‘सरकारले जीडीपीको १ प्रतिशत रिसर्च र इनोभेसनमा छुट्याउनु पर्छ’, महावीर पुन

बिजमाण्डू
२०७८ बैशाख ६ गते १०:१२ | Apr 19, 2021
‘सरकारले जीडीपीको १ प्रतिशत रिसर्च र इनोभेसनमा छुट्याउनु पर्छ’, महावीर पुन


Tata
GBIME
Nepal Life

विराटनगर। कर्मक्षेत्रमा उत्रिएर सक्रियताका साथ मैले काम गरेको ३० वर्ष भएछ। यस बीचमा २० वर्ष त म गाउँ गाउँमात्र डुलेँ। धेरै गाउँ र गाउँलेको सेवा गरेँ। समाजसेवा निकै गरियो। नेपालका धेरै गाउँहरूमा दुई दशक बिताउँदा रमाइलो अनुभव भयो। 

तर पछि मैले के बोध गरेँ भने यसरी यसरी गाउँ गाउँ डुलेर समाजसेवा गर्दैमा देश समृद्ध हुन सक्तैन। किनभने हरेक गाउँबाट ५० देखि ७० प्रतिशत युवा रोजगारीका लागि विदेश गएका छन्। 

उनीहरू किन विदेसिए त ? रोजगारीका लागि।
युवाहरू रोजगारी खोज्दै विदेश गएका छन्, म भने नेपालमै केही गरौं भनेर विदेशबाट नेपाल आएको छु। मलाई लाग्यो, यो वैदेशिक रोजगारीलाई नियन्त्रण गर्न नेपालमै रोजगारीका अवसर बढाउनु पर्छ। अधिकाधिक रोजगारी सृजना गर्न उद्योगधन्धाको विकास गर्नै पर्ने रहेछ। यसका लागि विदेशमा ‘रिसर्च’ र ‘इनोभेसन’ मा मन फुकाएर खर्च गर्दा रहेछन्। यसपछि म पनि नेपालमै ‘रिसर्च’ र ‘इनोभेसन’ का कामहरू सुरु गरौँ भनेर कस्सिएँ।

गाउँ गाउँ डुलेपछि थाहा भयो, नेपालमा ‘रिसर्च’ र ‘इनोभेसन’ पटक्कै रहेनछ। विभिन्न विश्वविद्यालयले र केही सरकारी निकायले ‘रिसर्च’ र ‘इनोभेसन’ का लागि बजेट छुट्याउँदा रहेछन्। अनि विदेशबाट एक–दुई विशेषज्ञ ल्यायो, सेमिनार गर्‍यो र बजेट सक्यो गर्दा रहेछन्। ‘रिसर्च’ र ‘इनोभेसन’को पढाइ पनि अलिअलि हुँदो रहेछ तर काम पटक्कै हुँदो रहेनछ।

यो सबै देखेर, बुझेर ममा वैराग्य र हतोत्साह उत्पन्न भएन। बरु शान्त पोखरीमा एक ढुंगा हानेर तरंग सृजना गर्न मन लाग्यो । त्यसै कारणले मैले राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेँ। अंग्रेजीमा यसलाई नेसनल इनोभेसन सेन्टरको नाम दिएको छु।
त्यसो त, इनोभेसनको अर्थ आविष्कार हुँदै होइन। तर शब्दकोशमा इनोभेसनको नेपाली शब्द अलि जटिल लाग्यो। इनोभेसनको खास नेपाली अनुवाद नवप्रवर्तन हुँदो रहेछ। यो शब्द धेरै प्रचलनमा छैन। नवप्रवर्तन केन्द्र भन्ने नाम राख्ता साथीभाइ झुक्किएलान् जस्तो लाग्यो। त्यसैले हामीले सल्लाह गरेर आविष्कार केन्द्र भन्ने नाम राखेका हौँ।

त्यसोत, हामीले आविष्कार नगर्ने भन्ने चाहिँ होइन। तर आविष्कार कुन समयमा कहिले हुन्छ, थाहा छैन। यसका लागि समय लाग्छ। यो अत्यन्त जटिल र ढिलो प्रक्रिया हो। हाम्रो आविष्कार केन्द्रमा हामी ६ जना बोर्ड मेम्बर छौं।

