व्यापारसँगै समाजसेवामा ब्लुबर्डकी कमलकेशरी, कोभिडअघि स्टोर बन्द भयो तर अर्को ढोका खुल्यो




एक वर्ष अघि कोरोना संक्रमणका कारण नेपालमा पहिलोपटक लकडाउन भयो। लकडाउनको सुरुका समयहरुमा यसले मानिसको जीविकामा कस्तो दीर्घकालीन संकट आइपर्छ भन्ने अनुमान कसैलाई थिएन। एक दुई दिन त कामबाट ब्रेक लिएजस्तै भयो । घरमा बस्यो मिठा पकवानहरु बनाएर खायो सामाजिक सञ्जालमा राख्यो। ए रमाइलै त रहेछ भने जस्तो । तर जब एक साता दुई साता बित्दै गयो। कोभिडको संक्रमणले भन्दा पनि खान नपाएर मानिसहरु मर्ने अवस्था आउन थाल्यो। 

व्यापार व्यावसाय ठप्प। आम्दानीको स्रोत गुमेकाको दैनिकी कष्टकर बनिरहेको थियो। दैनिक कमाइमा गुजारा गर्नेको त अवस्था कति कठिन थियो भने न घरभाडा तिर्न सक्ने न त खानेकुराको जोहो नै गर्न सक्ने। त्यसमाथि घरबाहिर निस्कन नसक्ने परिस्थिति। साना ठूला सबै किसिमका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना सबै ठप्प। 

TATA
Safety
TVS

सानेपाको घरभित्रै बसेर ब्लुबर्ड मलकी निर्देशक कमलकेशरी यो सबै मनमनै गुन्दै थिइन्। जता हेर्यो उतै अप्ठ्यारो। कोही कति दिनदेखि भोकै छन्। सुत्केरीहरु सत्तलमा बस्नुपरेको छ। नवजात शिशुको बिजोग छ। राजधानीबाट बाहिरिनेहरु ससाना नानी च्यापेर पैदलै कोसौं हिडिरहेका छन्। अस्पतालमा स्वास्थ्यकर्मीहरुलाई नै पीपीई र मास्कको अभाव। समाचारहरुले दुःखका मात्रै कुरा सुनाइरहेको थियो। उनलाई त घरभित्र आराम थियो तर मनमा चैन भने पटक्कै थिएन। 

अहिले फेरि कोरोना संक्रमणको जोखिम बढ्दो क्रममा छ। संक्रमण बढ्दै गए स्थिति अझ भयावह हुन सक्ने आकलन भइरहेका बेला कमलकेशरी एक वर्षअघिको अवस्थाले फेरिदिएको उनको दैनिकीबारे सुनाइरहेकी छन्। उनी लामो समय पारिवारिक व्यवसायमा व्यस्त रहिन्। तर ५८ वर्षमा आइपुग्दा बिस्तारै उनको मन परोपकारतर्फ ढल्दै गइरहेको छ।

व्यवसायिक कामबाट सर्लक्क समय निकालेर अरुलाई सेवा गर्नुको आनन्द उठाइरहेकी छिन् उनी। व्यापार व्यवसायसँगै परोपकारका काममा प्रत्यक्ष संलग्न त उनी दुई दशकदेखि नै थिइन्। तर कोभिड संक्रमणपछि लकडाउनका बेला मानिसहरुले पाएको दुःख देख्दा उनलाई अझ यसतर्फ धकेल्दै लग्यो। 

जब समाचारमा भोका र समस्यामा परेका मानिसहरुबारे सुन्थिन्, कसरी उनीहरुलाई सघाउ पुर्याउने होला भन्ने चिन्ता लिन थाल्थिन्। फटाफट आफ्नो सम्पर्कमा भएकाहरुसँग कुरा राख्थिन्। अब यसरी हुँदैन भोकै पर्न थालेकालाई खानाको बन्दोबस्त गर्नुपर्छ भनेर मद्दत माग्थिन। फेसबुकमा लेख्थिन्। साथीभाईको भाइबर ग्रुपमा जोडिन्थिन्। आफ्नो पारिवारिक गुठीहरुमा पनि सहयोग माग्थिन्। 

