बिजुली ट्रिपिङले सास्ती भोगेका भैरहवाका उद्योगीले प्रधानमन्त्रीको भाषणमै गरे खासखुस

बिजमाण्डू
२०७७ चैत्र ३१ गते ०९:२८ | Apr 13, 2021
बिजुली ट्रिपिङले सास्ती भोगेका भैरहवाका उद्योगीले प्रधानमन्त्रीको भाषणमै गरे खासखुस

Tata
GBIME
Nepal Life

बुटवल। प्रधानमन्त्री केपी शर्मा ओली शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औं साधारणसभामा सहभागी हुँदै उद्योगी व्यवसायी सरकारले लिएका नीतिको प्रमुख साझेदार रहेको बताएका थिए।

उनले उद्योगी व्यवसायीका समस्या समाधान गर्न आफू तयार रहेको बताउँदै ‘पिनप्वाइन्ट’ गरेर समस्या राख्न समेत आग्रह गरेका थिए। प्रधानमन्त्री ओलीले यो भाषण गरिरहँदा भैरहवा वरपरका उद्योगी भने खासखुस गरिरहेका थिए। ‘प्रधानमन्त्री ओलीले केही समस्या भए समाधान तत्कालै गर्छु भन्नु हुन्छ। तर हामीले चार/पाँच वर्षदेखि बिजुली झ्यापझ्याप जाने समस्या अहिलेसम्म समाधान भएको छैन,’ उनीहरु एकआपसमा कुरा गर्दै भनेका थिए, ‘भाषणजस्तै फिल्डमा काम भइदिएको भए प्रधानमन्त्रीको हाइहाइ हुन्थ्यो।’

बिजुली जानेआउने समस्याले भैरहवाका उद्योगी व्यवसायी आजित छन्। यो समस्याले धेरै उद्योगले प्लान्टका मेसिनरी बिग्रिँदा लाखौं गुमाएको पनि छ।  तर समस्या ज्यूँका त्यूँ छ। भैरहवा औद्योगिक करिडोरको बिजुली समस्याका बारेमा प्रधानमन्त्री ओली जानकार नभएका होइनन्। यो समस्याका बारेमा भैरहवाका उद्योगीले कैयन पटक प्रधानमन्त्रीलाई जानकारी गराइसकेका छन्। तर प्रधानमन्त्रीले तत्काल सम्बोधन गर्ने आश्वासन दिन्छन् तर ऊर्जामन्त्री, ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले समस्या समाधानका लागि फाष्ट ट्रयाकमा कुनै काम अघि बढाउँदैनन्।

उद्योगको बेहाल

पटक पटक बिजुली जाने समस्याले रुपन्देहीका विभिन्न क्षेत्रमा रहेर उद्योग सञ्चालन गरिरहेका उद्योगहरु मारमा परेका छन्। अघोषित रूपमा हुने लोडसेडिङले उत्पादन लागत बढाएको उद्योगीहरु बताउँछन्।

रुपन्देहीमा उद्योग रहेको जगदम्बा सिमेन्ट इन्डस्ट्रीज प्रालिले पटक पटक बिजुली जाँदा उत्पादनमा तीन गुणासम्म बढी लागत बढेको जनाएको छ। उद्योगका महाप्रबन्धक विदुर ढुंगाना पटक पटक हुने बिजुली कटौतीको विकल्पमा प्रयोग गरिने डिजल जेनेरेटरले उत्पादन लागत बढेको बताउँछन्।

उनले बिजुली नआउँदाको परिणाम आम सर्वसाधारणले भोग्नु परेको बताउँछन्। ‘उत्पादन लागत बढेपछि त्यो उद्योगले आफूले बेहोर्ने होइन। त्यो उपभोक्तामा जोडिन्छ,’ उनले भने, ‘राज्यले गुणस्तरीय बिजुली नदिँदा उपभोक्ताको थाप्लोमा भार परिरहेको छ।’

