चालकदललाई क्वारेन्टिनमा कडाइले क्याथे प्यासिफिकको उडान प्रभावित, ९२ वटा जहाज हटाउँदै

बिजमाण्डू
२०७८ बैशाख ३ गते १६:३० | Apr 16, 2021
चालकदललाई क्वारेन्टिनमा कडाइले क्याथे प्यासिफिकको उडान प्रभावित, ९२ वटा जहाज हटाउँदै

Tata
GBIME
Nepal Life

चारकदलका लागि गरिएको क्वारेन्टाइनको कडा व्यवस्था लागुसँगै हङकङको वायुसेवा कम्पनी क्याथे प्यासिफिकको उडान नराम्ररी प्रभावित भएको छ । चालकदलको क्वारेन्टिन व्यवस्थाका कारण नै कम्पनीको एयर ट्राफिक दर गत महिना (मार्चमा) उल्लेख्य रुपमा घटेको कम्पनीले जनाएको छ।  

गत वर्षको समान अवधिको तुलनामा मार्चमा कम्पनीको उडान संख्या ९४  प्रतिशतले घटेको बताइएको छ।  कम्पनीका अनुसार, मार्च महिनाभरमा कम्पनीले जम्मा साढे १८ हजार यात्रुलाई मात्र सेवा दिएको छ। हाल १८ वटा गन्तव्यमा नियमित उडान गर्दै आएको कम्पनीले दैनिक सेवा दिँदै आएको यात्रुको संख्या जम्मा ६ सय हाराहारीमा सीमित भएको कम्पनीले जनाएको छ।

'चालकदलका लागि लागु गरिएको कडा स्वास्थ्य सुरक्षा मापदण्डका कारण हाम्रो व्यवसायिक यात्रु उडानमा निरन्तर चुनौती आइरहेको छ। हङकङमा क्याविन क्रु प्रावधान निकै कडा छ। त्यसैकारण मार्चमा १८ वटा गन्तव्यमा मात्र उडान गर्न सक्यौं,' क्याथे प्यासिफिक ग्रुपका कस्टमर कमर्सियल चिफ रोनाल्ड लामले भनेका छन्। 

हङकङले कोभिड-१९ को पुनः बढ्दो संक्रमणलाई मध्यनजर गर्दै जारी गरेको स्वास्थ्य सुरक्षा नियमन प्रावधानले कम्पनीको क्षमतामा प्रभाव पर्ने जनाइएको छ। 

चालकदलका लागि क्वारेन्टिन व्यवस्था लागू गरेसँगै कम्पनीले प्रत्येक समूहलाई २१ दिन बिराएर पालोपालो गरी काममा परिचालन गर्दै आएको जनाएको छ।

कम्पनीमा कार्यरत चालकदलले ४९ दिनको अवधिमा चक्रिय प्रणाली अन्तर्गत काम  गर्दै आएका छन्।
 

९२ जहाज हटाउने तयारी
कोभिड प्रभावले यात्रु माग हुँदै जानुका साथै उडान घट्दै गएपछि हवाई व्यवसायमा असर परेकाले ९२ वटा जहाज हटाउने तयारीमा रहेको क्याथे प्यासिफिकले जनाएको छ । 

यात्रु माग कम भएकाले कम्पनीले आफूसँग भएका जहाजमध्ये ४६ प्रतिशत (९८ वटा) उडान सेवाबाट लामो समयका लागि हटाउने घोषणा गत मार्चमा नै गरिसकेको छ। उक्त जहाजहरु अष्ट्रेलिया, स्पेन लगायतका मुलुकमा लामो समयका लागि भण्डारणका लागि पठाउन लागेको क्याथे प्यासिफिकले जनाएको छ। 

'अहिलेको महामारीले कम्पनी तथा यसको व्यापारमा परेको समस्या कसरी समाधान हुने भन्ने टुंगो छैन। हाम्रो कम्पनी सेवा संचालनको चुनौतीपूर्ण अवस्थामा छ। यसका बाबजुद हामी दिगो व्यवसायिक योजना अघि बढाउनका लागि प्रतिबद्ध छौं,' कम्पनीका अध्यक्ष प्याट्रिक हेलिले भनेका छन् ।