विश्वबजारमा मर्सिडिजको बिक्री दर २२.३% वृद्धि, सन् २०२१ को पहिलो त्रैमासमै ६ लाख गाडी बिक्री

बिजमाण्डू
२०७७ चैत्र ३० गते १५:२५ | Apr 12, 2021
विश्वबजारमा मर्सिडिजको बिक्री दर २२.३% वृद्धि, सन् २०२१ को पहिलो त्रैमासमै ६ लाख गाडी बिक्री

Tata
GBIME
Nepal Life

जर्मन मोटर कम्पनी मर्सिडिज-बेञ्जका गाडीहरुको बिक्री सन् २०२१ को पहिलो त्रैमासिकमा निकै बढेको छ। चीन र अमेरिकामा मर्सिडिजको प्लग-इन हाइब्रिड र अल-इलेक्ट्रिक भेहिकलको माग बढेसँगै बिक्री दर बढेको कम्पनीले जनाएको छ। 

यो वर्षको पहिलो त्रैमासिकमा कम्पनीले विश्वबजारमा आफ्नो पाँच लाख ९० हजार नौ सय ९९ उत्पादन बिक्री गरेको जनाएको छ। गत वर्षको तुलनामा यो समय कम्पनीको बिक्री दर २२.३ प्रतिशतले बढेको कम्पनीले जनाएको छ।

युरोपमा बिक्री हुँदै आएका चारमध्ये एक्स-इभीको माग उल्लेख्य रहेको जनाइएको छ। ९४ वर्ष पुरानो यो कम्पनीले तुलनात्मकरूपमा महंगा गाडी उत्पादन गर्दै आएको छ। पछिल्ला केही वर्षयता बिक्री गर्दै आएको गाडीमध्ये १० प्रतिशत प्लग-इन हाइब्रिड र अल-इलेक्ट्रिक भेहिकल छन्। युरोपमा बिक्री भएका मर्सिडिजका ५९ हजार गाडीबाहेक १६ हजार वटा गाडी विद्युतीय रहेको कम्पनीले जनाएको छ। 

गत जनवरीमा इलेक्ट्रिक कम्प्याक्ट एसयुभी सार्वजनिक गरेसँगै यतिखेर २० हजार थानको अग्रिम अर्डर आइसकेको कम्पनीले जनाएको छ। माग आएसँगै  कम्पनीले यही वर्ष इक्युएस, इक्युबी र इक्युइ लगायत तीनवटा मोडलका गाडीको बिक्री गर्ने योजना बनाएको छ। 

यतिखेर गाडीमा प्रयोग हुँदै आएको सेमी कन्डक्टरको सप्लाइ चेनमै प्रभाव भएसँगै पहिलो त्रैमासिकमै गाडी डेलिभरीमा प्रभाव परेको कम्पनीले जनाएको छ।

चीनसँग मजबुत बजार विकास भएसँगै कम्पनीले एसिया प्यासिफिक क्षेत्रमा आफ्ना उत्पादनको बिक्री ४६.६ प्रतिशतले वृद्धि गर्न सकेको जनाएको छ। गत जनवरीमा मात्र चीनमा एक लाख लागि गाडी बिक्री भएका छन्। जर्मनीमा भने यो गाडीको बिक्री दर १५.४ प्रतिशतले घटेको छ। यो समयावधिमा जर्मनीमा ५४ हजार चार सय ४६ गाडी बिक्री भएको एजेन्सीले तयार पारेको विवरणमा उल्लेख छ।

उत्तर अमेरिकामा भने यो गाडीको बिक्री दर १२.५ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो समयावधिमा उत्तर अमेरिकामा ८८ हजार तीन सय १८ वटा गाडी बिक्री भएको छ।