डीडीसीको दूधमा गन्ध आउनुको कारण बोरिङको पानी, बालाजुमा फेरियो पानीको स्रोत

बिजमाण्डू
२०७८ बैशाख ३ गते १५:०५ | Apr 16, 2021
डीडीसीको दूधमा गन्ध आउनुको कारण बोरिङको पानी, बालाजुमा फेरियो पानीको स्रोत

Tata
GBIME
Nepal Life

काठमाडौं। दुग्ध विकास संस्थानले बालाजु औद्योगिक क्षेत्रमा बोरिङ गरिएको पानीले दूधमा समस्या देखिएको ठहर गर्दै पानीको स्रोत परिवर्तन गरेको छ।

पछिल्लो समय डीडीसीले प्रशोधन गरी बिक्री गर्दै आएको प्याकेटको दूध गन्हाएको भेटिएको थियो। उपभोक्ताबाट गुनासो आउन थालेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले समेत नमुना संकलन गरी परीक्षणका लागि लगेको थियो। विभागबाट समस्याको कारण खुलाएर रिपोर्ट भने दिइसकेको छैन। 

डीडीसी व्यवस्थापनले भने पानीको कारण दूधमा समस्या देखिएकाले पानीको स्रोत परिवर्तन गरेको जनाएको छ। बजारबाट दूध गन्हाएको गुनासो आएपछि संस्थानले छानबिन गर्दा पानीकै समस्या देखिएको संस्थानका महाप्रबन्धक रुद्र पौडेलले बताए। 'दूध गन्हाउनुका कारण वोरिङ गरिएको पानी भएकाले हाल पानीको स्रोत परिवर्तन गरेका छौं,' उनले भने। 

बजारबाट गुनासो आएका दिन पानीमा क्लोरिन बढी भएको तर यसबारे संस्थानमा कुनै पनि जानकारी नदिएकाले दूधमा समस्या देखिन गएको उनको भनाइ छ। त्यसलगतै संस्थानले पानीको स्रोत नै परिवर्तन गरिसकेको उनले बताए। यतिबेला संस्थानले महांकाल खानेपानी संस्थानबाटै प्रशोधित पानी ल्याउने गरेको बताएको छ। यस अघि डीडीसीले बालाजु औद्योगिक क्षेत्रबाट पानी आपूर्ति गरिरहेको थियो। 

काँचो दूध उत्पादन कम हुने सिजन भएकाले यतिबेला डीडीसीले पाउडरलाई दूध बनाउन उपयोग गरिरहेको छ। यसका लागि आवश्यक मात्रामा पानीको प्रयोग हुन्छ।  

दूधमा समस्या देखिएपछि विभागको खाद्य निरीक्षक राखेर मन्त्रालयदारा समिति गठन भएको र यसबारे छानबिनको काम भइरहेको विभागका महानिर्देशक उपेन्द्र रायले बताए। 'खास कारण के भन्ने ल्याब रिपोर्ट केही दिनमा आउँछ,' उनले भने।