यो केन्द्रमा आएर देशका प्रतिभावान्, सृजनशील र मेहनती मानिसले इनोभेसनको काम गर्न सक्नुहुन्छ। हामी उहाँहरूलाई सपोर्ट गर्छौं। हामीले प्रतिभावान्, सृजनशील र मेहनतीलाई प्लेटफर्म उपलब्ध गराउने मात्र हो। 
हामी कसरी सपोर्ट गर्छौं भने पहिले त इनोभेसनका लागि रुचि राखेर हामीसित सम्पर्क गर्नेको पहिचान गर्छौं। प्रतिभावान् मात्र भएर पुग्दैन सृजनशील पनि हुनुपर्‍यो, अनि आफूभित्रको प्रतिभा र सृजनशीलतालाई कर्ममा उतार्न सक्ने परिश्रमी पनि। नभए गफ मात्र गर्नेको केही काम छैन। 

हामीले यस्ता गुण भएका व्यक्तिलाई भेट्टाउन र खोज्न प्रचारप्रसार गर्नुपर्ला भन्ने सोचेका थियौँ। तर उहाँहरू आफैँ आउन थाल्नुभयो।
म यहाँ विराटनगरमा आएको आज ५ दिन भयो। मैले यहाँ  आउनेबित्तिकै मेरो फेसबुकमा म यो होटलमा बसेको हुन्छु, कसैलाई नयाँ आइडिया सुनाउन र छलफल गर्ने इच्छा भए सम्पर्क गर्नुहोला भनेर स्टाटस लेखेँ।

यसपछि मसित दिनभरि होटलमा भेट्ने युवाको भीड लाग्यो। झापा बिर्तामोडका एक जना साथी स्मार्टफोनको आइडिया लिएर आउनुभयो।
मोरङका अर्का भाइले जियो पोलिमर सिमेन्टको विकास गर्न सकिने कुरा सुनाउनु भयो।
अर्को साथीले अर्गानिक खेतीमा प्रयोग गरिने सामग्रीको कसरी विकास गर्ने भन्ने विषयमा छलफल गर्नुभयो। एक भाइले प्रचारप्रसारका लागि धरान बोलाउनुभयो।

हामी कसैको पनि आइडियालाई कति बेला स्वीकार गर्छौं भने उसको आइडियाले ‘रिसर्च’ र ‘इनोभेसन’ गरेपछि उत्पादित वस्तुको बजारीकरण सफल हुनसक्नु पर्‍यो। जुनसुकै विषयको ‘रिसर्च’ र ‘इनोभेसन’ पछिको उत्पादन होस्, त्यो बजारमा सफल हुनपर्‍यो। किनभने ८० प्रतिशतभन्दा बढी रिसर्च त विफल नै हुन्छन्। त्यसैले हामी उत्पादनको बजारीकरण सफल हुन्छ भन्ने टुंगोमा पुगेपछि मात्र सपोर्ट गर्छौं। 
यसरी गरिने सपोर्टका चार खुड्किला छन्। पहिलो त, ठाउँ दिनुपर्‍यो। दोस्रो ‘रिसर्च’ र ‘इनोभेसन’का लागि आवश्यक उपकरण, तेस्रो आवश्यक सामग्री र चौथो परामर्श।

कुनै पनि विषयमा ‘रिसर्च’ र ‘इनोभेसन’का लागि हामीले निर्णय गरेपछि जेजति खर्च लाग्छ, त्यसमा हामी कन्जुस्याइँ गर्दैनौं। किनकि यो कस्तो विधा हो भने यसमा खर्चको सीमा तोक्नेबित्तिकै प्रोजेक्ट विफल हुनसक्छ।

‘रिसर्च’ र ‘इनोभेसन’ सफल भयो भने हामी उत्पादित वस्तुको बजार परीक्षण गर्छौं। जसले ‘रिसर्च’ र ‘इनोभेसन’ गरेर नयाँ वस्तुको खोज गरेको हुन्छ, त्यो वस्तुको सम्पत्तिको अधिकार पनि उसैमा हुन्छ। प्रोपर्टी राइट पनि हाम्रो केन्द्रले लिँदैन। अनि ‘रिसर्च’ र ‘इनोभेसन’ गर्नेलाई हामी लगानीकर्ता र सम्बन्धित उद्योगसित जोडिदिने काम पनि गर्छौं। हामी रिसर्च गर्नेलाई यसरी उद्यमशील नागरिक बनाएर पठाउँछौं।
इनोभेसन सेन्टरलाई उद्योगसित जोड्ने कुरा मैले जापान, कोरिया, जर्मनीजस्ता धेरै विकसित मुलुकमा देखेँ। ती मुलुकमा कुनै पनि उद्योगले कुनै विषयमा रिसर्च गर्नुपर्‍यो भने सम्बन्धित प्राध्यापकको सहयोग लिँदा रहेछन्। यस्ता प्राज्ञिक व्यक्तिको परामर्शमा शोधकर्ताले शोध गर्दा रहेछन्।

