काठमाडौं महानगरले सिटी मार्केटका पसलमा लगायो ताला, १ सय १२ पसलले भाडा तिरेनन्

बिजमाण्डू
२०७८ बैशाख २ गते १७:४९ | Apr 15, 2021
काठमाडौं महानगरले सिटी मार्केटका पसलमा लगायो ताला, १ सय १२ पसलले भाडा तिरेनन्

Tata
GBIME
Nepal Life

काठमाडौँ ।  सम्झौता नै नगरि पसल राखेका पसलमा काठमाडौं महानगरपालिकाले ताला लगाइदिएको छ। 

पुरानो बसपार्क नजिकै राष्ट्रिय सभागृहसँग जोडिएको सिटी मार्केटका पसलमा ताला लगाइदिएको हो। कुल १ सय १२ वटा पसलमा काठमाडौं महानगरपालिकाले ताला लगाइदिएको छ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पटक–पटक ताकेता गर्दा पनि त्यसको बेवास्ता गर्दै पसल बन्द नगरेपछि बाध्य भएर सिलबन्दी गरेको बताए।

‘लामो समयदेखि सम्झौता पनि नभएको अवस्थामा हामीले अब त्यहाँ मार्केट नचलाउने गरी हाललाई बन्द गरेका हौं,’ ज्ञवालीले भने, ‘अब त्यसलाई भत्काएर सभागृहकै एक भागका रूपमा व्यवस्थित गर्छौ।’ 

महानगरपालिका राजस्व विभाग प्रमुख डा. शिव अधिकारीले सिटी मार्केटमा व्यवसाय गर्ने व्यवसायीले २०७६ चैतसम्म व्यवसायीहरुको संघमार्फत केही बहाल बुझाए पनि त्यसपछि नबुझाएको बताए।

उनले महानगरपालिकाको खरिद विभागले आय ठेक्कामा लगाउने गरी सार्वजनिक सूचना प्रकाशित गर्दा समेत कुनै प्रस्ताव पेश नभएको बताए। पटक–पटक सूचना दिँदा पनि नहटाएपछि आज प्रहरी र नगर प्रहरीले सिल गरेको हो। पसल सिल गर्ने क्रममा व्यापारीले बिना सूचना हटाएको भन्दै होहल्ला गरेका थिए।

प्रहरीले माइकिङ गर्दा पनि नहटेपछि अवरोध गर्ने केहीलाई नियन्त्रणमा लिएको छ।