यसरी उनले ब्यक्तिगत प्रयासबाट सबैलाई जोड्दै गइन् । धेरै किसिमले सहयोगको अभियान चलाइन्, ति मध्ये कति आफ्नै पहल अनि कतिपय आफू आबद्ध संस्थाहरू मार्फत काम गरिन् ! तीन/चार सय मानिसलाई मद्दत गर्न सकिन्छ कि भनेर थालेको यो अभियानले बिस्तारै ठूलो रूप लिँदै गयो। सहयोग गर्ने हातहरु बढ्न थाले। उनी अन्तराष्ट्रिय संस्था जोन्टा इन्टरनेशनलमा आबद्ध  भएकाले यसै संस्थामार्फत उनले खाद्यान्न वितरणको पहल थालिन्। उनले नजिकैको होलसेलमा सम्पर्क राखिन्। पसलले उनको घरमै खाद्यान्न सप्लाई दियो। घरभित्रै सपरिवार बसेर उनीहरु हरेक दिन तीन सय प्याकेट रासन तयार पार्न थाले। विश्वासयोग्य संस्थाहरुसँग सहयोग मागे। प्याक गरेर तयार गरी राख्ने अनि विश्वासिलो संस्थालाई दिने।  जोन्टा क्लबका साथीहरू यस अभियानमा उनीसँगै एकबद्ध थिए|

घरमै आएर खानकुराको प्याकेट लैजानेहरुले पठाएको भिडियो र फोटो हेरेरै उनीहरूले चित्त बुझाए। यो अभियानबाट ५ हजार भन्दा बढी मानिसले रासनको प्याकेट पाएछन्। मनमा केही सन्तोष भयो। 

हस्पिटलहरुमा पीपीइ सेट र मास्क पठाउन पनि उनले पहल गरिन्। बिभिन्न संस्थाहरुसँग मिलेर जोन्टा इन्टरनेशनलले गाउँ गाउँमा सुत्केरी प्याकेट पठाउने काम गर्यो, यसमा उनैले अग्रसरता लिइन्। रोटरी क्लबहरुसँग पनि साझेदारी गर्दै काम गरिन्। 

चुल्हो बल्ने कहाँ रासनको प्याकेट त पुग्यो तर जसको बासकै टुंगो भएन भान्छाकै टुंगो भएन, जसलाई तातो खाना आवश्यक छ, उनीहरुलाई कसरी मद्दत गर्ने त? केही संस्था र रेष्टुरेन्टसँगको सहकार्यमा फेरि उनले व्यक्तिगत पहलबाटै दैनिक १०० प्याकेट तातो खाना 'हट मिल प्याक' बाँड्ने अभियान सुरु गरिन्। म यस्तो गरिरहेको छु है भनेर बिभिन्न समूहमा लेखेपछि फेरि अरु साथीभाईहरु पनि जोडिँदै गए। केही दिनमै सहयोगबाट थप पैसा आउन थाल्यो। यसबाट तीन/चार वटा संस्थालाई सहयोगी बनाएर उनले लगातार ५ महिनासम्म दैनिक एक सय जनालाई तातो खाना खुवाइन्। 

ठ्याक्कै एक वर्षको अवधिमा उनले कहाँ कहाँ कति खर्च गरिन्, त्यसको हिसाब राख्ने पक्षमा नै छैनन् उनी। घरभित्रै समाजसेवाका लागि मासिक उठाउने गरेको बास्केट फण्डबाट कति पैसा चलाइन् पनि भन्न चाहन्नन्। दिएको पनि के हिसाब राख्नु? यति उति भनेर किन तोक्नुपर्यो? कमलकेशरी परोपकार र समाजसेवा विशुद्ध आत्मसन्तुष्टिका लागि हो भन्छिन् न कि कसैलाई देखाउन। कतै एक्लै त कतै संघसंस्थासँग मिलेर  उनी यसमा लागिरहेकै छिन्। 

***

कमलकेशरी काठमाडौंका पुराना र प्रतिष्ठित व्यापारी कुलबीर सिंह तुलाधरको कान्छी बुहारीका रूपमा ४२ वर्षअघि तुलाधर परिवारमा जोडिन आइपुगिन्। उनीहरुको ठूलो व्यापारिक बिरासत थियो। त्यसबेलाको चर्चित होटल ब्लुस्टार पनि उनकै पारिवारिक व्यवसाय। साहुकी छोरीका रूपमा न्यूरोडमा हुर्किइन् कमलकेशरी । 

