मर्जरपछि एनआइसी एसिया लघुवित्तको सेयर मूल्यमा दैनिक सर्किट, ८ दिनमा दोब्बरले बढ्यो भाउ

बिजमाण्डू
२०७७ चैत्र ३० गते १३:४२ | Apr 12, 2021
मर्जरपछि एनआइसी एसिया लघुवित्तको सेयर मूल्यमा दैनिक सर्किट, ८ दिनमा दोब्बरले बढ्यो भाउ

Tata
GBIME
Nepal Life

काठमाडौं। आठ कारोबार दिन अघिसम्म एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रति कित्ता ७५९ रुपैयाँ थियो। आज कम्पनीको सेयर मूल्य प्रति कित्ता १५ सय ४५ रुपैयाँ पुगेको छ।

८ करोबार दिनमै कम्पनीको सेयर मूल्य दोब्बरभन्दा बढी अर्थात प्रति कित्ता ७८६ रुपैयाँका दरले बढिसकेको छ। कम्पनीको सेयर मूल्य यो ८ दिनमा १० प्रतिशतका दरले बढेको छ। 

कारोबार कित्ता भने धेरै छैन। बढीमा दिनभरीमा १४ सय कित्तासम्म किनबेच भएको छ। प्रति कारोबार पनि ठूलो छैन। अधिकांश किनबेच १० कित्ताका दरले भइरहेको छ।

बिक्री गर्ने मिश्रित भए पनि खरिद गर्ने ब्रोकर ३ र ३२ नम्बर छन्। कारोबार खुलेपछि एउटै समूहले कम्पनीको सेयर उठाइरहेको छ। 

मर्जरका कारण कम्पनीको सेयर किनबेच भएको थिएन। स्वदेशी लघुवित्त वित्तीय संस्थालाई गाभेपछि नेपाल स्टक एक्सचेञ्जले कम्पनीको सेयर कारोबार गत १७ गतेबाट फुकुवा गरिदिएको थियो।

नाम एनआइसी नै रहने गरी कम्पनी प्रति सेयर ९४ रुपैयाँका दरमा स्वदेशीमा गाभिएको थियो। स्वदेशीको भने १०० रुपैयाँ मूल्यांकन गरिएको थियो। नेप्सेमा कम्पनीको २५ लाख ९४ हजार ४ सय कित्ता सेयर सूचीकृत छन्।

गत साउन मसान्तदेखि रोक्का रहेको सेयर बजार उच्चतम बिन्दुमा पुगेका बेला फुकुवा हुँदा सेयर मूल्य निरन्तर उकालो लागेको हो। दुवै संस्था मर्ज भएर गत चैत ८ गतेबाट एकीकृत कारोबार सुरु भएको हो। 

मर्जरपछि शाखा संख्या २३५ पुगेको छ। मर्जरपछि एक लाख ३५ हजारभन्दा बढी सदस्य पुगेका छन्। पुँजी १ अर्ब ७३ करोड ९४ लाख पुगेको छ। कर्जा लगानी १५ अर्बभन्दा माथि पुगेको छ। 

एनआइसी एसियाको लाभांश दिएको छैन तर स्वदेशीले पछिल्लो पाँच वर्षमा दुई पटक गरेर करिब ५१ प्रतिशत लाभांश वितरण गरेको छ। यसमध्ये १५.७९ प्रतिशत नगद थियो।