कोरोनाका नयाँ लहर आएपछि वायुसेवा कम्पनी सतर्क, सुरक्षित भएकाले ढुक्क हुन आग्रह

बिजमाण्डू
२०७७ चैत्र ३१ गते १४:२१ | Apr 13, 2021
कोरोनाका नयाँ लहर आएपछि वायुसेवा कम्पनी सतर्क, सुरक्षित भएकाले ढुक्क हुन आग्रह

Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिड-१९ को नयाँ लहर आएसँगै वायुसेवा कम्पनीहरु सतर्क भएका छन्। निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले आफ्ना कर्मचारी र यात्रुलाई स्वास्थ्य सुरक्षा अवलम्बनमा थप जोड दिन अनुरोध गरेको छ।

लामो समय स्वास्थ्य सुरक्षा अवलम्बनका मापदण्ड पालना गर्न आवश्यक रहेको कम्पनीले जनाएको छ। शुरुवातमै कोभिडविरुद्ध कम्पनीले एक वर्ष अगाडि सुरु गरेको मार्गनिर्देशिका अनुसारको कर्मचारी सुरक्षा तालिम, जनजागरण लगायतका कामहरु अहिले पनि यथावतै राखेको बुद्धका बजार निर्देशक रुपेश जोशीले बताए।

'संक्रमणरहित हवाई यात्राका लागि हामी प्रतिबद्ध छौं। यसका लागि हरेक यात्रुको कोभिडसँग मिल्दोजुल्दो लक्षण पहिचान, तापक्रम चेकजाँच, ह्याण्ड सेनिटाइजरको प्रयोग अनिवार्य बनाएका छौं,' उनले भने, 'हामीले हरेक उडानको यात्रु डाटावेस राखेका छौं, सरोकारवाला निकायले मागेको खण्डमा हामी तुरुन्तै दिन सक्छौं । यसले करोना रोकथाममा सहायोगी भूमिका खेल्नेछ।' 
 
उनका अनुसार हाल सम्म कम्पनीमा कार्यरत अधिकांश कर्मचारीले कोभिड-१९ विरुद्धको पहिलो चरणको खोप लगाइसकेका छन्। आउँदो वैशाख १० गतेभित्रै कम्पनीले आफ्नो सबै कर्मचारीलाई  दोस्रो चरणको भ्याक्सिन लगाउने तयारी भइरहेको उनले बताए।   

कम्पनीले आफ्नो सेवा पुर्ण रुपमा सुरक्षित रहेका कारण यात्रुले सुरक्षित उपाय अपनाई ढुक्क भएर यात्रा गर्नसक्ने जनाएको छ। 

'हवाई उडान पुनः शुरु भएपछि अर्थतन्त्र पनि चलायमान भएको छ। स-साना पसलदेखि ठूलठूला होटल, पर्यटकीय यातायात तथा गतिविधिहरु फेरि सुचारु भएका छन्। अहिले पुनः ठूलो जनशक्तिले रोजगार पाइरहेका छन्,' उनले भने, 'उडान सहज सरल र संक्रमणरहित बनाउन कर्मचारी मात्रै होइन यात्रुहरुको पनि उत्तिकै भूमिका हुन्छ। त्यसैले निर्देशिका पालना गर्न पुनः अनुरोध गरेका हौं।' 
 
संक्रमणले लामो समय दुःख दिने सम्भावनालाई मध्यनजर गर्दै आवश्यकता अनुसारको रणनीति बनाएर स्वास्थ्य सुरक्षा अवलम्बनको अनुगमन र कारबाहीमा कडाइ गर्न आवश्यक रहेको कम्पनीले जनाएको छ।