विद्युत चुहावट दोहोरो अंकमा, गत वर्षभन्दा बढ्यो, घटाउन किन सकेन प्राधिकरणले?

बिजमाण्डू
२०७८ बैशाख ३ गते १५:३६ | Apr 16, 2021
विद्युत चुहावट दोहोरो अंकमा, गत वर्षभन्दा बढ्यो, घटाउन किन सकेन प्राधिकरणले?


Tata
GBIME
Nepal Life

काठमाडौं। प्रणालीको चुहावट नियन्त्रण गर्दा वितरण प्रणालीमा सन्तुलनसँगै घाटा कम गर्न सकिने भएकाले यो नेपाल विद्युत प्राधिकरणको कार्ययोजना भित्रै पर्छ। तर कुल विद्युतमध्ये १० प्रतिशतभन्दा बढी भइरहेको चुहावटलाई कम गर्न नसक्दा प्राधिकरणको नोक्सानी बढेको छ।

अघिल्लो पटक चुहावट नियन्त्रणका लागि प्रादेशिक कार्यालय र वितरण केन्द्रहरुसँग कार्यसम्पादन सम्झौतालाई तीव्रता दिएको प्राधिकरण व्यवस्थापन यो वर्ष भने सुस्त देखिएको छ। चुहावट बढेको छ तर नियन्त्रणका प्रभावकारी कदमका लागि व्यवस्थापनले तदारुकता देखाउन नसकेको तथ्यांकले पुष्टि गरेको छ।

प्राधिकरणको तथ्यांक अनुसार गत वर्षको तुलनामा चुहावट बढेको देखिन्छ। चालु आर्थिक वर्षको फागुनमा १०.८२ प्रतिशत विद्युत चुहावट भएको पाइएको छ। जुन गत वर्षको फागुनको तुलनामा १.६४ प्रतिशत बढी हो। गत वर्षको फागुनमा चुहावट ९.१८ प्रतिशत थियो।

गत आव २०७६/७७ को पुसमा चुहावट ९.८९ प्रतिशत थियो। गत पुसमा बढेर ११.७६ प्रतिशत पुगेको छ। यो गत वर्षको तुलनामा १.८७ प्रतिशत बढी हो। गत वर्षको माघमा ९.५० प्रतिशत थियो। यो वर्षको माघमा ११.५५ प्रतिशत पुगेको छ। जुन २.०५ प्रतिशत बढी हो।

सबैभन्दा बढी चुहावट कर्णाली प्रादेशिक कार्यालयमा देखिन्छ। त्यहाँ सबैभन्दा कम विद्युत खपत हुने भएकाले सानो परिमाणमा चुहावट भए प्रतिशतमा धेरै देखिन्छ।

गत वर्षको फागुनमा १४.४१ प्रतिशत रहेको चुहावट चालु आवको फागुनमा १६.३५ प्रतिशत पुगेको छ। यो गत वर्षभन्दा १.९४ प्रतिशत बढी हो। ठूलो मात्रामा चुहावट जस्तो देखिए पनि खपत कम भएकाले प्राधिकरणलाई धेरै असर नगर्ने योजना तथा प्राविधिक सेवा विभाग प्रमुख नारायणकुमार प्रसाइले दाबी गरे।

सोही प्रदेशमा चालु वर्षको पुसमा ११.२६ प्रतिशत (गत वर्ष ८.०३ प्रतिशत) देखिएको छ। माघ ११.२२ प्रतिशत ( गत वर्ष ७.४३ प्रतिशत) चुहावट छ। दुवै महिना चुहावट बढेको छ।

सबैभन्दा कम चुहावट वागमती प्रादेशिक कार्यालयमा देखिएको छ। चालु आवको फागुनमा ६.६७ प्रतिशत (गत वर्ष ६.५८ प्रतिशत) छ। जुन गत वर्षको भन्दा ०.९ प्रतिशत बढी हो। प्रदेशकै हेटौंडा डिभिजनमा फागुनमा ७.८८ प्रतिशत (गत वर्ष ५.७३) छ। यो प्रदेशमा चालु वर्षको पुसमा ७.९२ प्रतिशत (गत वर्ष ७.०६) छ। माघमा ७.९१ प्रतिशत (गत वर्ष ६.९५) छ।