बिजुलीको समस्या समाधानका लागि धेरै पटक उच्च तहमा भन्दा पनि कुनै सुनुवाई नभएको ढुंगानाले बताए।  दैनिक रूपमा १० पटकसम्मको बिजुलीको ट्रिपिङ समस्या आफुहरुले झेलेको बताउँदै उनले भने – ‘तपाई हामी जति बोले पनि केही हुने होइन। विद्युत प्राधिकरण यो समस्यामा गम्भीर देखिएन।’

उनले प्राधिकरणले दीर्घकालीन विकल्प नखोजी बिग्रेको कुरालाई मात्रै हेरेको बताए। ढुंगानाले अहिले रहेका अत्याधुनिक मेशिनहरु सञ्चालनका लागि चाहिने भोल्टेज अहिले रहेका तारहरुबाट सम्भव नभएको बताए। रुपन्देहीका विभिन्न स्थानमा उद्योग सञ्चालन गरिरहेको पञ्चकन्या समूहले ट्रिपिङका समस्याले निकै आजित बनेको बताउँदै आएको छ। कम्पनीका महाप्रबन्धक देवेन्द्र साहुले ट्रिपिङकै कारणले डन्डी उत्पादन क्षमता अनुसार गर्न नसकेको बताए।

उनले खर्च बढ्ने मुख्य समस्या रहेको बताउँदै कच्चा पदार्थ खेर गएर ठूलो नोक्सानी ब्योहोरेको बताए। प्लास्टिकको काम गर्द ट्रिपिङ भएमा २ सयदेखि २ सय ५० किलो मेटिरियल खेर जाने उनले बताए। उनका अनुसार दुई सेकेण्ड गए ३० मिनेट उद्योग सञ्चालन गर्न लाग्ने गर्छ।

 साहुले भैरहवामा रहेको सेजमा नयाँ उद्योग स्थापना गर्न समेत बिजुली नहुँदा समस्या परेको बताए। सेजमा रहेको उद्योग चल्नको लागि ४ सय १५ भोल्टको बिजुली चाहिए पनि ३ सय देखि ३ सय २० मात्रै आपूर्ति भएको उनको गुनासो छ।

उनी भन्छन् –‘कर्मचारीहरु उद्योगमा गएर बसेका हुन्छन्। बिजुली भोल्ट कमी हुँदा काम नगरी बस्नुपर्छ। यसले उत्पादनमा असर पर्नुका साथै उत्पादन लागतसमेत बढिरहेको छ।’ घराना फुड्सका प्रबन्ध निर्देशक विकासकुमार गोयन्का विद्युत ट्रिपिङले निकै समस्या पारेको बताउँछन्। उनले ट्रिपिङको समयमा पाइपलाइनमा रहेको कच्चा पदार्थ खेर जाने गरेको बताउँदै स्वदेशी उद्योगसँग पनि प्रतिस्पर्धा गर्न नसकिएको बताए।

एक पटक ट्रिपिङ हुँदा कच्चा पदार्थका साथै १५ मिनेट मेसिनले काम गर्न खर्चिनुपर्ने गोयन्का बताउँछन्। लुम्बिनी प्रदेश सरकारले रुपन्देहीलाई औद्योगिक राजधानी बनाउने भनेर घोषणा गरे पनि बिजुलीकै कारण बाधा परेको उनले बताए। उनी मात्र होइन, भलवारी स्वचालित चामल कारखानाका चन्द्रमान श्रेष्ठले ट्रिपिङले मेसिनरी बिग्रिएर नोक्सानी ब्योहोर्नुपरेको बताए।

उनले भने-‘तीन दिन अगाडि मात्रै कम्प्रेसर जल्यो। बनाउन ७० हजारभन्दा बढी खर्च लाग्यो।‘  रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहराले अत्यधिक रहेको ट्रिपिङ समस्याले उद्योगी मारमा परेको बताए। उनले रुपन्देहीमा रहेका १ सय भन्दा बढी ठूला उद्योगहरुले ट्रिपिङको समस्या भोगिरहेको बताए।