कुलिङका कारण एभरेष्ट बैंक जान सुदेश खालिङ साढे पाँच महिना रोकिए, अहिले कसले हेर्छ?

बिजमाण्डू
२०७७ चैत्र २९ गते ११:०२ | Apr 11, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति पाएका सुदेश खालिङले साढे पाँच महिनापछि मात्र एभरेष्ट बैंकको नेतृत्व गर्न पाउने भएका छन्।

राष्ट्र बैंकको 'कुलिङ पिरियड' सम्बन्धी व्यवस्थाका कारण कार्यभार सम्हाल्ने समय साढे पाँच महिना सरेको हो। राष्ट्र बैंकले प्रमुख कार्यकारी, सञ्चालकहरुलाई एक बैंकबाट अर्कोमा जान ६ महिनाको कुलिङ पिरियडको व्यवस्था गरेको छ।

उनी सिटिजन्स बैंकको सञ्चालक थिए। उनले तीन साताअघि सिटिजन्स छाडिसकेका छन्। त्यही कारण उनलाई एभरेष्टमा आबद्ध हुन समय लाग्ने भएको हो।

'एभरेष्ट बैंकका तर्फबाट कुलिङमा केही हेर्न सकिन्छ कि भनेर आउनु भएको थियो। ६ महिनाको स्पष्ट व्यवस्था भएका कारण हामीले केही गर्न सकेनौं,' राष्ट्र बैंक नियमन विभागका एक अधिकारीले भने, 'एउटा बैंक छाडेर अर्को बैंक जान ६ महिना पर्खनै पर्ने हुन्छ।'

एभरेष्ट बैंकले स्थापनाको २५ वर्षसम्म पहिलो पटक नेपालीलाई प्रमुख कार्यकारी अधिकृत बनाएको हो। चार वर्षका लागि नियुक्ति भएका गजेन्द्रकुमार नेगी १७ महिनामै फिर्ता पठाइएका छन्। उनले गत शुक्रबारसम्म बैंकको नेतृत्व गरेका थिए। उनले माउ कम्पनी पञ्जाब नेशनल बैंक जोइन गरिसकेका छन्। उनी त्यहाँ नायव महाप्रबन्धक छन्।

एभरेष्टले आफ्नो संयुक्त लगानी भएको भारतीय पञ्जाब नेशनल बैंकबाट प्रमुख कार्यकारी अधिकृत ल्याउने गरेको थियो। एभरेष्टमा पञ्जाबको २० प्रतिशत लगानी छ।

नेगी फिर्ता गइसकेको र सुदेशलाई अरु साढे पाँच महिना लाग्ने भएका कारण तत्काललाई कामु प्रमुख कार्यकारीको जिम्मेवारी दोस्रो वरीयताका डा. सन्धिर कुमारले गर्ने छन्। उनी अहिले नायब महाप्रबन्धक छन्। कामु जिम्मेवारी दिने निर्णय भने भइसकेको छैन।

खालिङ सिटिजन्सको सञ्चालक हुनुअघि लक्ष्मी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत थिए। लक्ष्मी बैंकको मुख्य जोखिम अधिकृतको जिम्मेवारीसहित कार्यकारी भाइस प्रसिडेन्डबाट उनी प्रमुख कार्यकारी बनेका थिए। चार वर्षे कार्यकाल पूरा गरी उनी बाहिरिएका थिए।

लक्ष्मी बैंक एभरेष्टसँग मर्जर हुने चर्चा चलिरहँदा उनले लिड गरिरहेका थिए। मर्जरका लागि सहमति हुने करिब करिब अन्तिम चरणमा पुगे पनि पछि कुरा अगाडि बढेको थिएन। 

खालिङ लक्ष्मी बैंक आउनुअघि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा प्रमुख सूचना अधिकृतका रूपमा कार्यरत थिए। करिब ३३ वर्ष सक्रिय बैंकिङ अनुभव भएका खालिङ २०६८ साउनदेखि लक्ष्मी बैंक छिरेका थिए। उनीसँग सञ्चालन तथा बैंकिङ जोखिममा लामो अनुभव छ।