आपूर्ति बढेपछि व्यवसायीले ६ दिनमै पाउन थाले सुन, बढेको दैनिक कोटाले केही सहजः महासंघ

बिजमाण्डू
२०७८ बैशाख ४ गते ०९:१३ | Apr 17, 2021
आपूर्ति बढेपछि व्यवसायीले ६ दिनमै पाउन थाले सुन, बढेको दैनिक कोटाले केही सहजः महासंघ

Tata
GBIME
Nepal Life

काठमाडौं । पछिल्लो समय सुनचाँदी व्यवसायीले आयात गरेको ६ दिनमै सुन पाउन थालेका छन्। 

गत वर्ष कोभिड सुरु भएपछि सरकारले सुनको कोटा घटाएको थियो। कोटा घटेपछि व्यवसायीहरुले दैनिक १० केजी सुनका लागि १२ दिनसम्म पर्खने गरेका थिए।

गत सोमबारदेखि भने व्यवसायीहरुले आयात गरेको ६ दिनमा २० केजी सुन लिन थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए। 

सुनको कोटा १० केजीबाट २० केजी पुगेपछि आपृर्तिको समय पनि कम भएको हो। पहिले आयात गरेको ५ दिनभित्र बैंकले व्यवसायीहरुलाई वितरण गर्ने गरेको थियो। अहिले पनि ५ दिनभित्र दिनु पर्ने भए पनि ६ दिनमा दिइरहेको बज्राचार्यले बताए। 

कोभिडको पछि बैंकले दैनिक रूपमा १० केजी सुन वितरण गरिरहेको थियो। उक्त सुन लिनका लागि सहज नभएको व्यवसायीहरुले बताएका थिए। अहिले कोटा बढेर २० केजी सुन आएपछि सुन खरिद गर्न समस्या नभएको सुनचाँदी महासंघले जनाएको छ। बजारको माग अनुसार व्यवसायीहरुले बैंकसँग खरिद गर्न सक्ने भएका छन्। 

गत मंसिरदेखि फिर्ता सुन आउन कम भएपछि बजारमा अभाव भइररहेको थियो। थप १० केजी सुन आपूर्ति भएपछि केही राहत भएको छ।

बिहेको सिजन सुरु भएकाले माग आइरहेको छ। यति सुनले पुग्ने अवस्था छैन। गत सातादेखि सुनको मूल्य बढ्ने क्रममा छ। यसले गर्दा पनि बजारमा माग २० केजी सुनले केहीमात्र पूरा गर्ने अनुमान छ। सुन आपूर्ति सहज भएका कारण कालिगढहरुले काम पाउन थालेका छन्। 

हाल सुनको मूल्य बढे पनि उपभोक्ताबाट फिर्ता सुन निकै कम आउने  अनुमान गरेको महासंघले जनाएको छ। गत वर्ष कोभिडको समयमै फिर्ता सुन बढी आएको थियो। बजारमा माग बढी भए थप १० केजी सुन आयात गर्न माग गर्ने व्यवसायीले बताएका छन्।