सार्वजनिक भयो एमजी साइबरस्टरको आधिकारिक तस्बिर, गाडी भने सांघाइ अटो शोमा सार्वजनिक हुने

बिजमाण्डू
२०७७ चैत्र २९ गते १३:३१ | Apr 11, 2021
सार्वजनिक भयो एमजी साइबरस्टरको आधिकारिक तस्बिर, गाडी भने सांघाइ अटो शोमा सार्वजनिक हुने

Tata
GBIME
Nepal Life

गाडी उत्पादक ब्रिटिस कम्पनी एमजीले साइबरस्टर कन्सेप्ट कारको आधिकारिक तस्बिर सार्वजनिक गरेको छ। दुई सिटे विद्युतीय गाडी भने आउँदो महिना चीनमा हुने सांघाइ अटो एक्सपोमा सार्वजनिक गर्ने कम्पनीले जनाएको छ। 

लन्डनस्थित एमजी एडभान्स्ड डिजाइन सेन्टरले तयार गरेको यो गाडीमा ढोका दुई वटा मात्रै छ। हाइ टेक्नोलोजी विशेषता समावेश गरिएको यो गाडीको इन्टरियाक्टिभ गेमिङ ककपीटसहित जी कनेक्टिभीटी गर्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ। 

विद्युतीय गाडी (इभी) सिरिजको यो गाडीमा एकपटकको चार्जमा आठ सय किलोमिटर माइलेज क्षमता रहेको कम्पनीले जनाएको छ। यसको गति प्रति घण्टा एक सय किलोमिटरको क्षमता छ। थप आकर्षक आवरणका लागि गाडीमा स्लिम ग्रिल डिजाइनसहितको 'म्याजिक  हेडलाइट' जडान गरिएको कम्पनीले जनाएको छ।

गाडी स्विच अन गरे लगत्तै यो हेडलाइट स्वचालित बल्दा थप आकर्षक देखिने कम्पनीले दाबी गरेको छ। यसैगरी गाडीको टेल ल्याम्पमा एलइडी जडान गरिएको छ। 'डिजिटल फाइबर' अवधारणामा डिजाइन गरिएको गाडी भित्र चालक र यात्रुका लागि भिन्नाभिन्नै ककपिट समावेश गरिएको छ।

यो विद्युतीय गाडीमा हालसम्मकै सुपरकारमध्येमै पहिलो पटक गेमिङ ककपीट राखिएको कम्पनीको दाबी छ। यो इभीको इन्टेरियरले डिजिटल इन्टेलिजेन्सको भर्चुअल र रियालिटी प्रतिविम्बित गर्नेछ। डिजिटल फाइबर अवधारणामा तयार गर्न लागिएको गाडीको ककपिटमा ठूलो एलइडी राखेको जनाइएको छ। 

'कम्पनीले अत्याधुनिक प्रविधि प्रयोगमार्फत यो मोडल ल्याउन लागेको छ। एमजीको भविष्यका लागि साइबरस्टर एउटा मजबुत विवरण हो,'  एसएआइसी डिजाइन एडभान्स्ड लण्डनका निर्देशक कार्ल गोथामले भनेका छन्।