न्यूरोडको मुन्चा हाउस उनकै माइतीको। जन्मघर र कर्मघर दुवै परिवार काठमाडौका पुराना व्यापारिक घराना। नपुग्दो केही भएन। न जन्मे हुर्केको परिवारमा अभाव भोग्नुपर्यो न बिहेपछि घर आएर कुनै दुख झेल्नुपर्यो। 'मलाई सानै देखि के लाग्ने भने म यति भाग्यमानी छु। तर म जस्तै सबैले यो सौभाग्य पाएका छन् होला त ! कति मानिसहरु समस्यामा हुन्छन्। उनीहरुलाई मद्दत गर्न सके कति खुशी हुन्छन् होला,' स्कुलमा एक घण्टी पढ्नुपर्ने नैतिक शिक्षाको किताबले उनीभित्र सानैदेखि सेवाभाव जगाएको उनले सुनाइन्। 

श्रीमान विनोद पारिवारिक व्यवसाय ब्लुबर्ड मल, लाजिम्पाट स्थित मेट्रो पार्क तथा हाल बनिरहेको हाउजिङ अपार्टमेन्ट प्रोजेक्ट सम्हालिरहेछन्। इन्डेक्स फर्निचरलाई उनका छोराले लिड गरिरहेका छन्। कमलकेशरी जीवनको लामो कालखण्ड पारिवारिक व्यवसायमा संलग्न रहिन्। उनले ब्लुबर्ड मल र दरबारमार्गमा सञ्चालन गरेका दुई किड्स स्टोर कोभिड महामारीको लकडाउन हुनु केही समय अघिमात्र बन्द भयो। महामारीपछिको एक वर्ष घरमै बस्दा परोपकारमा बढी नै संलग्न कमलकेशरी अब व्यापारिक दायित्वहरुबाट बिस्तारै 'अर्लि रिटायरमेन्ट' लिने सोचमा छिन्। 

हाल उनी  अन्तर्राष्ट्रिय संगठन जोन्टा इन्टरनेशनलको नेपाल च्याप्टरकी उपाध्यक्ष हुन्। जोन्टासँगको आबद्धताबाट पनि उनले बिभिन्न सामाजिक कार्यहरुको नेतृत्व गरिरहेकी छन्। जोन्टाले रानीपोखरीस्थित दरबार हाइस्कुलमा लाइब्रेरी बनाइरहेको छ जसको अगुवाई उनैले गर्दैछिन् । केही अघि मात्रै चितवन पुगेर जोन्टाकै उनी संलग्न टिमले विद्यालयका छात्राहरुलाई साइकल वितरण गरेर फर्कियो।

देशका बिभिन्न स्थानमा रहेका महिलाहरुलाई कसरी मद्दत गर्न सकिन्छ र उनीहरुलाई सशक्तिकरणको बाटोमा कसरी लैजान सकिन्छ भन्ने अभियानमा  उनी सक्रिय सहभागी छिन्। सेन्टमेरिजका भूतपूर्व विद्यार्थीहरुको संस्था आसमानमा पनि उनले एक दशक सक्रिय भूमिका निभाइन्। महासचिव, उपाध्यक्ष र अध्यक्षका रुपमा उनले आसमानलाई लामो समय लिड गरिन्।  

सेन्टमेरिज स्कुलले विपन्न बालबालिकालाई पढाउने विद्यालय मेरी वर्डमा बच्चालाई चाहिने एक वर्षभरीको सामाग्री जुटाउने काममा कमलको योगदान ठूलो छ। उनले १० वर्ष आफैंले जिम्मा लिएर त्यो अभियानको नेतृत्व गरेकी थिइन्। 

उनले आसमानको नेतृत्व गर्दा उनलाई कसैले खाली हात फर्काएन। कोसिस गर्दा नहुने केही रहेनछ। मेरी वर्डमा पढ्ने ६ सय बच्चाका लागि एक वर्षको स्पोन्सर माग्न जाँदा १३ सय जना आएको उनलाई अझै सम्झना छ। अनि उनलाई आफ्नो बोली सुन्ने रहेछन् भन्ने महसुस भयो। त्यसपछि उनले अन्य स्कुलहरुलाई पनि उसरी नै मद्दत गर्न थालिन्। उनकै सक्रियतामा कान्ति हस्पिटलमा क्यान्सर भएका बच्चाहरुको उपचारमा पनि सघाउ पुग्न थाल्यो। त्यो वार्डको पुनर्निर्माणको काम पनि भयो। उनले विकल्प भन्ने संस्थामार्फत पनि बालबालिकाको शिक्षाका लागि सहयोग गरिरहेको बताइन्।  

