धनगढीमा ई-रिक्सा चढ्दा क्यूआर कोडबाटै पैसा तिर्न मिल्ने, मेगा बैंकले क्यूआर सुविधा दियो

बिजमाण्डू
२०७७ चैत्र २९ गते १५:२३ | Apr 11, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। मेगा बैैंक नेपाल लिमिटेडले धनगढीका विद्युतीय रिक्सा चालकहरुलाई क्यूआर कोड सेवा उपलब्ध गराएको छ।

विद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता अनुसार  बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरुले भाडा भुक्तानी गर्न मिल्ने प्रबन्ध मिलाएको हो।

नेपाल राष्ट्र बैंक भुक्तानी विभागका कार्यकारी निर्देशक भुवन कँडेलले मेगा बैैंकको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक कार्यालयमा एक कार्यक्रमका बीच क्यूआर कोड हस्तान्तरण गरेको बैंकले जनाएको छ।

यो व्यवस्थासँगै अब धनगढीका रिक्सामा यात्रुहरुले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसनमार्फत भाडा रकम सजिलै क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन्।

नगद कारोबारलाई बिस्तारै विस्थापन गरी डिजिटल कारोबार र नगदरहित कारोबारलाई बढावा दिने नेपाल राष्ट्र बैंकको नीति बमोजिम मेगा बैंकले क्यूआर कोड सेवाको विस्तारलाई तीव्रता दिइरहेको जनाएको छ।

क्यूआर कोडबाट भुक्तानी गर्दा छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने, कारोबार गर्दा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने भएकाले व्यवसायी तथा उपभोक्ताहरुको आकर्षण दिन प्रतिदिन बढ्दै गइरहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसका साथै स्वरोजगारमुलक काम गरिरहेका न्यून आय भएका रिक्सा चालकहरुको रकम सिधै बैंक खातामा बचत हुनेमा पनि बैंक विश्वस्त छ।

बैंकले टीक बैंकिङ, भिडियो अकाउन्ट ओपनिङ, वीच्याट–पे, च्याट बड जस्ता प्रविधिमा आधारित सेवालाई संचालनमा ल्याएको जनाएको छ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक, सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका प्रमुख निर्देशक सुशील ज्ञवाली, मेगा बैैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझा, बजार विभाग प्रमुख वरुण शाह, मेगा बैैंक नेपाल लिमिटेड धनगढी शाखाका शाखा प्रबन्धक होमेन्द्र उपाध्यायको उपस्थिति थियो।