कोरोनाको एक वर्षमा बारा-पर्साका सयौं पोल्ट्री फर्म बन्द, भारतबाट कुखुराको तस्करी बढयो

बिजमाण्डू
२०७८ बैशाख २ गते १०:०९ | Apr 15, 2021

Tata
GBIME
Nepal Life

वीरगंज। कोरोना संक्रमण सुरु भएको एक वर्षको अवधिमा पर्सा-बारा जिल्लामा रहेका करीब ५ सयभन्दा बढी पोल्ट्री फर्ममध्ये आधाभन्दा बढी बन्द भइसकेका छन्।

अहिले भएका फर्महरूले पनि लकडाउनको हल्ला र बर्डफ्लुका कारण उत्पादन बढाउन सकेका छैनन्।

उत्पादन नबढेको तर माग नघटेको कारण कुखुराको मूल्य बढ्दो छ । माग बढ्दै गएपछि जिल्लामा भारतीय कुखुराको तस्करी पनि बढेको छ।

सरकारले पशुपक्षी आयातमा प्रतिबन्ध लगाएको र हालको अवस्थामा बर्डफ्लु तथा कोरोना संक्रमण बढे पनि सीमा क्षेत्रमा अवैध रूपमा बोइलर कुखुराको भित्रिने क्रममा वृद्धि भएको कुखुरा मासु व्यवसायी संघका अध्यक्ष फिरोज आलमले बताए।

सीमा क्षेत्रमा तैनाथ दुवैतर्फका सुरक्षाकर्मीहरूलाई आर्थिक प्रलोभनमा पारेर अहिले व्यापक रूपमा बोइलर कुखुरा भित्रिंदै गरेको व्यवसायीहरुको दाबी छ ।

भारतीय सीमा सिक्टा, इनर्वा, भेलाहीलगायतको ठाउँबाट बिहान २ बजेदेखि ४ बजेसम्म र राति ९ बजेदेखि १२ बजेसम्म तस्करीको लागि समय मिलाइएको सीमा क्षेत्रका बासिन्दाले बताए।

वीरगंजको इनर्वा, मुसहर्वा, मटिअर्वा, पचरौता, सिम्रौनगढ क्षेत्रलगायतबाट बढी मात्रामा भारतीय कुखुराको तस्करी भइरहेको छ।

पर्सा जिल्लाका फर्महरूमा  कुखुराको उत्पादन कम भएको र माग बढी भएको कारण भारतबाट आयात गर्ने क्रम रोकिएको छैन। कुखुरा मासु व्यवसायी संघका अध्यक्ष आलमका अनुसार हाल फर्ममै ज्यूँदो कुखुरा दुई सय २५ रुपैयाँ किलो भएको र तयारी कुखुरा प्रतिकिलो ४ सय रुपैयाँमा बिक्री भइरहेको छ।

पर्साको ग्रामीण क्षेत्रमा अहिले  तीनसय ८० रुपैयाँ प्रतिकिलोमा बोइलर कुखुरा बिक्री भइरहेको उनले जानकारी दिए। यहाँका व्यवसायीले भारतबाट चोर बाटोबाट भित्र्याएका बोइलर कुखुरामध्ये अधिकांश काठमाडौं पुर्‍याउने गरेका छन्। वीरगंजलगायतका क्षेत्रभन्दा राजधानीमा बोइलर कुखुराको मूल्य बढी भएकाले व्यवसायीले सो ठाउँमा पठाउँदै आएका हुन्।