तुलाधर गुठीबाट पनि उनले परोपकारी कामहरुमा साथ पाइरहेकी छन्। त्यहाँबाट 'प्रोटिन डाइट फर बर्न प्यासेन्ट' अभियान पनि सहयोग सुरु भएको छ। यसमार्फत उनीहरुले कुनै कारणले पोलेर अस्पतालमा उपचारका लागि भर्ना भएकाहरुका लागि एक हजार रुपैयाँको प्रोटिन प्याकेज वितरण गर्छन्। यस्तै 'ब्रेल बुक्स फर ब्लाइन्ड' भनेर पनि नेत्रहीनहरुको पढाइका लागि सहयोग सुरु भएको छ। 

अगुवाइ गर्दै बिभिन्न परियोजनाहरु सफल बनाएकी कमलकेशरी अहिले पनि बालबालिकाको शिक्षा, स्वास्थ्य र महिलाहरुको सशक्तिकरणको क्षेत्रमा काम गरिरहेकी छिन्। 

'व्यापार र सेवामा ब्यालेन्स गर्दै लैजाने हो। हाम्रो परिवारभित्रै एउटा बास्केट फण्ड छ। यसमा हरेक महिना चारै जनाले पैसा राख्छौं। त्यसबाहेक अन्य स्रोत पनि छ। सेवा गर्न प्रशस्तै पुग्छ। लाखौंमा खर्चिनुपर्छ नत्र त केही रिजल्ट आउन्न। ठ्याक्कै रकमै त नभनौं तर हामी दिल खुला गरेरै सहयोग गर्छौं,' उनले भनिन्।  

***

सेन्टमेरिज स्कुलबाट एसएलसी गर्दा ताका उनको विनोद तुलाधरसँग मगनी भइसकेको थियो। विनोद त्यसबेला दिल्लीमा पढ्दै थिए। विनोदकी बहिनी कमलकै क्लासमेट थिइन। पारिवारिक चिनजानका कारण परिवारले नै जोडिदिएको हो उनको र विनोदको नाता। बिहे भने क्याम्ब्रिजमा ११ सकेपछि मात्र भयो। बिहेपछि उनले साइकोलोजी र म्युजिक लिएर पीके क्याम्पस पढ्न थालिन्। सेन्टमेरिज बोर्डिङमा हुँदा अतिरिक्त क्रियाकलापमा धेरै भाग लिन्थिन् कमल। स्काउट, नाचगान, नाटक हरेक विधामा सहभागी हुने। पढाइमा भन्दा उनलाई अन्य विधामै रमाइलो लाग्थ्यो ।

उनी भन्छिन् -'म पटक्कै एम्बिसस थिइनँ। तर बिहेपछि श्रीमानलाई चाहिँ सधैं श्रीमती पनि केही गरोस् भन्ने चाहना भयो। उहाँले नै घचघच्याउनुहुन्थ्यो। त्यसमाथि उदार परिवारको साथ मिल्यो।' 

चार दशकअघिको परम्परागत नेवारी समाजमा बुहारीहरु काममा निस्किने चलन थिएन। तर उनका ससुरा कर्णवीर उदार स्वभावका। बुहारीहरुले पनि बाहिर निस्केर काम गर्नुपर्छ बलियो बनाउनुपर्छ भन्ने। त्यसैले कमलकेशरीको लागि बाहिर निस्कन र पारिवारिक व्यवसायमा आउन कुनै असहज भएन। उनले केही समय बैंकरका रुपमा पनि काम गरिन्। नेपाल अरब बैंक लिमिटेड, जुन पछि नबिल बैंक भयो, भर्खरै खुलेको थियो। त्यसका लागि छानिएकी दोस्रो स्टाफ थिइन् कमलकेशरी।

कान्तिपथमा खुलेको शाखामा हेड टेलरका रुपमा कमलकेशरीले काम सुरु गरिन्। सुरुमा ६ महिना तालिम भयो । तर त्यसै बीचमा छोरा पनि जन्मियो। कमलकेशरीले ६ महिना काम गरेर बैंक छोड्ने निर्णय गरिन्। 'अहिले सम्झिँदा बच्चा हुर्काउने क्रममा कामै त छोड्नु नपर्ने रहेछ कि जस्तो पनि लाग्छ। म बढी बच्चामा कन्सियस भएँ। बच्चालाई बढी समय दिनुपर्छ भन्ने लागेकोले  बैंकिङ करियर लामो भएन मेरो,' उनी भन्छिन्। 

