तेस्रो त्रैमासमा ऋण उठ्ति राम्रो: बिदाका दिन पनि भिडे बैंकर, ‘अप्ठेरो पर्नेहरुले बैंक स्विच गरे’

बिजमाण्डू
२०७७ चैत्र ३० गते ११:१८ | Apr 12, 2021
तेस्रो त्रैमासमा ऋण उठ्ति राम्रो: बिदाका दिन पनि भिडे बैंकर, ‘अप्ठेरो पर्नेहरुले बैंक स्विच गरे’

Tata
GBIME
Nepal Life

काठमाडौं। दोस्रो त्रैमास (कात्तिकदेखि पुस) को तुलनामा तेस्रो त्रैमास (माघदेखि चैत) बैंकहरुलाई ऋण उठाउन सहज देखिएको छ।
कोभिडका कारण पुस मसान्तसम्म ऋण उठ्तिमा सास्ती भोगेका बैंकरले यसपाली भने सजिलो महसुस गरेका छन्। 

'पहिलेभन्दा सजिलो महसुस भएको छ,' बैंकर्स संघका अध्यक्ष भुवन दहालले भने।

पुस मसान्तसम्म राष्ट्र बैंकले दिएको स्किमहरु बाँकी थियो। कोभिड प्रभावितको ऋणको पुनर्संरचना र पुनर्तालिकीकरण गर्नुपर्ने थियो। प्रभावित सूचीमा नअटाएकाहरुले पनि पैसा तिरिरहेका थिएनन्। तिर्न सक्नेले पनि कोभिडलाई कारण देखाएका थिए।

माघपछि आर्थिक क्रियाकलाप निकै बढेको छ भने ऋण लिनेको संख्या र रकम पनि वृद्धि भएको छ। पुनर्तालिकीकरण र पुनर्संरचना पनि लगभग (पछि छुटेकालाई थपिएको थियो) सक्किइसकेको छ।

'सामान्य अवस्थामा क्वाटर इन्ड (त्रैमासको अन्त्य) मा जस्तो हुने गर्थ्यौ अहिले त्यस्तै छ। अस्वभाविक केही पनि छैन' नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले भने, 'ऋणीहरुसँग सम्पर्कमा बस्नै पर्छ। उहाँहरुसँग कुराकानी भइरहेको छ। नराम्रो केही छैन।'

केही बैंकर भने ऋण उठ्तिमा समस्या भएको बताउँछन्। कोभिडको असर अझै पनि कायम रहेकाले पैसा उठाउन समस्या भएको उनीहरुको बुझाइ छ। 'सजिलो कहाँ छ र? ऋण उठाउन गाह्रै छ। कोभिडले छाडिसकेको छैन। सबैलाई समस्यै छ,' नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले भने। 

विगतको तुलनामा भने यसपाली ऋण उठ्ति राम्रो रहेको उनले बताए। त्रैमासको अन्त्यमा जहिलै दबाब हुने उनको भनाइ छ।

शनिबार नियमित बिदापछि आइतबार घोडेजात्रा परेर सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको थियो। तर त्रैमासको अन्त्य भएकाले ऋण उठाउनका लागि बिदाका दिन पनि बैंकका कर्मचारीहरु खटिएका थिए।

'फोन नगरी त ऋण उठ्नेवाला छैन। ठूला ऋणीहरुलाई झन् धेरै फलोअप गर्नुपर्ने हुन्छ,' अर्का एक बैंकरले भने, 'सानाले नियमित तिरिरहेका हुन्छन्। ठूलालाई सम्झाइरहनु पर्छ।'

बैंकरका अनुसार, चालु आर्थिक वर्षलाई तेस्रो त्रैमासको उठ्तिले राम्रो प्रभाव पार्ने बताए। 'कोभिडको अर्को लहरका कारण चौथो त्रैमास प्रभावित हुने देखिन्छ,' ती बैंकरको विश्लेषण छ, 'सामान्य अवस्थामा पनि चौथो त्रैमास ऋण धेरै जाने होइन।'

तेस्रो त्रैमासमा ऋण उठ्ति राम्रो हुने देखिएकै कारण भिडेर लागेको बैंकर बताउँछन्।

'यसपाली खासै दबाब छैन,' एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले भने, 'अप्ठेरो परेकाहरुले बैंक स्वीच (सर्ने) पनि गरे। फी कमिसन घटेका कारण त्यो गर्न सजिलो पनि भयो। त्यसैले तेस्रो त्रैमासमा खासै समस्या केही पनि देखिँदैन।'