नयाँ वर्षको पहिलो कारोबार दिनमै सेयर बजारमा बन्यो नयाँ रेकर्ड, साढे आठ अर्बको सेयर किनबेच

बिजमाण्डू
२०७८ बैशाख २ गते १५:२२ | Apr 15, 2021
नयाँ वर्षको पहिलो कारोबार दिनमै सेयर बजारमा बन्यो नयाँ रेकर्ड, साढे आठ अर्बको सेयर किनबेच


Tata
GBIME
Nepal Life

काठमाडौं। नयाँ वर्ष २०७८ को पहिलो कारोबार दिन सेयर बजारले नयाँ रेकर्ड बनाएको छ। गत वर्षको अन्तिम कारोबार दिन २७०० अंक माथि पुगेर बनाएको रेकर्ड २०७८ को पहिलो कारोबार दिनमै ब्रेक भएको हो।

बिहीबार २० अंकले बढेर २७३५ बिन्दुमा पुगेको नेप्से सूचक इतिहासकै उच्च बिन्दुमा पुगेको हो।

सुरुवाति समयमा आक्रामक रूपमा सेयर खरिद बिक्री भएको बजारमा नेप्से सूचक २७५५ अंकसम्म पुगेको थियो। तर उक्त वृद्धि धेरै बेरसम्म भने स्थिर रहन सकेन।

१ बजेपछि ओरालो लागेको बजार बन्द हुँदा २० अंकको वृद्धिसहित नेप्से २७३५ बिन्दुमा बन्द भएको छ। यस अघि विभिन्न उपसमूहले उचालेको सेयर बजारमा बिहीबार बैंकिङ समूहले प्रभाव पारेको छ।

एनआइसी एसिया लघुवित्त, ज्योति लाइफ र महिला लघुवित्त बाहेक १० प्रतिशतले मूल्य वृद्धि हुने कम्पनीहरुको सेयर मूल्य २०० रुपैयाँ आसपास मात्रै रहेको छ।

बेष्ट फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, छ्याङ्दी हाइड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। 

सर्वाधिक मूल्य घट्ने कम्पनीमा भने नेशनल माइक्रोफाइनान्स, मल्टि प्रपोज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, साल्ट ट्रेडिङ, स्वाभिमान लघुवित्त र मिथिला लघुवित्तको सेयर मूल्य २/३ प्रतिशतसम्म घटेको छ।

सर्वाधिक सेयर किनबेच हुनेमा भने एनआइसी एसिया लघुवित्त, निफ्रा, एनआइसी एसिया बैंक, नबिल बैंक र नेपाल बंगलादेश बैंक रहेका छन्। निफ्रा र एनआइसी एसिया लघुवित्तको करिब ५०/५० करोड रुपैयाँको सेयर किनबेच हुँदा एनआइसी एसिया बैंकको ३२ करोड, नेपाल बंगलादेश बैंकको २४ करोड र नबिल बैंकको २३ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

त्यस्तै ग्लोबल आइएमई बैंक, कुमारी बैंक, हिमालयन डिष्टिलरी, प्रभु बैंक र मेगा बैंक सर्वाधिक कारोबार गर्ने कम्पनीको टप टेनभित्र परेका छन्। यी बैंकको १५ देखि २० करोड रुपैयाँसम्मको सेयर कारोबार भएको छ।

हाइड्रोपावर र व्यापार समूह बाहेकका सबै उपसमूह हरियो भएको बजारमा सबैभन्दा धेरै विकास बैंक समूहको सूचक ९० अंकले बढेको छ।
जीवन बीमा समूह ४५ र निर्जीवन बीमा समूह ४३ अंकले बढ्दा फाइनान्स समूह २८ र वाणिज्य बैंक समूह २३ अंकले उकालो लागेका छन्। अन्य समूहहरु समान्य मात्रै बढेका छन्। व्यापार समूह भने १०० अंकले घटेको छ।

२१८ कम्पनीको ९५ हजार कारोबारबाट एक करोड ९० लाख कित्ता सेयर ८ अर्ब ६३ करोड रुपैयाँमा किनबेच भएका छन्। ११ कम्पनीको मूल्य स्थिर रहँदा ९८ कम्पनीको मूल्य बढेको छ। बाँकी कम्पनीको सेयर मूल्य घटेको छ।