सुनचाँदी व्यवसायीलाई ऋण तिर्न डाक्दै बैंक, राष्ट्र बैंकले ‘न्यून’ भनेपनि ‘अति प्रभावित’ व्यवसायी

बिजमाण्डू
२०७७ चैत्र ३० गते १०:५० | Apr 12, 2021
सुनचाँदी व्यवसायीलाई ऋण तिर्न डाक्दै बैंक, राष्ट्र बैंकले ‘न्यून’ भनेपनि ‘अति प्रभावित’ व्यवसायी

Tata
GBIME
Nepal Life

काठमाडौं। अचेल हरेक दिनजसो बैंक वित्तीय संस्थाले पत्रपत्रिकामा सुनचाँदी व्यवसायीलाई ऋण तिर्न भन्दै ३५ दिने सूचनाहरु जारी गरिरहेका छन्। 

कतिपयको सम्पत्ति लिलाम गर्ने प्रक्रिया सुरु गरेका छन्। 

कोभिड-१९ को प्रकोपसँगै सरकारले गरेको लकडाउन र सुनचाँदीका गरगहनाको मागमा आएका कमीका कारण उनीहरु समस्यामा परेकाले ऋण तिर्न सकिरहेका छैनन्। त्यही कारण अहिले धमाधम सम्पत्तिहरु लिलाममा चढ्न थालेको हो।

सुनचाँदी व्यवसायीहरुले कोभिडले असर गरेको भन्दै ऋण तिर्ने समय दिन माग गर्दागर्दै पनि कतिपय बैंक तथा वित्तीय संस्थाले लिलामीमा चढाएको आरोप लगाएका छन्।

नेपाल राष्ट्र बैंकले सुनचाँदी व्यवसायलाई 'सबैभन्दा कम प्रभावित' सूचीमा राखेको छ। यसले गर्दा उनीहरुले पाउनुपर्ने सहुलियत पाउन सकेनन्।

उनीहरुलाई ऋण तिर्ने समय जम्मा ६ महिना मात्र थप भएको थियो। 'त्यो ६ महिनाको साँवा र ब्याज खप्टिँदा उनीहरुलाई झन् गाह्रो परेको देखिन्छ,' एक बैंकरले भने।

कोभिडका कारण अन्यजस्तै सुनचाँदी व्यवसाय ठप्प थियो। बजारमा चहलपहल सुरु हुँदा पनि मान्छेहरुले सुनचाँदीमा खासै ध्यान दिएका थिएनन्। यो बीचमा सुनचाँदी चाहिने खालको सामाजिक संस्कारका कार्यहरु पनि कमै भए।

'कोभिडले गर्दा उनीहरुको समस्या खात लाग्दै गएको देखिन्छ,' एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बिजमाण्डूसँग भने, 'अहिले अवस्थामा सुधार आइसकेको छ। ऋणहरु नियमित हुन थालेका छन्।'