नागढुंगा-मुग्लिन सडकको बिस्तार अघि बढ्दै, २६ पुलसहितको सडक पाँच वर्षभित्र सक्ने लक्ष्य

रासस
२०७८ बैशाख ६ गते १६:१६ | Apr 19, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। पूर्व–पश्चिम राजमार्गलाई विस्तार गर्ने सरकारको योजनाअनुसार नागढुंगा–मुग्लिन सडक बिस्तार अघि बढाइने भएको छ। यसअघि मुग्लिन–नारायणगढ सडक विस्तार गरिएकामा आगामी आर्थिक वर्षदेखि नागढुंगा–मुग्लिन बिस्तार गर्ने तयारी अघि बढाइएको हो। सो सडक निर्माण शुरु भएको पाँच वर्षमा पूरा गर्ने लक्ष्य लिइएको छ।

सडकको लम्बाइ ९२ किलोमिटर छ। विश्व बैंकको सहुलियतपूर्ण ऋणमा सडक विस्तारको काम अघि बढाउन लागिएको हो। उक्त खण्डमा विस्तारको काम तीन खण्ड गरेर अघि बढाइने नागढुंगा–मुग्लिन सडक योजनाले जनाएको छ। तीन खण्डमा नारायणगढ–नौबिसे, नौबिसे–मलेखु र मलेखु–मुग्लिन गरेर विस्तार गरिने छ।

तीन खण्डमध्ये नागढुंगा–नौबिसे र नौबिसे–मलेखु खण्डको प्रारम्भिक अध्ययन सकिएको योजना प्रमुख अमृतमणि रिमालले बताए। उनका अनुसार सो खण्डको मूल्यांकन सकिएर विश्व बैंकमा स्वीकृतिका लागि पठाइएको छ। तीन खण्डमा आगामी आर्थिक वर्षमा ठेक्का प्रक्रियामा जाने उनको भनाइ छ।

उनले भने 'आगामी आवमा ठेक्कामा गएर दसैंसँगै निर्माण शुरु हुनेछ।' विस्तारका लागि ठेक्का प्रक्रियामा जानु पहिले सडकको अधिकार क्षेत्र खाली गरिएको प्रमुख रिमालले बताए। सो खण्डमा अहिले रुख र खम्बा सार्न प्रक्रिया अघि बढाइएको छ। त्यस्तै पुल निर्माण गर्ने स्थानमा जग्गाको मुआब्जाका लागि समेत प्रक्रिया थालिएको उनले जानकारी दिए।

सो खण्डमा २६ पुल निर्माण हुनेछ। सडक कम्तीमा ११ मिटर चौडाइ हुने बताइएको छ। मुग्लिन–नारायणगढ खण्डमा जस्तै यो खण्डमा पनि अहिले भएका पुल त्यहीँ छाडेर त्यसको आसपासमा नयाँ पुल निर्माण गर्न लागिएको छ। सडकको अधिकार क्षेत्रमा व्यक्तिगत सम्पत्ति नभएकाले निर्माणस्थल खाली गर्न समस्या नहुने उनको भनाइ छ।

'सडकको केन्द्रबाट १५/१५ मिटर लिँदा ठूलो समस्या हुने छैन,' उनले भने। सडक निर्माणका लागि वातावरणीय अध्ययन गर्न प्रक्रिया अघि बढाइएको भन्दै उनले सम्बन्धित डिभिजन कार्यालयलाई पत्राचार गरेर प्रक्रिया थालिएको जानकारी दिए।

उनका अनुसार ती कार्यालयबाट स्वीकृति भने आइसकेको छैन। काठमाडौं उपत्यकाबाट देशका पश्चिमतर्फ जाने सवारी साधन सबैभन्दा बढी गुड्ने भएकाले नागढुंगा–मुग्लिन सडकमा सवारी चाप धेरै हुने गरेको छ। वैकल्पिक सडकबाट सवारी साधनलाई पठाएर निर्माण गर्दा समयमै काम पूरा गर्न सकिन्छ। मुग्लिन–गल्छी खण्डसम्म वैकल्पिक सडक नभएकाले सोही सडकमा सवारी साधनलाई सञ्चालन गरेर सडक निर्माण गर्नुपर्ने उनको भनाइ छ।

यो खण्डमा भित्तामा एक लेन कटिङ गरेर एकातिरबाट सवारी साधन जान दिने र अर्को लेनमा निर्माण अघि बढाइने योजनाले जनाएको छ। गल्छीबाट नागढुंगासम्म भने वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ। सो सडकका विकल्पका रूपमा गल्छी–लामिडाँडा–भीमढुंगा र सीतापाइला–धार्के विकल्पमा प्रयोग गर्न सकिन्छ। पहिले ६/७ मिटर चौडाइ रहेकामा अहिले सडकलाई ११ मिटर हुने गरी विस्तार गर्न लागिएको हो। पहिलेभन्दा झण्डै दोब्बर चौडाइको सडक भएपछि सो खण्डमा सवारी जामको समस्या हल हुने आशा गरिएको छ। काठमाडौं उपत्यकाबाट बाहिरिने विभिन्न नाकामध्ये सबैभन्दा बढी सडक जाम यही सडकमा हुने गर्छ।

सरकारले नागढुंगा–सिस्नेखोला खण्डमा सुरुङमार्ग निर्माण अघि बढाइरहेको छ। नागढुंगा–मुग्लिन सडक सम्पन्न भएपछि काठमाडौं भित्रने वा काठमाडौंबाट बाहिर जाने सवारी साधन सजिलै आउजाउ गर्न सक्नेछन्। यसअघि ३६ किमी लम्बाइको मुग्लिन–नारायणगढ सडक सम्पन्न भइसकेको छ। सो खण्डमा पुल निर्माण अघि बढिरहेको छ। उक्त खण्डमा चट्टान भएका ठाउँमा बाहेक चौडाइ ११ मिटर छ। सडक कम्तीमा नौ मिटरदेखि बढीमा ११ मिटरसम्म चौडा बनाइएको योजनाले जनाएको छ।