नेपालको औद्योगिक शहर विराटनगरमा पनि मनमोहन मेमोरियल पोलिटेक्निक (एमएमपी)ले अब विश्वविद्यालयमा रूपान्तर भइसकेको छ। मलाई एमएमपीले रिसर्च र इनोभेसनका लागि कुरा गरेको एक वर्ष भइसक्यो। मैले अबदेखि महिनाको एक हप्ता समय एमएमपीलाई दिन्छु भनेर वचन दिएको छु। यसले ‘रिसर्च’ र ‘इनोभेसन’ गर्ने विद्यार्थीलाई सहयोग पुग्छ।

मेरो चाहना छ, सबै मिलेर एमएमपीमा रिसर्च र इनोभेसनका कामहरू बढाऊँ। यहाँ रिसर्च र इनोभेसनकै लागि भनेर ६ हजार वर्गफिटको ठाउँ छुट्याइएको रहेछ। अब ठाउँ त भयो। ठाउँ मात्र भएर पुग्दैन, काम पनि हुनुपर्छ। केवल राजनीतिक अखडा मात्र बनाइयो भने काम हुँदैन।
दोस्रो कुरा, यही मोरङमा पूर्वाञ्चल विश्वविद्यालय छ। यसमा आबद्ध धेरै इन्जिनियरिङ र अन्य प्राविधिक क्याम्पसहरू छन्। पूर्वाञ्चलले पनि रिसर्च र इनोभेसनका क्षेत्रमा धेरै काम गर्नुपर्छ।

केन्द्रको स्थापनापछि मैले साधन स्रोतका लागि मेहनत गरेँ। म कुनै नोकरी, व्यवसाय र उद्योग गर्दिन। जीवनको उर्वर समय गाउँमा सेवा गरेरै बिताएँ। त्यसैले मसित केही थिएन। तैपनि मैले प्रयास सुरु गरेपछि १२ करोड रुपैयाँ जम्मा भयो। तर दुर्भाग्य, यही बीचमा गत वर्षदेखि कोभिडको महामारी सुरु भयो।

महामारी चर्कन थालेपछि हामीले नियन्त्रणका लागि विभिन्न १३ प्रकारका सामग्रीको उत्पादन गर्‍यौं र गाउँ गाउँमा वितरण गर्‍यौं। यसमा ५ करोड खर्च भयो। अहिले ७ करोड जम्मा छ।

म विराटनगरका उद्योगपति मित्रहरूलाई के अनुरोध गर्छु भने तपाईंहरूले कुल नाफाको १ प्रतिशत रकम सीएसआरमा खर्च गर्नुपर्ने कानुनी प्रावधान छ। यो एक प्रतिशत सबै रिसर्च र इनोभेसनमा दिनुहोस् म भन्दिन। किनभने तपाईंहरूले शिक्षा, स्वास्थ्य, दैवीप्रकोप, मठमन्दिर सबैतिर दिनुपर्ने हुन्छ। त्यसैले म त्यो एक प्रतिशतबाट १० देखि १५ प्रतिशत अंश रिसर्च र इनोभेसनका लागि छुट्याइदिनुहुन अनुरोध गर्दछु। यसो गर्न सकियो भने आगामी ५ वर्षभित्रैमा हामीले ठूला–ठूला काम गर्न सक्छौं भन्ने विश्वास मैले लिएको छु।

मूल कुरा हामीले अब हाते काम (म्यानुअल)बाट अर्ध स्वचालित (सेमी अटोमेसन) प्रविधिमा जानैपर्छ। नभए उत्पादनमा वृद्धि हुन र लागत कम हुन सक्तैन। यसका लागि रिसर्च र इनोभेसन अति जरुरी पक्ष हो।

त्रिभुवन विश्वविद्यालयले हामीलाई ठाउँ उपलब्ध गराएपछि हामी ३२ प्रकारका आइडियामा काम गर्न थाल्यौं। काम सुरु गर्न मात्र लागेका थियौं, कोभिडको महामारी आइलाग्यो। अनि हामी महामारी नियन्त्रणका लागि १३ वटा वस्तुका उत्पादनमा लाग्यौं। हामीले छानेका ३२ वटा आइडियामा २४ वटालाई फेरि छान्यौं, जसमध्ये ८ वटा काम अन्तिम चरणमा पुगेका छन्।

जस्तै, हामीले बालबालिकाको अस्पतालका लागि चाहिने बेबी वार्मरको विकास गरेका छौं। २२ वटा यस्ता बेबी वार्मर हामीले देशभरिका विभिन्न अस्पताललाई दिइसकेका छौं। यसको परिणाम राम्रो आएको छ। माग उच्च छ। तर हामी परीक्षणकै चरणमा भएकाले भनेजति दिइरहेका छैनौं।

