पुनः अन्योलमा, सभा-समारोहका लागि गरिएका बुकिङ धमाधम रद्द

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७८ बैशाख ७ गते ०९:५५ | Apr 20, 2021
महामारीको दोस्रो लहरले पाँचतारे होटल पुनः अन्योलमा, सभा-समारोहका लागि गरिएका बुकिङ धमाधम रद्द

Tata
GBIME
Nepal Life

काठमाडौं। पहिलो लहरबाटै व्यवसाय धरापमा परिसकेका होटल, रेस्टुरेन्ट र पार्टी प्यालेस व्यवसाय तंग्रिन पाएका थिएनन्। कोभिड-१९ दोस्रो लहरका कारण सरकारले भिडभाड कम गर्नका लागि कडा निर्देशन जारी गरेसँगै यतिबेला यी व्यवसाय सञ्चालकहरु पुनः अन्योलमा परेका छन्।

पछिल्लो समय हुँदै आएको विभिन्न सभा समारोहले बिस्तारै व्यवसायले गति लिन थालेको थियो। होटल-रेस्टुरेन्टहरुले ग्राहकको भौतिक उपस्थितिसँगै होम डेलिभरी सेवा दिइरहेका थिए। पार्टी इभेन्ट हुन थालिसकेका थिए। एक्कासि पुनः बन्दाबन्दीकै अवस्थामा फर्कनुपर्ने स्थिति देखिन थालेको व्यवसायीले बताएका छन्।

कोरोनाको दोस्रो लहरबाट संक्रमितको संख्या बढ्न थालेसँगै सरकारले सतर्कतामा कडाइ गरेको छ। काठमाडौंका ठूला होटलहरु अब कसरी चलाउने भन्नेमा व्यवसायीबीच चिन्ता सुरु भएको छ। 

सरकारी सूचनापछि सभा-समारोह आयोजकले गरेका अग्रिम बुकिङ रद्द र स्थगन गर्न थालेपछि होटल व्यवसायी अन्योलमा परेका हुन्। वेडिङ सिजनसँगै विभिन्न कर्पोरेट इभेन्टका लागि ९० प्रतिशतभन्दा बढी आइसकेको बुकिङ अनुसारको सेवा दिने/नदिने विषयमा यतिखेर होटलसँगै विभिन्न बैंक्वेट र पार्टी प्यालेसमा सञ्चालकहरु अलमलमा छन्। 

ताहाचलको होटल सोल्टी क्राउन प्लाजाले बैशाख महिनामा मात्र सभा समारोहका लागि ९० प्रतिशत बुकिङ लिइसकेको जनाएको छ। बुकिङ लिइसकेको सयौं जनासम्मलाई सहभागी गराउने किसिमको सभा-समारोह आयोजना हुन दिने/नदिनेमा होटल व्यवस्थापनलाई गाह्रो परेको उपाध्यक्ष सुदर्शन चापागाईँले बताए।

'सरकारले सुझाव दिएसँगै सभा समारोहका लागि अग्रिम बुकिङ गर्नुभएका ग्राहकबाट इन्क्वाइरी आउन थालिसकेको छ। अब के गर्ने हामी अन्योलमा छौं,' उनले भने, 'स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै सेवा दिन हामी तयार छौं। सरकारको तर्फबाट थप केही जानकारी आउला भन्ने आशामा छौं।' उनका अनुसार सभा समारोहका इभेन्ट हल बैशाखका लागि शतप्रतिशत बुकिङ भइसकेका छन् भने असारका लागि ९० प्रतिशतले बुकिङ भइसकेको छ।

लाजिम्पाटस्थित होटल र्‍याडिसनमा पनि त्यस्तै छ। सभा समारोहका लागि आएका अग्रिम बुकिङ धमाधम रद्द हुन थालिसकेको होटल अन्तर्गत रुम डिभीजन म्यानेजर दीपकमान प्रधानले बताए। कोभिड दोस्रो लहर आएसँगै  सरकारले गरेको पछिल्लो निर्णयले पुनः व्यवसाय डामाडोल हुन गएको उनले गुनासो गरे।  

'पछिल्लो समय पार्टी, इभेन्टमार्फत व्यवसायले गति लिन सुरु गरेको थियो र हामीले पनि स्वास्थ्य सुरक्षा अपनाएर सेवा दिइरहेका थियौं।अब पुनः व्यवसाय डामाडोल हुने अवस्था ‍आएको छ,' उनले भने, 'रुम अकुमपेन्सी छैन। भर भनेकै इभेन्ट र रेष्टुरेन्टको थियो। अब यही पनि व्यवसायिक रूपमा अपरेसनमा ल्याउन कठिन हुने देखिएको छ।' 

दरबारमार्गस्थित होटल याक एण्ड यतीले सरकारले सिफारिस गरेको मापदण्ड अनुसार ग्राहक सेवा दिने तयारी रहेको जनाएको छ। पछिल्लो समय अग्रिम बुकिङ भइसकेका सभा समारोह स्थगित र रद्ध हुन थालिसकेको होटलका बजार प्रबन्धक सागरचन्द्र बान्तवा राईले बताए। 
'यतिखेर सभा समारोहका लागि आइसकेका कतिपय बुकिङहरु स्थगित भएका छन्।

