भीम अस्पतालमा लीलाराम न्यौपाने आकस्मिक कक्ष संचालनमा, ३ करोड २५ लाख रुपैयाँ लागत

बिजमाण्डू
२०७७ चैत्र २९ गते १४:०० | Apr 11, 2021
भीम अस्पतालमा लीलाराम न्यौपाने आकस्मिक कक्ष संचालनमा, ३ करोड २५ लाख रुपैयाँ लागत


Tata
GBIME
Nepal Life

बुटवल। रुपन्देहीको सिद्धार्थनगरस्थित भीम अस्पताल परिसरमा निर्मित लीलाराम न्यौपाने आकस्मिक कक्षको केही दिन अघि संचालनमा आएको छ।

लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानद्वारा निर्मित आकस्मिक कक्षको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरलले उद्घाटन गरे।समाजसेवी लीलाराम न्यौपानेको ९२औँ जन्मजयन्तीका अवसरमा आयोजित सो समारोहमा मुख्यमन्त्री पोखरेलले भवनभित्र स्थापित लीलाराम न्यौपानेको सालिक पनि अनावरण गरेका थिए।

प्रतिष्ठानद्वारा तीन करोड पच्चीस लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न उक्त भवनमा सम्पूर्ण उपकरण जडानसहितको पच्चीस शय्या रहेको छ। कार्यक्रममा मुख्यमन्त्री पोखरेलले समाजसेवी लीलाराम न्यौपाने परिवारबाट समाज लाभान्वित हुने काम गर्नु प्रेरणाको विषय भएको बताए।

प्रतिष्ठानका अध्यक्ष शोभाकर (हरि) न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा प्रतिनिधि सभाका सदस्य एवं नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, पूर्वमन्त्री दीपक बोहोरा, लुम्बिनी प्रदेशसभाका सदस्यद्वय डा. कृष्ण न्यौपाने र सन्तोष पाण्डे, रूपन्देही जिल्ला समन्वय समितिका प्रमुख तथा भीम अस्पताल विकास समितिका अध्यक्ष एकराज विक, सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारी, भीम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ता र यादव भट्टराईलगायत सहभागी थिए। सहभागीहरुले समाजसेवी लीलाराम न्यौपानेको योगदानको चर्चा गरेका थिए।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष शोभाकर (हरि) न्यौपानेले भीम अस्पताल विकास समितिका अध्यक्ष एकराज विकलाई नवनिर्मित आकस्मिक कक्ष (भवन) को साँचो हस्तान्तरण गरे।

सो अवसरमा सिद्धार्थनगर नगरपालिकाका तर्फबाट प्रमुख हरिप्रसाद अधिकारीद्वारा समाजसेवी लीलाराम न्यौपानेकी धर्मपत्नी कुन्तीदेवी न्यौपाने, छोरा शोभाकर (हरि), दुर्गा, विष्णु र शशि न्यौपानेलाई सम्मान गरिएको थियो।

प्रतिष्ठानले समाजसेवा, शिक्षा, साहित्य, संस्कृति, धर्म, खेलकुदलगायतका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने संस्था र प्रतिभालाई सम्मान, पुरस्कार र सहयोग प्रदान गर्दै आएको छ।