२०७७ सालको अन्तिम दिन सेयर बजारमा रेकर्डैरेकर्ड, नयाँ वर्षमा कता जाला पुँजीबजार ?

बिजमाण्डू
२०७७ चैत्र ३१ गते १५:४० | Apr 13, 2021
२०७७ सालको अन्तिम दिन सेयर बजारमा रेकर्डैरेकर्ड, नयाँ वर्षमा कता जाला पुँजीबजार ?

Tata
GBIME
Nepal Life

काठमाडौं। २०७७ सालको अन्तिम दिन सेयर बजार अहिलेसम्मकै उच्च विन्दु २७०० को रेकर्ड बनाउँदै बन्द भएको छ। २३ अंकले बढेको बजार २७१४ अंकको ऐतिहासिक उच्च विन्दुमा उक्लिएको हो।

विकास बैंक र वाणिज्य बैंक समूहको सूचकमा उच्च अंकको सुधार आएसँगै बजारले नयाँ रेकर्ड बनाएको छ । यसअघि नेप्सेले सबै रेकर्ड ब्रेक गरिसक्दासम्म पनि बैंकिङ समूहको सूचकमा उल्लेख्य वृद्धि हुन सकेको थिएन। 

आगामी दिनमा पनि बैंकिङ समूह बढेको खण्डमा बजार थप बढ्न सक्ने सेयर बजारका विश्लेषक विष्णुप्रसाद बस्यालको भनाइ छ। बैंकिङ समूह नचलेमा भने बजार पुनः २६०० कै लाइनमा आउन सक्ने पनि उनको विश्लेषण छ।

आगामी असारसम्म ब्याजदर बढ्ने सम्भावना नरहेको र कोरोनाको दोस्रो लहर देखिएकाले तत्काल बजारबाट लगानीकर्ता बाहिरिने सम्भावना पनि नभएकाे इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन्। यो पृष्ठभूमिमा सेयर बजारले थप उचाई लिने उनको विश्लेषण छ।

वर्षको अन्तिम दिन अधिकांस उपसमूह रातो भएपनि मर्जरपछि कारोबारमा आएको एनआइसी एसिया लघुवित्त, भर्खरै मात्र दोस्रो बजारमा कारोबारमा आएका महिला लघुवित्त र ज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्य सुरुमै ९ देखि १० प्रतिशतले बढेपछि बजारलाई हरियो बनाइराख्न टेवा पुगेको थियो।

यसका अलावा सिन्धु विकास बैंक, छ्याङ्दी र माउन्टेन इनर्जी हाइड्रोपावरको सेयर मूल्य पनि १० प्रतिशत हाराहारी बढेपछि बजारले गति लिएको थियो।

साढे १२ बजेसम्म बजार ४ अंकले ओरालो लागेकोमा त्यसपछि भने विस्तारै बढ्न सुरु भइ २७१५ अंक सम्मको उचाई छोएको थियो। बजार बन्द हुँदा भने समग्रमा करिब २४ अंकको वृद्धिसहित २७१४ विन्दुमा पुगेको हो ।

आज विकास बैंकको सूचक ९५ अंकले बढ्दा वाणिज्य बैंक समूहको सूचक ४२ अंकले बढेको छ। व्यापार समूहको सूचक ६९ अंक र जलविद्युत समूहको सूचक ३१ अंकले बढ्नु बाहेक अधिकांस उपसमूहको सूचक भने रातो भएको छ।

सूचक सबैभन्दा धेरै ओरालो लाग्नेमा निर्जीवन बीमा समूह ८८ अंक, होटल तथा पर्यटन ६५ अंक र जीवन बीमा समूह ५१ अंकले घटेका छन्।

सर्वाधिक रकमको सेयर कारोबार हुने कम्पनीहरुमा नबिल बैंक र नेपाल बैंकको २८/२८ करोड रुपैयाँको कारोबार हुँदा, एनआइसी एसिया बैंकको २४ करोड, निफ्राको २१ करोड र नेपाल बंगलादेश बैंकको १८ करोड रुपैयाँको सेयर किनबेच भएको छ। त्यस्तै, अपि पावरको १७ करोड, कुमारी बैंकको १४ करोड, माथिल्लो तामाकोशी, ग्लोबल आइएमई बैंक र मेगा बैंकको करिब १३/१३ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

२०९ कम्पनीको एक करोड ४६ लाख कित्ता सेयर सात अर्ब १५ करोड रुपैयाँमा किनबेच भएका छन्। अधिकांस कम्पनीको सेयर मूल्य घटेको बजारमा ८५ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ। १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।