कतिपय इभेन्टका लागि आयोजक आफैंले सहभागीको संख्या घटाउनु भएको छ,' उनले भने, 'सरकारले सिफारिस गरेको मापदण्ड अनुसार सेवा दिने तयारी गरेका छौं।' 

महामारीको दोस्रो लहर आएसँगै बुकिङ भइसकेका सभा समारोह स्थगित हुन सुरु भएको कुपण्डोलस्थित होटल हिमालयका सञ्चालक दिनेश तुलाधरले बताए। 'यो बीचमा आन्तरिक पर्यटकीय गतिविधि बढ्न सुरु भएको थियो। दोस्रो लहरको महामारी फैलिएसँगै अब फेरि व्यवसायमा प्रभाव पर्ने देखिएको छ,' उनले भने, 'हुन त पछिल्ला समयमा रुम अकुपेन्सी उल्लेख्य थिएन तर सभा समारोह र रेष्टुरेन्ट बिजनेसले गति लिन सुरु गरेको थियो।'  सरकारले गरेको निर्णय सबैले पालना गर्नुको विकल्प नभएको उनले बताए। 

विवाह, सभा लगायत विभिन्न कार्यक्रमका लागि गरिएका अग्रिम बुकिङहरु स्थगित हुन सुरु भइसकेको ठमेलस्थित अलफ्ट होटलले जनाएको छ। 'इभेन्टका लागि अग्रिम बुकिङहरु आइरहेका थिए। गेस्टहरु आफैले बुकिङ रद्द गर्न थाल्नुभयो। कतिपय गेस्टले सरकारको मापदण्ड अनुसारको संख्यामै कार्यक्रम आयोजना गर्ने विषयमा इन्क्वाइरी गर्दै आउनु भएको छ,' होटलकी बजार कार्यकारी सुधिका प्रधानले भनिन्।  

महाप्रबन्धक विक्रम सिंहका अनुसार अधिकांश सामाजिक समारोहका लागि आएको अग्रिम बुकिङ स्थगित भएको छ। पूर्वनिर्धारित सभा समारोह रद्द र स्थगन हुँदै आए पनि यतिखेर होटलमा करिब ७० वटा कोठाहरु भरिभराउ रहेको उनले बताए। 

'स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कुनै कम्प्रमाइज गरेका छैनौं। हामी प्रतिको विश्वासले पाहुनाहरुको सहभागिता राम्रै छ। सरकारले अहिले भिडभाड कम गर्नका लागि सुझाव दिएको छ। आधिकारिक निर्णय आएसँगै हामी सोहीअनुसार सेवा दिनेछौं,' महाप्रबन्धक सिंहले भने। 

सरकारले विवाह समारोहमा २५ जना भन्दा बढी सहभागिता जनाउन लनपाइने निर्णय गरेसँगै  नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघले राती ८ बजेसम्मका लागि मात्र सेवा सञ्चालन गर्ने निर्णय गरेको छ।   

महासंघले स्वास्थ्य सुरक्षा अवलम्बनसहित मदिरा र तडकभडकरहित सेवा दिनका लागि मुलुकभर सञ्चालित व्यवसायलाई सर्कुलर जारी गरिसकेको केन्द्रीय अध्यक्ष लिलाबहादुर जीसीले बताए। 'हामीले यस अघि कोभिड पहिलो लहर सुरु हुँदा पनि प्रत्येक पार्टी प्यालेसको कुल क्षमता ३५ देखि ४० प्रतिशतले मात्र सेवा दिने निर्णय गरेका थियौं। अहिले सरकारले पार्टी प्यालेस बन्द गर नै त भनेको छैन। हामीले स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै सिमीत संख्यामा सहभागी पाहुनालाई सेवा  दिनेछौं,' अध्यक्ष जिसीले भने। 

एक वर्ष अगाडीदेखि धरासायी अवस्थामा रहेको पार्टी प्यालेस सेवा अझै प्रभावित हुँदै गएको अवस्थामा ५० प्रतिशत व्यवसायी पलायन हुने उनले जानकारी दिए। 'विवाहको सिजनमा हामीले सेवा दिन पाउने हो। गत वर्ष मंसिरमा सेवा दिने मौका पाएका थियौं। अहिले वैशाखमा आउँदै गरेका लगनलाई मध्यनजर गर्दै बुकिङ उल्लेख्य नै आएका थिए।  तर आयोजक परिवारले  दुःख पाउनुभएको छ। कतिपयले त निम्तोपत्र छापेर वितरण पनि गरिसक्नुभएको छ,' उनले भने। 

स्वास्थ्य सुरक्षा निर्देशिका अनुसारको सबै मापदण्ड पूरा गरेर सेवा सञ्चालनमा ल्याउनका लागि सरकारले सहज वातावरण कायम गर्न आवश्यक रहेको  बताउँदै उनले भने, 'यो अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नैपर्छ र अहिले व्यवसाय नै प्रभावित हुनु स्वभाविक हो। हामीले सावधानी अपनाएर सेवा दिए वापत सरकारलाई ट्याक्स पनि तिर्दै आएका छौं। राज्यले हाम्रो हितका लागि पनि सोच्ने बेला आएको छ।'