त्यस्तै हामीले कफी रोस्ट गर्ने उपकरण बनाएर त्यसको बिक्री सुरु गरेका छौं। कुनै उपकरण १५ लाख र कुनै ८ लाखमा बिक्री भइरहेका छन्। यो उपकरण अन्तर्राष्ट्रिय स्तरको छ भनेर विज्ञहरूले भन्नुभएको छ। त्यसैले हामीले यसलाई अन्तर्राष्ट्रिय बजारमा पठाउन सक्छौं।
हामीले नयाँ प्रकारको सोलार ड्रायरको पनि विकास गरेका छौं। यसमा दिउँसो सौर्य शक्ति र राति बिजुलीबाट काम गर्न सकिन्छ। यस्तो ड्रायर हामीले २२ वटा बिक्री गरिसक्यौं।

चितवनस्थित रामपुर कृषि क्याम्पसका साथीहरूले इन्डोनेसियाबाट ब्ल्याक सोल्जर फ्लाई (एक प्रकारको झिँगा) ल्याएर त्यसको लार्भा निकालेर त्यसलाई कुखुरा र माछाको दानामा मिसाउनु भयो। यो अध्ययन सफल भयो। हामीले १६ जिल्लाका वास्तविक ४० किसानलाई बोलाएर दुई दिने तालिम दिएर दाना उपलब्ध गरायौं।

अर्का एक मित्रले विभिन्न रुटमा चल्ने बसका टिकट एकै ठाउँबाट काट्न सकिने प्रविधिको विकास गर्नुभएको छ। उहाँले ‘ओके जर्नी’ नामको कम्पनी खोलेर भर्खरै काम सुरु भएको हो। यो काम एक वर्षअघि नै सुरु हुन्थ्यो, कोभिडले दिएन।
त्यस्तै पुरानो ट्रकको चेसिसलाई हामीले माहुरीको घार ओसार्ने ट्रलीमा रूपान्तर गरेका छौं।

हामीले इलेक्ट्रिक हेल्थ रेकर्डिङ सिस्टम बनाएर दुई वटा अस्पतालमा दिइसकेका छौं। यसबाहेक पहाडमा काम लाग्ने हाते ट्रयाक्टरको पनि विकास गरेका छौं।

वास्तवमा ‘रिसर्च’ र ‘इनोभेसन’ भनेको अत्यन्त खर्चिलो कुरा हो। तपाईं ठूला–ठूला उद्योगपतिहरू पनि यसमा खर्च गर्न हिचकिचाउनु हुन्छ। मजस्तो फिरन्ते मान्छेले त झन् के गर्न सक्छ ? खासमा यो काम राज्यले गर्नुपर्छ।
मैले ५ वर्षको समय त सिंहदरबारमै हल्लिएर बिताएँ। सिंहदरबार गयो, चिया–कफी खायो, भेटघाट गर्‍यो, गफियो। 

दक्षिण कोरियाले आफ्नो कुल जीडीपीको ४.५ प्रतिशत, इजरायलले ४.७, भारतले २.६ प्रतिशत हिस्सा रिसर्च र इनोभेसनका लागि छुट्याउँदा रहेछन्। हाम्रो सरकारले एक प्रतिशत मात्रै छुट्यायो भने पनि पुग्छ। तर यस सँगसँगै सरकारी ऐन र नियमावलीमा पनि सुधार गर्नु आवश्यक छ।

रिसर्च र इनोभेसनका लागि संघीय र प्रदेश सरकारले केही न केही बजेट छुट्याउने गरेका छन्। तर सार्वजनिक खरिद ऐन लगायतका सरकारी कानुन र नियमावली बाधक भइदिन्छन्। त्यसैले सुधारको खाँचो छ।

म फेरि पनि भन्छु, नेपाल सरकारले आफ्नो कुल जीडीपीको एक प्रतिशत मात्रै रिसर्च र इनोभेसनमा छुट्याउने हो भने ह्वात्तै काम अगाडि बढाउन सकिन्छ। 

हाम्रो कम्पनीमा जोसुकैले पनि नयाँ आइडिया ल्याएर काम गर्न सक्छ। हामी उसको शैक्षिक डिग्री कति छ भनेर हेर्दैनौँ। कुनै विषयमा ज्ञान र सृजनशीलता छ र ऊ मेहनती पनि छ भने औपचारिक शिक्षा नगरेको व्यक्तिले पनि हाम्रा कम्पनीमा रिसर्च र इनोभेसनको काम गर्न सक्छ। हामीले उसको प्रगतिमा मात्र ध्यान दिने हो। 
(राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले उद्योग संगठन मोरङमा आइतबार गरेको सम्बोधनको सम्पादित अंश)