योजना बनाएर कमलकेशरीको जीवनमा केही भएन। न बैंकमा छिर्नु उनको योजना थियो न त्यो जागिर छोड्नु ! तर बच्चा जन्मिएपछि उनले काम छोडेर बच्चाको हुर्काईमा समय बिताउने निर्णय गरिन्। उनले लामो समय पारिवारिक ब्यवसायमा सघाइन्। उनी श्रीमानको पढाइका क्रममा सँगै अष्ट्रियाको साल्सबर्ग पुगिन्। त्यहाँका ठूला मलहरु देखेरै उनीहरुले नेपालमा मल कन्सेप्ट भित्र्याएका रहेछन्।  

उनले ब्लुबर्ड मलमै बच्चाको लागि डेडिकेटेड स्टोर खोलिन्। उनले छोरा हुर्काउने समयताका काठमाडौंमा बच्चाहरुकै लागि सामान पाउने पसल कमै थिए। छोरा निखिल २ वर्षको हुँदा ब्लुबर्ड मलमै उनले 'लिटल डार्लिङ्स्' भन्ने बच्चाको स्टोर खोलेकी थिइन्। पछि उनले दरबारमार्गमा 'कुल किड्ज' भन्ने अर्को स्टोर पनि सञ्चालन गरिन। पोहोर कोभिड संक्रमणको महामारी सुरु हुनुभन्दा केही अघि मात्रै हो उनले बच्चाहरुको सामान पाउने ती दुई स्टोर बन्द गरेको। 

अहिले पनि योजना बनाएरै उनी व्यवसायबाट समाजसेवातर्फ ढल्किएकी होइनन्। जहाँ जहाँ जे पर्दै गयो त्यही संलग्न भएर काम गर्दा गर्दै जे कामले सन्तुष्टि दियो त्यसैले उनको मन जित्यो। उनी त स्कुलमा साथीसँग खेल्दा पनि हामी ठूलो भएपछि वृद्धाश्रम खोल्नुपर्छ, अनाथाश्रम खोल्नुपर्छ, अरुलाई सघाउ पुर्याउने काम गर्नुपर्छ है भन्थिन् रे।  कन्भेन्ट स्कुलमा पढेकी उनका निम्ति धर्मको परिभाषा संकुचित छैन। बर्माबाट ल्याइएको बगैंचाको ठूलो बुद्ध मूर्ति अघि उनले भनिन्- 'धर्मको कुनै किसिम छैन। मानिसलाई सहयोग गर्नु नै मेरो धर्म हो। किनभने जुनसुकै धर्मले पनि मानवता र सहयोग नै सिकाउँछ।' 

समाजमा निकै राम्रो प्रभाव छोडेका थिए कमलकेशरीका ससुराले। छाउनीस्थित द्विप र क्रियाघरको पुनर्निर्माणमा ससुराले खेलेको भूमिकाबाट कमलकेशरी असाध्यै प्रभावित छिन्। धेरैले कुरा गर्छन् तिमीले काम गरेर देखाउनु भन्थे रे उनलाई ससुराबुबाले।

'व्यापारमा बेग्लै एक्साइटमेन्ट छ। तर समाजसेवामा जस्तो आनन्द पाइन्छ त्यो अरु कुनै कुरामा पाइन्न। अनि त्यो त्यो चाहिँ गरेपछि मात्र थाहा हुन्छ। महसुस गर्नुपर्छ। यसै भन्दा त कसले बुझ्छ र?,' कमलकेशरी यो विशुद्ध मनलाई खुशी बनाउने काम हो भन्छिन्।   

***

पाँच वर्षअघि कमलले नसोचेको अप्ठ्यारो व्यहोरिन्। उनको जीवनमा असाध्यै ठूलो खुशी र पीडा एकैसाथ आयो। उनको एक्ला सन्तान निखिलको बिहे तय भएको थियो। जापानी मुलकी अमेरिकी बुहारी किमिको भित्रिँदै थिइन। विदेशबाट आउने पाहुनाहरुको टिकट तय भयो। बिहेको मिति टुंगो लाग्यो। छोराको बिहेमा यसो गर्छु, यस्तो लगाउँछु, यस्ता सामान किन्छु, के के मात्रै सोचेकी थिइनन् उनले।

