क्रिप्टोकरेन्सीमा आकर्षण बढ्दा क्वाइनबेसको नयाँ रेकर्ड, ३८ वर्षे ब्रायन नयाँ धनाढ्यको सूचीमा

बिजमाण्डू
२०७८ बैशाख २ गते १०:५२ | Apr 15, 2021

Tata
GBIME
Nepal Life

अन्तराष्ट्रिय बजारमा डिजिटल करेन्सीतर्फको आकर्षण बढिरहँदा यसैको कारोबार गर्ने फर्म क्वाइनबेसले शेयर बजारमा नयाँ रेकर्ड राख्दै लिस्टिङ भएको छ। नास्दाकमा लिस्टिङ हुँदा क्रिप्टोकरेन्सी कारोबार गर्ने फर्म क्वाइनबेसको सुरुवाती मूल्य ३८१ डलर तोकिएको थियो। यसबाट कम्पनीको मार्केट भ्यालुएसन एक सय अर्ब डलर निकट पुगेको छ।

क्वाइन बेसको सुरुवाती मूल्यांकन तेल जायन्ट बिपीको भन्दा पनि बढी थियो ।  

यो लिस्टिङसँगै क्वाइनबेसका सहसंस्थापक तथा सिइओ ब्रायन आर्मस्ट्रङ विश्वकै धनाढ्यको सूचीमा समेत परेका छन्।

३८ वर्षका सफ्टवेयर इन्जिनियर ब्रायन एक्लैको कम्पनीमा २१ प्रतिशत शेयर रहेको छ।

सन् २०१८ देखि हालसम्म आइपुग्दा कम्पनीको मूल्य दश गुनाले बढिसकेको छ।

क्वाइनबेसको शेयर किन्नु कम जोखिमपूर्ण भएको बताइएको छ । यसमा लगानी गर्दा प्रत्यक्ष बिटक्वाइन वा अन्य डिजिटल करेन्सीमा लगानी गर्नु नपर्ने भएकाले पनि यसतर्फ लगानीकर्ता आकर्षित भएका हुन्। अझै पनि डिजिटल करेन्सीमा लगानीलाई बित्तीय नियामकहरुले जोखिमपूर्ण भन्दै चेतावनी दिइरहेका छन्।

परम्परागत लगानीकर्ताहरुबीच पनि स्वीकार्य हुँदै गएकोले क्रिप्टोकरेन्सी तर्फ बजारको सकारात्मक झुकाव देखिएको छ। यसै कारण बजारमा यसको राम्रो मूल्यांकन भएको बताइएको छ।

बिटक्वाइनको मूल्य बिगत एक वर्षमा तीनसय प्रतिशत भन्दा बढीले बढिसकेको छ।

सन् २०२१ मा यसको मूल्य अझै उच्च हुने देखिन्छ ।  टेस्ला, मास्टर कार्ड र ब्ल्याक रकले पनि आफ्नो ब्यापरमा डिजिटल करेन्सीलाई मान्यता दिने योजना सार्वजनिक गरे लगत्तै बजारमा बिटक्वाइनले ६३ हजार डलरको रेकर्ड समेत बनायो।

कम परिचित डिजिटल करेन्सीहरुले पनि हाल बजारमा राम्रो फाइदा लिन सकेका छन् ।  जोककै रुपमा बजारमा ल्याइएको डगक्वाइन जस्तो डिजिटल करेन्सीको भाउ पनि हाल ७० प्रतिशतभन्दा बढीले बृद्धि भैसकेको छ।

सन् २०१२ मा बेलायतमा स्थापना भएको क्वाइनबेसको शेयरको माग निकै बढिरहेको छ। यसका एकसयभन्दा धेरै देशका ५ करोड ६० लाख प्रयोगकर्ता भएको बताइन्छ।

कम्पनीले सन् २०२१ को पहिलो त्रैमासमा १.८ अर्ब डलरको रेभेन्यू संकलन गर्ने आँकलन गरिएको छ। क्रिप्टोकरेन्सीमा बढ्दो रुचीका कारण यसले सन् २०२० को वर्षभरमा जति कारोबार गरेको थियो सन् २०२१ को पहिलो त्रैमासमै संकलन गर्ने आँकलन गरिएको हो।

गत वर्ष क्वाइनबेसको कारोबार १.३ अर्ब डलरभन्दा बढी थियो जुन सन् २०१९ भन्दा दोब्बर हो। कम्पनीको नाफा ३२ करोड २० लाख डलर रहेको थियो।

बुधबार भएको कारोबारमा कम्पनीको सुरुवाती शेयर मूल्यले छलाङ मार्दै एक विन्दूमा उच्च रेकर्ड कायम गर्दै ४३० डलरसम्म पुगेको थियो । पछि फेरि यो झरेर ११८ डलरमा झर्यो बजार बन्द हुँदा यसको मूल्य ३२८ डलरमा थियो।