यी हुन २०७७ सालमा सेयर बजारमा भएका मुख्य मुख्य उपलब्धि, २०७८ को वातावरण कस्तो छ?

बिजमाण्डू
२०७८ बैशाख १ गते ११:०४ | Apr 14, 2021


काठमाडौं। २०७७ सालमा सेयर बजार सुधारका लागि दर्जनौ काम भए। यिनै सुधारका कामको नतिजा बजारमा पनि देखिसकेको छ।

Tata
GBIME
Nepal Life

एक वर्ष अघि ११८८ बिन्दुमा रहेको सूचक अहिले २७१४ बिन्दुमा पुगेको छ। एक वर्षको बीचमा बजार एक हजार पाँच सय अंकले उकालो लागिसकेको छ।

पुँजीगत लाभकर ५ प्रतिशतमा सीमित हुनु, ब्रोकर कमिसन ३३ प्रतिशत सम्मले घट्नु र नागरिक स्टक डिलरको बजारमा प्रवेश हुनुले पुँजी बजारको विकास भएको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन्।

त्यस्तै, कोभिडका बाबजुद रेमिट्यान्स आय बढ्नु, आफन्तमार्फत एनआरएनको लगानी पनि सेयर बजारमा भित्रिनु र बैंक ब्याजदर एकल अंकमा रहनुले बजार विकासमा महत्वपूर्ण भूमिका खेलेको रौनियारको भनाइ छ।

२०७८ मा पनि बजारको विकास हुन सक्ने केही थप आधारहरु पनि रहेको उनले औंल्याएका छन्।

जस्तो, असार सम्म ब्याजदर बढ्ने सम्भावना नरहनु, कोरोनाको दोस्रो लहर देखिएकाले बजारको पैसा तत्कालै बाहिर जाने सम्भावना नरहनु बरु थप पैसा पनि भित्रिने सम्भावना रहनु, एनआरएनएको लगानी भित्रिने वातावरण नीतिगत रुपमै तयार हुँदै जानु, बैंकका सहायक कम्पनी सहितका थप कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषयमा अन्तिम तयारी हुनुले २०७८ सालमा बजारले थप उचाइ हासिल गर्न सक्ने रौनियारको भनाइ छ।

आगामी दिनमा नागरिक स्टक डिलरको भूमिका थप सशक्त हुने, नेप्से २७ सय अंक पुग्दा पनि ८/१० वटा कम्पनीको बाहेक सेयर मूल्य नबढेकाले अबको बुलमा कुनै पनि कम्पनीको मूल्य बढ्न सक्ने आधार हुनु, बुलिस ट्रेण्डमै रहेको बजार र लगानीकर्ताको मनोबलसमेत उच्च रहेकाले बजार धेरै तल आउने सम्भावना छैन। त्यसैले २०७८ सालमा पनि नेप्सेको उचाई निश्चित रहेको उनी तर्क गर्छन्।

अघिल्लो वर्ष कोरोनाका कारण ऋण असुली घटेको र व्यापार प्रभावित भएकाले थोरै लाभांश दिएका कम्पनीले पनि २०७८ मा धेरै लाभांश दिन सक्ने सम्भावना रहेकाले आगामी वर्ष सेयर बजारका लागि झनै विशेष हुने रौनियारको भनाइ छ।