पुरानो वर्षलाई बिदा गर्न गभर्नरको बैंकर्ससँग छलफल: ‘पुनर्कर्जाको स्प्रेड कम हुँदा बैंकलाई घाटा’

बिजमाण्डू
२०७७ चैत्र ३१ गते १५:२४ | Apr 13, 2021
पुरानो वर्षलाई बिदा गर्न गभर्नरको बैंकर्ससँग छलफल: ‘पुनर्कर्जाको स्प्रेड कम हुँदा बैंकलाई घाटा’

Tata
GBIME
Nepal Life

काठमाडौं। नयाँ वर्षलाई स्वागत गर्नुअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीहरुसँग दुई घण्टा छलफल गरेका छन्।

नयाँ वर्षको शुभकामना आदनप्रदानसँगै वर्तमान स्थितिका बारे छलफल गर्न गभर्नर अधिकारीले मंगलबार १ बजे भर्चुअल बैठक डाकेका थिए। 

बैठकमा कसले बोल्ने भनेर पहिले नै व्यक्ति निर्धारण गरिएको थियो। विकास बैंक र फाइनान्सका तर्फबाट सम्बन्धिका छाता संगठन अध्यक्षहरुलाई दिइएको थियो। वाणिज्य बैंकहरुको तर्फबाट भने अध्यक्षसहित केही बैंकका प्रमुख कार्यकारीहरुलाई छानिएको थियो।

बैंकर्स संघ  अध्यक्ष भुवन दहाल, विकास बैंक संघ अध्यक्ष प्रद्युमन पोखरेल, फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरलाई बोल्न दिइएको थियो। यसबाहेक एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने, सिभिल बैंकका गोविन्द गुरुङ, नबिलका अनिल शाह, नेपाल एसबीआइ बैंकका दीपककुमार दे, नेपाल बंगलादेश बैकका ज्ञानेन्द्र ढुंगानालाई बोल्न दिइएको थियो।

पछि अरुलाई केही छ भन्नु भनेर सोधिएपछि मेगाकी अनुपमा खुञ्जेली, कृषि विकास बैंकका अनिल उपाध्यायलगायतले बोलेका थिए।

बैंकरले काउन्टर साइक्लिकल बफरका बारेमा प्रश्न गरेका थिए। राष्ट्र बैंकले साढे २ प्रतिशतको बफरलाई एक वर्षका लागि स्थगित गरेको छ। यो स्थगित नगर्ने हो भने पुँजी पर्याप्तता अनुपात साढे १३ प्रतिशत कायम गर्नुपर्छ। अहिले ११ प्रतिशत कायम गरे हुन्छ। एक वर्षका लागि स्थगित बफरलाई अझै बढाउन बैंकरले माग राखेका थिए।

कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) ८० लाई ८५ प्रतिशत पुर्‍याइएको छ। यसलाई एक वर्षका लागि बढाइएको हो। सीसीडीलाई निरन्तरता दिन माग गरिएको थियो।

यसबाहेक अनिवार्य तरलता अनुपात (सीआरआर) ३ प्रतिशतलाई अझै निरन्तरता दिनुपर्ने माग पनि राखिएको थियो।

बैंकरले अहिलेको ब्याज दरमा पुनर्कर्जा दिँदा बैंकलाई घाटा हुने भएकाले यसलाई बढाउन माग गरेका थिए। अहिले २ प्रतिशतमा लिएर पाँच प्रतिशतमा दिन पाइन्छ। यो भनेको ३ प्रतिशतको स्प्रेड हो। यसलाई बढाउन बैंकरले माग गरेका हुन्।

 साथै निर्देशित लगानीहरुलाई कायम गर्न गाह्रो भएकाले यसमा खुकुलो नीति लिन पनि माग गरिएको थियो।

कार्यक्रममा गभर्नर अधिकारीले बैंकरले दिएका राम्रा सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए। उनले बजेटअघि र मौद्रिक नीति ल्याउनुअघि बाँकी कुरामा छलफल गर्ने बताएका थिए। कार्यक्रममा दुवै डेपुटी गभर्नरहरु डा. निलम ढुंगाना र बमबहादुर मिश्रले समेत बोलेका थिए।