गुगलका ५ सयभन्दा कर्मचारीले कार्यालयमा हुने हिंसाविरुद्ध सीइओलाई लेखे खुलापत्र

बिजमाण्डू
२०७७ चैत्र २९ गते १४:३३ | Apr 11, 2021
गुगलका ५ सयभन्दा कर्मचारीले कार्यालयमा हुने हिंसाविरुद्ध सीइओलाई लेखे खुलापत्र


Tata
GBIME
Nepal Life

पाँच सयभन्दा बढी कर्मचारीहरुले गुगलका सीइओ सुन्दर पिचाइलाई खुलापत्र लेख्दै उत्पीडकहरुलाई गरिँदै आएको संरक्षण रोक्न संयुक्त माग गरेका छन्।

सार्वजनिक भएको उक्त पत्रमा कम्पनीमा विभिन्न प्रकारमा उत्पीडनमा परेका कर्मचारीहरुलाई काम गर्ने सुरक्षित वातावरण निर्माणमा ध्यान पुर्‍याउन पिचाइलाई आग्रह गरिएको छ। 

गुगलका पूर्व इन्जिनियर इमी नेइटफेल्डले गुगलमा उत्पीडनका घटनाहरुलाई कसरी सम्बोधन गरिन्छ भन्ने विषय बारे केही दिन अघि न्यूयोर्क टाइम्समा विचार लेखेका थिए। विचार सार्वजनिक भएको केही दिनमै गुगलका कर्मचारीहरुले सीइओलाई खुला पत्र लेखेका हुन्।      

पत्रमा पनि ती कर्मचारीहरुले नेइटफेल्डले भोगेको घटनालाई समेटेका छन्। नेइटफेल्डले 'गुगलमा काम गरेपछि, अब भने जागिरलाई कहिल्यै माया गर्न सक्दिन' भन्ने भावमा विचार लेखेकी थिइन। उनलाई जसले पीडित बनायो उसैको छेउमा बसेर काम गर्ने गरी गुगलले सिटिङ एरेन्जमेन्ट मिलाएको थियो। 

पत्रमा नेइटफेल्ड एक मात्रै पीडित नभएको भन्दै गुगलले पीडितलाई भन्दा उत्पीडकहरुलाई नै संरक्षण गर्दै आएको भन्दै कर्मचारीहरुले विरोध जनाएका छन्। पीडितलाई कि त कम्पनीमै राखिन्छ कि त ठूलो रकम दिएर कम्पनीबाट बिदा गर्ने चलन रहेको आरोप कर्मचारीहरुले लगाउने गरेका छन्।  

‍'जसले आफू पीडित भइरहेको छु भनेर निवेदन दिन्छ उसैलाई त्यसको सिकार बनाइन्छ,' खुला पत्रमा लेखिएको छ, 'एन्डी रुबिन नाम गरेका व्यक्ति, जो गुगलमा एन्ड्रोइड मोबाइल सफ्टवेयर निर्माता थिए उनले कम्पनीकी एक महिला कर्मचारीलाई मौखिक यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो, उनलाई कम्पनीले नौ करोड अमेरिकी डलरको प्याकेज दिएर विदा गर्‍यो।' 

यस्तै, अमित सिंघल गुगलका पूर्व सर्च एक्जिक्यूटिभ हुन्। उनलाई पनि यौन हिंसा गरेको भन्दै गुगलले अनुसन्धान गर्ने निर्णय लियो। तर, उनलाई साढे तीन करोड अमेरिकी डलरको प्याकेज दिएर गुगलले राजीनामा दिन दबाब दिएको पत्रमा उल्लेख गरिएको छ।    

सन् २०१८ मा गुगलका २० हजारभन्दा कर्मचारीले कम्पनीमा हुने यौन हिंसाविरुद्ध र पीडकलाई संरक्षण गर्ने कम्पनीको नीतिको विरोध गर्दै प्रदर्शन गरेका थिए। उक्त आन्दोलनपछि पनि कम्पनीले आफूलाई नसुधारेको भन्दै कर्मचारीहरु पुन: विरोधमा उत्रेका छन्। कर्मचारीहरुको सुरक्षालाई कम्पनीले प्राथमिकतामा राख्दै काम गर्ने वातावरण निर्माण गर्न उनीहरुले माग गर्दै आएका छन्। 

गुगलले पत्रको जवाफमा विज्ञप्ति जारी गर्दै आफूहरुले कर्मचारीको सुरक्षामा व्यापक सुधार गरेको जनाएको छ। 'हामीले कर्मचारीहरुले गर्ने गुनासो, निवेदनलगायतलाई सम्बोधन गर्न समग्र प्रक्रियामै परिवर्तन ल्याएका छौं। उजुरी दर्ता गर्ने कर्मचारीहरुलाई लक्षित गर्दै नयाँ प्रकारका केयर कार्यक्रम सञ्चालन गरेका छौं,' गुगलले आफ्नो विज्ञप्तिमा लेखेको छ। (एजेन्सीको सहयोगमा)