सिन्डिकेटविरुद्धको कानुन उल्लंघन अभियोग लागेको अलिबाबा तीन खर्बभन्दा बढी जरिवाना तिर्न तयार

बिजमाण्डू
२०७७ चैत्र ३१ गते १४:३० | Apr 13, 2021
सिन्डिकेटविरुद्धको कानुन उल्लंघन अभियोग लागेको अलिबाबा तीन खर्बभन्दा बढी जरिवाना तिर्न तयार

Tata
GBIME
Nepal Life

काठमाडौं। चिनियाँ नियामक निकायले सिन्डिकेट लाद्न खोजेको भन्दै संसारकै ठूलो इ-कमर्स कम्पनी अलिबाबालाई दुई अर्ब ८० करोड अमेरिकी डलर (हालको विनियम दरअनुसार तीन खर्ब ३५ अर्ब ४० करोड रुपैयाँ) जरिवाना गर्ने निर्णय आफूहरुले मान्ने बताएको छ। 

गत शनिबार चिनियाँ सरकारी अधिकारीहरुले अलिबाबाले देशको सिन्डिकेटविरुद्धको कानून उल्लंघन गरेको भन्दै जरिवाना घोषणा गरेको थियो। अलिबाबाले सोमबार एक वक्तव्य निकाल्दै जरिवाना तिर्ने जनाएको हो। जरिवानाको रकम अलिबाबाले सन् २०१९ मा गरेको आम्दानीको करिब चार प्रतिशत हो।

अलिबाबा ग्रुपका कार्यकारी उपाध्यक्ष जोइ साइले सरकारी निकायको ध्यान विकास हुँदै गएका अलिबाबा जस्ता इ-कमर्समा पुगेको धारणा राखेका छन्। अलिबाबाले प्रतिद्वन्द्वी प्लाटफर्महरुमा आफ्ना मर्चेन्टहरुले व्यापार वा विज्ञापन गर्न रोक लगाएको विषयलाई अनुसन्धान गर्ने निकायले मुख्य मुद्दा बनाएको छ। 

गत डिसेम्बरबाट अनुसन्धान थालेको चिनियाँ निकायले अलिबाबाले एन्टी-मोनोपोली कानून उल्लंघन गरेको भन्दै जरिवाना गर्ने निर्णय गरेको थियो। सन् २०१५ मा चिनियाँ निकायले अमेरिकी चिप निर्माता कम्पनी क्वालकमलाई ९७ करोड ५० लाख अमेरिकी डलर जरिवाना तिराएको थियो।