तर अचानक उनको स्वास्थ्यमा समस्या देखियो। शंका थियो, परिवारले थप रिस्क लिन चाहेन। उनलाई तत्काल उपचारका लागि दिल्ली पुर्याइयो। आखिर डर जे थियो नतिजा उही निस्कियो 'पाठेघरमा क्यान्सर'। इमर्जेन्सी अप्रेसन भयो। त्यसबेला शरीर दिल्ली मन नेपालमा भयो। शरीरको दुखाई भन्दा उनलाई घरमा थालिएको छोराको बिहेको तयारीको चिन्ता बढी हुन्थ्यो। 

'क्यान्सर जित्नका लागि मनलाई रोगमा भन्दा अरु कुरामा भुलाउनुपर्ने रहेछ। डाक्टरले नै तिमी कति ज्ञानी प्यासेन्ट रहिछौ भन्थे मलाई। अनि ज्ञानी हुन परेन त मलाई त्यसबेला जसरी पनि निको भएर नेपाल फर्कनैपर्ने थियो।'- त्यसबेलाको अनुभव बाँड्दै गर्दा उनी बेस्सरी हाँसिन् – 'कतिलाई त मेरो रोगको बारेमा अहिलेपनि थाहा छैन। छोराको बिहे भएर होला यति गमक्क परेर बसेकी पनि कतिले भनेछन्।'

त्यसबेला उनले कसैलाई उत्तर दिइनन्। परिवारका सबैले बुझेका थिए, भित्र समस्या अर्कै थियो। उनी अप्रेसन गरेको १५ दिनमै घर फर्केकी थिइन् छोराको बिहेमा केही कमी नरहोस् भन्ने चाहना थियो। भयो पनि त्यस्तै। 'तिमी चल्ने होइन थपक्क बस्ने' परिवारका सबैले मायाले बेर्थे। आफन्त र साथीभाईको स्नेह उत्तिकै। त्यही माया र साथले कमलले सबै बाजी जितिन्। छोराको बिहे चाहेजस्तै भयो। क्यान्सरलाई पनि उनले पराजित गरिन्। 

८ महिनाकी नातिनी मियातिर हेर्दै उनी भन्छिन्- 'कसको जीवनमा कतिबेला के आइपर्छ कसैले भन्न सक्दैन। व्यापार गर्नुपर्छ पैसा कमाउनुपर्छ तर त्यो मात्रै उद्देश्य बनाउनु हुन्न भन्ने मलाई सधैं नै लाग्थ्यो। अब त्यो बिचार झन बलियो हुँदै गएको छ। बाँचुन्जेल अरुको लागि सहयोग गर्न सकुँ भन्ने लाग्छ।' 

उनलाई अब व्यापारको नाफाघाटा भन्दा अरुलाई दिएर  खुशी हुन  मन छ। ६ दशक बित्नै लाग्दा कमलकेशरी सामु कहिल्यै कसैले नसोधेको प्रश्न तेर्सियो, जीवन चलाउन कति पैसा चाहिने रहेछ त ? व्यापारी परिवारकी छोरी र बुहारी कमलले केही नसोचीकनै फ्याट्ट उत्तर दिइन् -'सारै थोरै। हातका ‍औंला पोको पार्दै उनले सुनाइन् –'आफूलाई त इत्ति भए नै पुग्छ। बाँकीबाट चैं अरुका लागि थोरै भए नि सघाउ पुर्याउन सकौं भन्ने लाग्छ।' 

उनले अबको समय परिवारका अरु सदस्यले व्यापार व्यवसाय बिस्तार गर्ने र आफूले परोपकारी काम अघि बढाउने सल्लाह गरिसकेको बताइन्। श्रीमान विनोदले पनि यसमा उनलाई खुलेर साथ दिएका छन्। कोभिड महामारी अघि बन्द गरेका दुई वटा किड्स स्टोर फेरि नखोल्ने गरी बन्द भएको छ । यतिबेला समाजसेवा बाहेक जीवनप्रति उनको महत्वाकांक्षा असाध्यै थोरै छ।

अरुका निम्ति सहयोग गर्दा हल्ला गरेर होइन चुपचाप गर्नुपर्छ। समय आएपछि सबैले आ-आफ्नो चिनारी पाउँछन् भन्ने लाग्छ उनलाई। अनि उनको चिनारी के हुनसक्छ? कमल भन्छिन्- मलाई त 'एउटा असल मान्छे' भनेर मात्र चिनिदिए पुग्छ। 

​​​​​​


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell