कोभिड दोस्रो लहर बढेपछि टीआईएमा स्वास्थ्य सुरक्षामा थप कडाइ, उडान संख्यामा प्रभाव पर्नसक्ने

बिजमाण्डू
२०७८ बैशाख ३ गते १५:०९ | Apr 16, 2021
कोभिड दोस्रो लहर बढेपछि टीआईएमा स्वास्थ्य सुरक्षामा थप कडाइ, उडान संख्यामा प्रभाव पर्नसक्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिड-१९ को दोस्रो लहर फैलिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले स्वास्थ्य सुरक्षा अवलम्बनमा थप कडाइ गरेको छ।

पछिल्लो समय संक्रमण दर वृद्धि हुँदै गएपछि विमानस्थल कार्यालयले विभिन्न वायुसेवा  कम्पनीसँगको छलफलमा यात्रु सचेतना अभियानलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन निर्देशन दिएको छ। स्वास्थ्य सुरक्षा अवलम्बन गर्दा गर्दै पनि संक्रमण दर वृद्धि भएको अवस्थामा उडान संख्या नै घटाउनुपर्ने अवस्था पनि आउन सक्ने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए।

'यो अवस्थामा मुख्य प्राथमिकता भनेकै स्वास्थ्य सुरक्षा हो। स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेर उडान सुरु गरिएपछि यात्रुमा त्रास घटेको थियो,' उनले भने, 'आन्तरिक तर्फ उडान माग बढेपछि भिडभाड बढ्दै गएको अवस्था छ।' कोरोनाको दोस्रो लहर फैलिन सुरु भइसकेकाले अब अझ सावधानी अपनाउनु पर्ने समय आइसकेको उनले बताए।

'विमानस्थलले यो कुरालाई मध्यनजर गर्दै आफूसँग भएको स्रोतसाधनको अत्यधिक प्रयोग गर्दै संक्रमण न्यूनीकरणतर्फ लाग्न सुरु गरिसकेको छ,' उनले भने। आन्तरिक तर्फको टर्मिनल भवनमा भीड कम गर्ने उद्देश्यले यतिखेर विमानस्थलले बाहिरपट्टिको दुई सय जना क्षमताको टेन्ट सञ्चालनमा ल्याइसकेको उनले जानकारी दिए।

विमानस्थलमा कम घटाउन यतिखेर वायुसेवा कम्पनीमार्फत यात्रुलाई अनलाइनमार्फत नै सीसीएमसीद्वारा जारी गरिएको हेल्थ डिक्लेरेसा फर्म लिएर आउन सूचना जारी गरिएको उनले बताए। 'वायुसेवा कम्पनीहरुको सहकार्यमा स्वास्थ्य सुरक्षा अवलम्बन र त्यसको अनुगमनमा जोड दिएका छौं। निकट भविष्यमा संक्रमण अवस्था अनुसार सरकारका तर्फबाट केही निर्णय आएको अवस्थामा हामी त्यसको पालना गर्नेछौं,' उनले भने।  

उनका अनुसार यतिखेर आन्तरिकतर्फको उडानमा यात्रु अकुपेन्सी ९५ प्रतिशत हाराहारी छ भने अन्तर्राष्ट्रियतर्फ एक तिहाइ छ। आन्तरिकतर्फ दैनिक करिब २ सय ४० उडान र अन्तर्राष्ट्रियतर्फ दैनिक करिब ४० वटा उडान हुँदै आएको छ। 

हालको अवस्थालाई ध्यानमा राख्दै आन्तरिकतर्फ उडान सेवा दिँदै आएका बुद्ध, यती, श्री, सौर्य, सिता, तारा, समिट लगायतका वायुसेवा कम्पनीले यात्रु सचेतना सूचना जारी गर्न सुरु गरिसकेको जनाएका छन्। पहिलो लहर क्रमशः घट्दा वायुसेवाहरूले यात्रुलाई फेस शिल्ड दिन बन्द गरेका छन्। 

विमानका शौचालय प्रयोगमा बन्देज हटाइएको छैन। यात्रामा मास्क अनिवार्य नै छ। यात्रुलाई खानेकुरा बाँड्न बन्द छ। तैपनि पहिलो लहरपछि खोप लगाउन सुरु भएपछि विमान सेवा कर्मचारीहरु ढुक्क देखिएका थिए। पछिल्लोपटक पुनः सतर्कताको आह्वानपछि भने पुनः हवाई सेवा प्रदायकहरु सावधान भएका छन्।