प्रदेश २ मा फागुनमा १५.३३ प्रतिशत (गत वर्ष १३.४२) चुहावट देखिएको छ। जुन गत वर्षको भन्दा १.९१ प्रतिशत बढी हो। यहाँ ठूलो परिमाणमा विद्युत खपत हुने र चुहावट पनि बढी भएकाले यसको असर भने प्राधिकरणलाई पर्ने प्रसाइले बताए। चालु वर्षको पुसमा १५.९७ प्रतिशत (गत वर्ष १४.९०) थियो। माघमा १६.६३ (गत वर्ष १३.९८) प्रतिशत छ।

लुम्बिनी प्रदेशमा फागुनमा १३.२३ (गत वर्ष ९.५४) चुहावट छ। जुन गत वर्षभन्दा ३.६९ प्रतिशत बढी हो। सोही प्रदेशको नेपालगञ्ज डिभिजनमा करिब ८.८६ (गत वर्ष ९.०६) छ। चालु वर्षको पुसमा १३.७० (गत वर्ष ९.९३) थियो। माघमा १४.०६ ( गत वर्ष ९.५८) छ।

गण्डकी प्रदेशमा प्रदेशमा चालु वर्षको फागुनमा ९.६९ (गत वर्ष ८.०४) प्रतिशत छ। जुन गत वर्षभन्दा १.६५ प्रतिशत बढी हो। जहाँ चालु वर्षको पुसमा १०.४८ (गत वर्ष ८.७५) प्रतिशत छ। माघमा १०.४७ (गत वर्ष ८.२६) प्रतिशत छ।

प्रदेश १ मा फागुनमा ९.७६ (गत वर्ष ९.७६) प्रतिशत चुहावट छ। यो प्रदेशमा चुहावट घटबढ देखिदैन। सोही प्रदेशमा पुसमा ११.२६ ( गत वर्ष ११.६४) प्रतिशत थियो। माघमा ११.३५ (गत वर्ष १०.४७) प्रतिशत चुहावट छ।

सुदूरपश्चिम प्रदेशमा फागुनमा ११.०४ (गत वर्ष ६.६४) प्रतिशत छ। जुन गत वर्षको भन्दा ४.४ प्रतिशत बढी हो। पुसमा ११.२२ (गत वर्ष ८.०३) प्रतिशत छ। माघमा ११.२६ (गत वर्ष ७.४३) प्रतिशत छ।

प्राधिकरणको आगामी असार मसान्तसम्म विद्युत चुहावट ८.५० प्रतिशत झार्ने योजना रहेको योजना तथा प्राविधिक सेवा विभाग प्रमुख प्रसाइले बताए। यसका लागि योजना बनाएर अघि बढेको उनको भनाइ छ। विद्युत चुहावट बढ्नुमा कोरोनाका कारण मिटर रिडिङका लागि घर घरमा कर्मचारी पठाउन नसक्नु पनि एक कारण रहेको जिकिर उनको छ। त्यस्तै कोरोना कारण फिल्डमा प्राधिकरणका कर्मचारीहरु जान नसक्दा केही ठाउँमा चोरीसमेत बढेको छ।

प्रदेश २ मा २०७१/७२ सम्म चुहावट अत्यधिक थियो। नियन्त्रण गर्न सक्ने अवस्था नरहेका कारण चुहावट धेरै थियो। विस्तारै नियन्त्रणमा ल्याइरहेको प्राधिकरणले जनाएको छ। वागमती प्रदेशमा चुहावट कम हुनुको पछाडि सबै ठाउँमा सहजै प्राधिकरण नियन्त्रण र पहुँच हुनु भएको प्रसाइको भनाइ छ।